२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाले खोस्यो दृष्टिविहीनको रोजीरोटी

भन्छन्, ‘जुन सीप थियो त्यही गुम्यो, अब के गर्ने टुंगो छैन।’

अर्घाखाँची बाँगीका किसन आचार्य कीर्तिपुरमा रहेको एक अगरबत्ती उद्योगमा काम गर्थे। दृष्टिविहीन आचार्यले गाउँमै किराना पसल गरेका थिए। पसल राम्ररी नचलेपछि अगरबत्तीको काम गर्न पाल्पाको तानसेन पुगे।  

तानसेनमा अगरबत्ती व्यापारको केही सीप सिकेका उनी बढी आम्दानी खोज्दै काठमाडौं आए। काठमाडौंमा घुम्ती व्यापार गरेर दिनमा पाँच–सात सय कमाउन सफल उनी कोरोनाको कारण बिक्री बन्द भएपछि एक महिनासम्म कोठामै थुनिएर बसे। ‘लकडाउन खुल्ने आसमा बसियो तर खुल्ने लक्षण नदेखिएपछि घर फर्किएँ। अलिअलि कमाएको सकियो, अब के गर्ने भन्ने अन्योलमा छु,’ उनी भन्छन्, ‘लकडाउन खुकुलो भएको भन्छन्, काठमाडौं फर्कुं भनेको साथीहरु काम चलेको छैन भन्छन्। कसरी फर्कनू !’

उनीसँगै काम गर्ने चितवनका ऋषि काफ्ले लकडाउनभन्दा एक महिना अगाडि काठमाडौं आएर काम सिक्दै थिए। ‘घरमा बस्दा के काम गर्ने भनेर आइडिया थिएन, साथीले अगरबत्ती बनाउने काम सिक्न सुझाएकोले सिक्दै थिएँ,’ काफ्ले भन्छन्, ‘काम सजिलो पनि थियो। केही गर्न सकिन्छ कि भन्ने पनि लागेको थियो। तर लकडाउनले गर्दा अगाडि बढाउन पाइन।’

दृष्टिविहीनलाई जीविकोपार्जनको बलियो स्रोत बनेको अगरबत्ती बनाएर बिक्री गर्ने व्यवसाय अहिले ठप्प छ। व्यवसाय त अरुको पनि ठप्प छ तर विकल्प नै नभएका दृष्टिविहीनको व्यवसाय रोकिँदा कसरी गुजारा चलाउने भन्ने चिन्ता सुरु भएको छ।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा अरु विकल्प नभएपछि अधिकांश दृष्टिविहीनले मैनबत्ती, अगरबत्ती बनाउने र बिक्री गर्ने कामलाई व्यवसायको रुपमा सञ्चालन गरेको र अहिले माग र बिक्री बन्द हुँदा उनीहरुको आम्दानी रोकिएको बताउँछन्। शर्मा भन्छन्, ‘धेरैले आफू र परिवार चल्ने माध्यम बनाएका थिए। परिवारका आश्रित केही त चलेको होलान् तर धेरैजसोको अब भोकै पर्ने अवस्था आउन थाल्यो।’ बाह्रैमास व्यापार गर्न सजिलो भएको कारण धेरैले मैनबत्ती बिक्रीलाई व्यवसायको रुपमा अँगालेका थिए।  

महासंघले गरेको एक सर्भेक्षणले अपांगता भएका ४० प्रतिशतले आम्दानीको स्रोत गुमाएको देखाएको छ। थप २० प्रतिशतको आम्दानीको स्रोत जोखिममा छ। जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष छन्। महासंघका कार्यक्रम संयोजक बिमल पौडेल यो तथ्यांक लकडाउन लगत्तैको भएकाले अहिले संख्या बढ्न सक्ने बताउँछन्। उनी भन्छन्, ‘लकडाउन लम्बिएपछि केही सम्भावना भएका स्रोत पनि गुम्दै गएका छन्। अब के गर्ने भन्नेमा पनि अन्योल कायम छ।’

त्यसमा पनि सक्दो व्यवसाय सञ्चालन गरिरहेका दृष्टिविहीनहरु शतप्रतिशत नै आम्दानीको स्रोतभन्दा बाहिर छन्। महासंघका अध्यक्ष महासंघले चाहँदैमा ३० लाख अपांगता भएकाको समस्या समाधान गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘हामीले स्थानीय तहसम्मै अपांगता भएका व्यक्तिलाई राहतमा प्राथमिकता दिन भनेका छौं। केही ठाउँमा सहयोग भएको पनि छ। कतै साथीहरु अभाव मै बाँचिरहेका छन्।’  

नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बु अधिकांश दृष्टिविहीनले कोभिडका कारण काम गुमाएर बस्नुपरेको बताउँछन्। ‘सरकारको तथ्यांक अनुसार मुलकभर ९५ हजारको संख्यामा दृष्टिविहीन छन्। त्यसमा पाँच सय ५० जना मात्र सरकारी र गैरसरकारी निकायमा जागिरे छन्,’ लिम्बु भन्छन्, ‘बाँकी कि त परिवारमा आश्रित हुन् कि त स–साना व्यवसाय सञ्चालन गरेर बसेका थिए।’  

उनले लकडाउनयता एक सय ५० अगरबत्ती व्यवसाय र त्यसको बिक्रीबाट रोजगारी पाएकाहरुले आम्दानीको स्रोत गुमाएको बताए। उनले उपत्यकामा मात्र सडक सांस्कृतिक कार्यक्रम गर्दै आएका दुई सय र मसाज सेन्टरमा काम गर्ने ४० जना दृष्टिविहीन बेरोजगार बनेको बताए।

लिम्बु दृष्टिविहीनहरु पुरानै व्यवसायमा फर्कने टुंगो नभएको र नयाँ व्यवसायको सम्भावना बारे के गर्ने भन्नेमा पनि अन्योल रहेको बताउँछन्। ‘कोरोना कति समयसम्म रहन्छ, थाहा छैन। केहीलाई हामीले १० हजारका दरले बीउ पुँजी दिएका छौं,’ उनी भन्छन्, ‘वैकल्पिक व्यवसायको रुपमा पशुपालन गर्छौं भन्ने धेरै छन्, अब विकल्प के हुन्छ खोजी त गर्नैपर्छ।’

अपांगताको क्षेत्रमा काम गर्दै आएकी कृष्णप्यारी नकर्मी एकातिर काममा जान नपाउने र अर्कोतिर कमाएको खर्च समेत रित्तिँदा मानसिक तनावमा देखिएको बताउँछिन्। ‘यसले उनीहरुमा मानसिक समस्या देखिन सुरु गरेको छ। सामान्य अवस्था भएन। केही काम गरेर समय व्यतित गर्नु पनि छैन,’ नकर्मी भन्छिन्, ‘आम्दानीको स्रोत बन्द हुँदा घरपरिवारले गर्ने व्यवहारमा पनि परिवर्तन आएको छ।’ उनी यो अवस्थामा अपांगता क्षेत्रमा काम गर्ने संघ–संस्था तथा सामाजिक संघ–संस्थाले केही सामान्य राहतको व्यवस्था गरे पनि सरकारको तर्फबाट सहयोग हुन नसकेको गुनासो गर्छिन्।

यसरी सुरु भएको थियो व्यवसाय  
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका गोपाल भुसाल पेसाले शिक्षक थिए। २०५२ सालमा एकाएक आँखाको दृष्टि गुमाए। केही समय आफैंमा हीनताबोध बोकेर समय बिताएको बताउने उनले केही वर्षपछि दृष्टि गुमाएकाहरुले कसरी जीविकोपार्जन कसरी गर्न सक्छन् भनेर उपाय खोज्न थाले। ‘सबै दष्टिविहीन शिक्षाको पहुँचमा नभएकोले सजिलै राम्रो जागिर पाउने सम्भावना पनि थिएन,’ भुसाल भन्छन्, ‘मैनबत्ती, अगरबत्ती र मुढा बनाउने काम उपयुक्त लाग्यो।’  

उनले २०५८ सालमा आफैंले सीप सिके। २०५९ मा १० जनालाई तालिम दिएर सीप हस्तान्तरण अभियान अगाडि बढाए। त्यसपछि देशका विभिन्न ठाउँमा पुगेर सीप सिकाए। ‘म आफैंले देशभरका १५ सयजनालाई सीप सिकाएँ। मबाट सीप सिकेकाले पनि अरु धेरैलाई सिकाएँ,’ उनी भन्छन्, ‘मैन बत्तीले राम्रो बजार पाएको थियो, लोडसेडिङ हटेसँगै त्यसको व्यापार छैन। तर मुढा र अगरबत्तीबाट राम्रो आम्दानी गरिरहेका छन्।’ अहिले धेरैले यसलाई आम्दानीको स्रोत बनाएको पाउँदा भुसाललाई खुसी लाग्छ। उनी भन्छन्, ‘कुनै समय आफ्नो जीवनलाई नै बोझको रुपमा लिनेहरु अहिले व्यवस्थित गर्न सफल भएका छन्।’  

अहिले केहीले दर्ता गरेरै अगरबत्ती उत्पादन गरिरहेका छन्। धेरैले आफ्नै तरिकाले घरेलु व्यवसायको रुपमा अघि बढाएका छन्। ‘केही भाइबहिनीले यही व्यवसाय गरेर क्याम्पस पढिरहका छन्। कसैले यसैबाट घरसम्पत्ति पनि जोडेका छन्,’ भुसाल भन्छन्, ‘अहिले गाउँमै सरकार आएको छ। दृष्टिविहीनको यो सीपलाई केही व्यवस्थित गर्न सकिन्छ कि भन्ने कुरा मनमा खेलिरहन्छ।’

प्रकाशित: ७ श्रावण २०७७ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App