६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सार्वजनिक सवारी: स्थानीयसहित लामो दूरीको पनि तयारी

पोखराबाट लामो तथा छोटो दुरीमा चल्ने यात्रु बस। चार महिनादेखि गुड्न नपाएका यी गाडीमा हिलोमा गडेका छन् । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चार महिनासम्म थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी बिहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यवसायीले गरेका छन्।  

तर, गण्डकी प्रदेशका जिल्लाभित्र मात्र आउजाउ गर्नेगरी बुधबार नै गाडी चलाउने तयारी व्यवसायीको छ। संक्रमणको त्रासले गरिएको लकडाउन अवधि नथपिए साउन ११ (आइतबार)देखि लामो दूरीमा पनि गाडी चलाउने तयारी व्यवसायीले गरिसकेका छन्। लामो समयको लकडाउनका कारण हिलोमा गाडिएका र झाडीमा लुक्दै गएका सवारीसाधन अब सडकमा निकाल्ने तयारी व्यवसायीको छ।  

संक्रमणका कारण गरिएको लकडाउनले व्यवसायी आर्थिक रुपमा धरासायी बनेकोले गाडी किन्दा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसक्ने भन्दै किस्ता अवधि कम्तीमा ६ महिना अवधि थपिनुपर्ने लगायत माग व्यवसायीले राख्दै आएका थिए। मौद्रिक नीतिमार्फत आफूहरुका माग पूरा भएकाले अब गाडी गुडाउने तयारी गरेको व्यवसायीले बताए।

पोखरा उपत्यकामा विभिन्न कम्पनीले सार्वजनिक सवारी सञ्चालन गर्छन। ती मध्ये पोखरा उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गरिरहेको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्माले सरकारले मौद्रिक नीतिमार्फत यातायात व्यवसायीका माग सम्बोधन गरेपछि व्यवसायी गाडी गुडाउन तयार भएको बताए। उनका अनुसार बिहीबारदेखि सहरभित्र पोखरा यातायातका गाडी गुड्नेछन्।  

पोखरा बसका तीन सय ७८ वटा गाडी छन्। पहिलो चरणमा ५० प्रतिशत हाराहारीमा मात्र गाडी गुडाउने तयारी भएको उनले बताए। ‘सबै गाडी अहिले नै गुड्ने अवस्थामा छैनन्। मर्मतसम्भारको खाँचो छ,’ शर्माले भने, ‘सबै गाडी गुडाउँदा यात्रु अभाव पनि हुने भएकाले अहिले पहिलो चरणमा आधा संख्यामा मात्र सञ्चालन गर्ने हो।’

–पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने
–प्रदेशभित्र बुधबारदेखि नै चलाउने तयारी  
–लकडाउन नथपिए आइतबारदेखि लामो दूरीमा पनि चल्ने

उनका अनुसार अरुबेला सामान्य अवस्थामा पोखरामा दैनिक तीन सय बस गुड्थे। तीन सय ७८ वटा गाडी भए पनि सबैले दैनिक गुड्ने पालो पाउँदैनथे। तर, अब भने एक सय ५० संख्यामा चलाउने तयारी भएको उनले बताए। अरुबेला पनि सातामा एक दिन सबै गाडी पालैपालो रोकिन्थे। अहिले यात्रु अभाव देखेर आधा संख्यामा गुडाउने तयारी गरिरहेको उनले बताए। पोखरा यातायातले सहरभित्र १४ र ग्रामीणसहित गर्दा २८ रुटमा गाडी चलाउँदै आएको थियो। ती सबै रुटमा विहीबारदेखि नै गाडी गुडाउने उनले बताए।  

पोखरा बससँग १५ देखि ३७ सिट क्षमतासम्मका गाडी छन्। ती गाडीमा आधा संख्यामा मात्र यात्रु राखेर मात्र गुडाउने उनले बताए। ‘आधा संख्यामा मात्र यात्रु बोक्नुपर्ने भएकाले सरकारले भने बमोजिम यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ,’ उनले भने, ‘सरकारले तोके बमोजिम स्वास्थ्यका सुरक्षा उपाय पनि अबलम्बन गरिनेछ।’ बिहीबारदेखि गाडी गुडाउने गरी सवारी मर्मत गर्न थालिएको पनि शर्माले बताए।  

उनका अनुसार झन्डै चार महिना थन्किएका सवारी एकाएक सडकमा निकालेर यात्रु चढाउँदा जोखिम हुनसक्छ। लामो समय नगुडेका कारण गाडीको ब्याट्री, मोबिल, गियर आयल, टायरमा समस्या आउने सम्भावना रहन्छ। गाडी हिलोमा फँसेको र झाँडीमा पुरिइसकेको उनले बताए। ती सवारी एकैपटक यात्रु बोक्न लैजाँदा झन जोखिम हुने उनले बताए। ‘धेरै गाडीका अघिल्ला टायर फेर्नैपर्छ। गाडी हिलो र घाँसको झाडीमा फँसेका छन्,’ उनले भने, ‘घामपानीले गर्दा क्षति भएको छ। सवारी पूर्ण रुपमा मर्मतसम्भार गर्नैपर्छ।’ कास्की बाहिर रहेका गाडीलाई पोखरा फिर्ता बोलाउने तयारी पनि रहेको उनले सुनाए।  

पोखराबाट लामो दूरीमा सुविधासम्पन्न बसमार्फत सेवा दिइरहेको जगदम्भा ट्राभल्सका सञ्चालक केशव अधिकारीले लामो दूरीमा पनि बस सञ्चालनको तयारी गरिरहेको बताए। उनका अनुसार लकडाउन अवधि नथपिए अबका केही दिनभित्र लामो दूरीमा बस सेवा सञ्चालन हुने भएकाले गाडी मर्मतसम्भारको तयारी थालेको बताए। अधिकारीले पनि लामो समय गुड्न नपाउँदा गाडीमा समस्या आउने बताउँछन्। मोबिल जम्ने, टायरमा पानी पस्ने, इन्जिनमा खिया लाग्नेलगायत समस्या हुने भएकाले सबै गाडी मर्मतसम्भार गर्ने तयारीमा रहेको अधिकारीले बताए।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले लामो दूरीमा चल्ने अनुमति नपाइसके पनि तयारी भने गरिसकेको बताए। यात्रुको सुविधाका लागि साउन ७ गतेदेखि प्रदेशभित्र गाडी गुडाउने उनले बताए। ‘जिल्लास्तरमा चलाउँदा यात्रु र व्यवसायीलाई पनि मार छ। तर, प्रदेशस्तरमा चलाउन जरुरी छ। अब लामो दूरीमा पनि रोक्न जरुरी छैन,’ केसीले भने, ‘प्रदेशस्तरमा साउन ७ र लामो दूरीमा साउन ११ गतेदेखि सञ्चालन गर्ने तयारी भइसकेको छ।’ पृथ्वीले पोखरा सहरभित्र भने गाडी चलाउँदैन।

लकडाउन थपेर साह्रै नै कडा गरे मात्र लामो दूरीमा सञ्चालन रोक्न सकिने भए पनि व्यवसायीले अहिलेका लागि आन्तरिक तयारी थालिसकेको उनले बताए। ‘आज भनेर भोलि गाडी निकाल्न सकिन्न। लामो समय नगुडेका गाडी पूर्ण मर्मतसम्भारको पर्खाइमा छन्,’ उनले भने, ‘मर्मतसम्भारबिना चलाउँदा जोखिम हुन्छ। त्यसैले हाम्रो तयारी भएको हो। बुधबारदेखि प्रदेशभित्र र ११ गतेदेखि लामो दूरीमा चलाउनेबारे व्यवसायीसँग सल्लाह भइसकेको छ।’

प्रदेशभित्र सञ्चालन गर्दा तनहुँको मुग्लिनपुल, स्याङ्जाको राम्दीपुल, बागलुङको ढोरपाटनसम्म सवारी चल्नेछन्। प्रदेश र लामो दूरीमा सञ्चालन गर्दा पनि सरकारले तोकेको मापदण्ड पूरा गरेर सञ्चालन गर्ने अध्यक्ष केसीले बताए। पोखराबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्दा पनि आधा संख्यामा यात्रु बोकेर मात्र गुड्ने उनले बताए। 

प्रकाशित: ५ श्रावण २०७७ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App