नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन्। महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताए। गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पारे। उनले भने 'मेरो नीति स्पस्ट छ। यसको लागि मलाई टिम चाहिन्छ। साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन। म केही काम गर्नको लागि आएको छु। यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ। यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो। फोटो झुण्ड्याउनका लागि आएको होइन है साथिहरु।’
अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताए। उनले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताए। उनले भने, 'यस्तो समयमा म अध्यक्ष बन्दैछु। हाम्रो अर्थतन्त्रमा सायद यो भन्दा ठूलो गम्भिर घडी पहिला कहिले पनि थिएन। हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन। म अव देशको वाणिज्य महासंघ जुन नेपालको निजी क्षेत्रको छाता संगठन हो र नेपालको निजी क्षेत्रको एकमात्र आस्थाको केन्द्र हो र मैले के गर्ने भनेर मेरो बाटो खुलस्त छ। मैले उद्योग वाणिज्य महासंघमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड १९ ले पारेको असर छ त्यो असरलाई निर्मुल गरेर अर्थतन्त्रलाई फेरी चलायमान गर्नुपर्ने मेरो बाटो प्रष्ट रुपमा मैले देखेको छु।’
महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताए। उनले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए। महासंघ भित्र काम गर्न गाह्रो भएको र आफु अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताए। उनले आफुलाई अहिलेसम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताए।
प्रकाशित: ३१ असार २०७७ ०७:३३ बुधबार