१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

छिटफुट गुड्न थाले सार्वजनिक बस

आइतबार राजधानीमा गुडेको सार्वजनिक बस। तस्बिर: मोनिका मल्ल/नागरिक

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । व्यवसायीले न्यूनतम आधारभूत आवश्यकता सरकारले पूरा गरेपछि मात्रै चलाउने बताउँदै आएका थिए ।  

सरकारले सार्वजनिक गाडी गुड्न दिएको चार दिनपछि उपत्यकाको सडकमा केही मात्रामा भाडाका यात्रुबाहक बस गुडे। मयुर यातायात प्रालिका म्यानेजर मोहन श्रेष्ठले आइतबारदेखि सावधानी अपनाएर बस सञ्चालन गरेको बताए । ‘सरकारले तोकेको मापदण्ड पालना गरेर बस सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘सिट क्षमताको आधामात्रै यात्रु राखेर सेवा दियौं ।’ म्यानेजर श्रेष्ठले कम्पनीका आधा दर्जन बसमात्रै गुडेको बताए । मयुरले चक्रपथ र चक्रपथ–भक्तपुर रुटमा सेवा सुरु गरेको छ ।  

मयुरको अलावा अन्य केही बस पनि छिटफुट गुड्न थालेका छन् । संयुक्त, केही माइक्रोबस पनि गुड्न थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गत शुक्रबार बसेकोे बैठकले बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सामग्रीको व्यवस्था, मुख्य नाका वा बसपार्कमा सवारी निर्मलीकरणको लागि टनेलको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।  

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले चालकको स्वतः कोरोना बिमाको व्यवस्था, चालक–परिचालकलाई स्वास्थ्य सामग्री, यात्रुलाई मास्क र पञ्जा लगायत व्यवस्था, सवारी साधन सञ्चालन हुँदा चालक परिचालकको तलब–भत्ता, इन्धन खर्च, बैंक तथा वित्तीय संस्थाको किस्ता रुट इजाजत जाँचपास, सवारी करमा छुट, चालक अनुमतिपत्र, बिमा नवीकरण लगायत दैनिक हुने खर्च उपलब्ध हुने सुनिश्चितता गर्नुपर्ने माग राखेको बताए ।  

सार्वजनिक सवारी साधनले सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने र थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था छ। यसैबीच, सुन्दर यातायात प्रालिले मंगलबारदेखि चारवटा विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ ।

लकडाउन खोल्ने छलफल सकारात्मक  
सार्वजनिक यातायात खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफल सकारात्मक ढंगले अघि बढेको छ । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर संगठनबीच सोमबार भएको छलफल सकारात्मक दिशातर्फ अघि बढेको वार्तामा सहभागीले बताए ।  

सरकारले पुनर्कर्जा र लकडाउन अवधिको किस्ता तीन महिना सार्ने विषयको छलफल सकारात्मक ढंगले अघि बढेको नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘विभाग, महासंघ र मजदुर संगठनबीच भएको छलफल सकारात्मक ढंगले अघि बढेको छ,’ उनले भने, ‘विभागले श्रमिक र व्यवसायीको मागको विषयमा सम्बोधन गर्ने विषयमा सकारात्मक देखिएको छ ।’  

अध्यक्ष राईले सरकारबाट लकडाउन अवधिमा थन्क्याएर राखिएका सवारी साधन मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न आश्वासन पाएको बताए । विभागले १५–१५ दिनमा चालक तथा परिचालकको पिसिआर परीक्षणबाट कोभिड १९ परीक्षण गर्ने आश्वासन दिएको जनाएको छलफलमा सहभागीले जनाएका छन्।

प्रकाशित: ३० असार २०७७ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App