coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना संक्रमणका कारण उद्यम विकास लक्षित कार्यक्रम प्रभावित

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत चालू आर्थिक वर्ष ०७६/७७ मा सञ्चालन हुने अधिकांश उद्यम विकास कार्यक्रम प्रभावित भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार कोभिड–१९ महामारीका कारण उद्यमीहरुलाई उनीहरुको आवश्यकता र प्राविधिक रायका आधारमा बितरण गरिने उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम पूर्णतया प्रभावित भएको हो।  

उद्योग अधिकृत देउप्रकाश तामाङका अनुसार चालू आवमा ३० जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो। ३० लाख रुपैयाँको यो बजेट शीर्षकको एक रुपैयाँ पनि खर्च नभई प्रदेश सरकारमा फिर्ता गएको तामाङले जानकारी दिए। महामारीका कारण यो रकम खर्च नगरी फिर्ता लैजाने प्रदेश सरकारको नीतिगत व्यवस्था नै थियो। यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको ९८ लाख ५ हजार रुपैयाँ बजेटमध्ये १८ लाख ८४ हजार मात्र खर्च भएको छ।  

वित्तीय प्रगतिका हिसाबले यो करिब साढे १९ प्रतिशत मात्र हो। यहीँ शीर्षकमा रहेको अर्को १८ लाख ३७ हजार रुपैयाँ बजेटमा भने ६१.७४ प्रतिशत अर्थात् ११ लाख ३७ हजार रुपैयाँ बराबरको वित्तीय प्रगति रहेको उद्योग कार्यालयले जनाएको छ। ७७ लाख ४२ हजार रुपैयाँ बजेट रहेको घरेलु तथा साना उद्योग विकास कार्यक्रममा ४४ प्रतिशत वित्तीय प्रगति भएको छ। यो शीर्षकमा ४३ लाख ३२ हजार बजेट खर्च भएको उद्योग अधिकृत तामाङले जानकारी दिए।  

यस्तै २३ लाख रुपैयाँ बजेट रहेको प्रदेश मन्त्रालयको बिभिन्न कार्यक्रममा भने ८६.९६ प्रतिशत वित्तीय प्रगति हासिल भएको उद्योग कार्यालयले जनाएको छ। प्रदेश मन्त्रालयको २३ लाख बजेटमध्ये २१ लाख खर्च भएको सो कार्यालयले आफ्नो वित्तीय तथा भौतिक प्रगतिमा उल्लेख छ। कोभिड–१९ को प्रत्यक्ष प्रभावबीच पनि उद्योग कार्यालयले उद्यमी सिर्जना तथा रोजगार कार्यक्रम, उद्योग प्रवद्र्धन कार्यक्रम, एक जिल्ला एक उत्पादन कार्यक्रम र उद्यमशीलता विकास तालिम भने सञ्चालन गरेको जनाएको छ।  

यस्तै सेवा प्रदायक संस्थामार्फत गरिने कार्यक्रममध्ये कञ्चनजंघा महिला विकास केन्द्रमार्फत गरिने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको ठूलो हिस्सा सञ्चालन भएको र नेपाल केरियर ट्रेनिङ फाउन्डेसन प्रालि जेभी ग्रामीण बिजनेस प्रमोसन प्रालिमार्फत हुने कार्यक्रमको प्रारम्भिक चरणका कार्यक्रममात्र भएको उद्योग कार्यालयले जनाएको छ।  

१२ लाख बढी राजस्व असुली  
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ उद्योग दर्ता तथा नवीकरणबाट १२ लाख बढी रकम राजस्व असुली गरेको छ। उद्योग अधिकृत तामाङका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा उद्योग दर्ता तथा नवीकरणबापत १२ लाख ७ हजार एक सय ५५ रुपैयाँ राजस्व असुली भएको हो। तामाङका अनुसार एक सय ५९ वटा उद्योग दर्ता भएकामा ९९ वटाले नवीकरण गरेका छन्। चारवटा उद्योगले नामसारी गरेका छन् भने २५ वटा उद्योग सञ्चालकले प्रतिलिपि उतार गरी लगेका छन्।  

लामो समयसम्म दर्ता नवीकरणसहितका प्रकृया पूरा नगर्ने चारवटा उद्योगको दर्ता खारेजी गरिएको छ। एउटा उद्योगको ठाउँसारी प्रकृया पूरा भएको समेत तामाङले जानकारी दिए। चालू आवमा वाणिज्यतर्फ ४८ फर्म दर्ता भएका छन्। वाणिज्यतर्फ भने ९२ वटाले नवीकरण गर्दा पाँचवटा उद्योग सञ्चालकले पुँजी वृद्धि, तीनवटाको प्रतिलिपि उतार हुँदा पाँचवटा वाणिज्यतर्फका उद्योगको दर्ता खारेजी गरिएको छ। उद्योगको प्रकृति हेरी पाँच वर्षसम्म दर्ता मान्य अवधि दिइएकाले संख्यात्मक हिसाबले नवीकरणको अवस्था कमजोर जस्तो देखिए पनि त्यस्तो नभएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका खरिदार निर्जा भट्टराईले बताइन्। उनका अनुसार दर्ता भई नवीकरण हदम्याद आउन बाँकी हुने उद्योगको संख्या बढी रहेकोले यस्तो अवस्था देखिएको हो।

प्रकाशित: ३० असार २०७७ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App