२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

झन्डै एक महिनापछि प्रदेश २ को बजेट पारित

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभामा बैठकमा सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा बहुमतले बजेट पारित भएको हो।  

गत असार १ गते प्रदेश सरकारले ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो। एक सय सात जना प्रदेशसभा सदस्य रहेको यो प्रदेशमा आइतवारको मतदानमा ८० जना सांसद सहभागी भएका थिए। अनलाईन (जुम) मा ६ जना र प्रदेशसभामा उपस्थित ७४ जनाले विनियोजन विधेयकमा मतदान गरेका थिए।  

मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए। प्रदेशका कुल एक सय सात सांसदमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए।

मन्त्रालयगत छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनयोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसक्रममा प्रमुख प्रतिपक्ष नेकपा सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेका थिए।  

विपक्षीले मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र अनलाइन माध्यमबाट सांसदहरु सहभागी भएका थिए। बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपाले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विरोध जनाएका थिए।

प्रकाशित: ३० असार २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App