२७ श्रावण २०७७ मंगलबार
अर्थ

रसुवा नाकाबाट भन्सार जाँचपास सुरु, पहिलो दिन ५५ लाख राजस्व संकलन

रसुवा भन्सार कार्यालयले भन्सार जाँचपास सुरु गरेको छ। कार्यालयले पहिलो दिन ५५ लाख राजस्व संकलन गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का गएको माघ १५ गतेदेखि बन्द भएको नाका गएको सोमबारदेखि पुनः सञ्चालनमा आएको थियो।  

नाकासम्म व्यापारी आउन कठिन भएको, कताको कामदार राख्ने भन्ने विषयमा विवाद, मेसहरूले पहिलेको भाडा उपलब्ध नगराएको र रसुवाका व्यवसायीले सिन्डिकेट लगाएको भन्ने आरोप लागेपछि जाँचपासमा ढिलाइ भएको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले आइतबारदेखि जाँचपास सुरु भएको बताए। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन्। आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन्।

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ। चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन्। मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाएका कामदार रहने छन्। चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ। नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ।  

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ।  

त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।  

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: २९ असार २०७७ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App