१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकतामा बाटोघाटो

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बैतडीका स्थानीय तह बाटोघाटो बनाउन थालेका छन्। बेरोजगारलाई गाउँमै रोजगारी दिने उद्देश्यअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माणमा दिएका हुन्।

दशरथचन्द नगरपालिकामा २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा पिसिसी बाटो, सडक, चौतारो निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी बताए। प्रत्येक वडामा दुई–दुई योजनाका दरले काम भइरहेका र करिब एक हजार जनाले रोजगारी पाएका छन्। पुर्चौडी नगरपालिकामा ८५ लाख रुपैयाँ विनियोजित भएको छ। पिसिसी, गोरेटो बाटो, गाउँघर क्लिनिकको भवन, तटबन्ध निर्माण गरी नगरपालिकामा १३ योजना सम्पन्न भएका छन् भने तीन सय ८३ जनाले प्रत्यक्ष रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए।  

पाटन नगरपालिकाले ३२ लाख २७ हजार रुपैयाँले नहर सरसफाइ, सिँचाइ योजना बाटो निर्माण गरिएको छ। नगरका सबै वडामा १० योजना सञ्चालन गरिएको र त्यसमा सात सय जनाले रोजगारी पाएका छन्। मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालन छन्। खानेपानी र सिँचाइका ती योजनामा करिब पाँच सयले रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले बताइन्।

दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिँचाइ योजनालगायत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ योजना सम्पन्न हुने चरणमा रहेका छन्। सुर्नया गाउँपालिकामा विनियोजित ६२ लाख ८० हजारबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन्। पिसिसी बाटो, फिल्ड निर्माण, सडकको नाली तथा खानेपानी निर्माणको काममा दुई हजार ६ सयले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले बताए।

यस्तै शिवनाथ गाउँपालिकामा सो कार्यक्रमबाट १२ योजना सम्पन्न हुने चरणमा छन्। २८ लाख १० हजार बजेटले बाटो, सडक सरसफाइ, बर्थिङ सेन्टरको पर्खाल निर्माणमा करिब एक सयले रोजगारी पाएको बताइएको छ। सिगास गाउँपालिकामा सो कार्यक्रमअन्तर्गतका योजना अन्तिम चरणम पुगेका छन्। १६ लाख रुपैयाँले गोरेटो बाटो र बर्थिङ सेन्टर निर्माण गर्ने पाँच योजना रहेका छन्। डिलासैनी गाउँपालिकामा ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेको रोजगार संयोजक हरिश जोशीले बताए। पञ्चेश्वर गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन्। पञ्चेश्वरमा १० लाख रुपैयाँ बजेट रहेको छ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम गर्न पाउँदा स्थानीय खुसी भएका छन्। लकडाउनका कारण विदेशबाट गाउँ फर्केकाहरु पनि काममा जुटेको पुर्चौडी नगरपालिका–३ का लोकेन्द्र धामीले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम पाउँदा बेरोजगार युवालाई सहज भएको छ। तर उनीहरुसँग भएको सीपको भने सदुपयोग हुन नसकेको जगन्नाथ क्याम्पसका प्राध्यापक मानबहादुर भाट बताउँछन्। बेरोजगार युवालाई उनीहरुसँग जुन खालको सीप, दक्षता छ त्यही अनुसार काम दिनुपर्ने उनी बताउँछन्। कार्यक्रमले रोजगारीको रुपमा मात्र नहेरी दिगो योजना छनोट गरेर सदुपयोग गर्न नसकेको नागरिक समाजका अगुवा डम्बरदत्त पाण्डेले बताए।

प्रकाशित: २६ असार २०७७ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App