१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन उद्योग खोल्न पाउनुपर्ने माग

पर्यटनसँग सम्बन्धित व्यवसायीले हाल बन्द अवस्थामा रहेका  उद्योग खोल्न पाउनुपर्ने माग अघि सारेका छन् ।  

गत चैत ११ देखि जारी लकडाउनका कारण उद्योगहरू धराशयी बन्दै गएको भन्दै व्यवसायीले  स्वास्थ्य सुरक्षाको प्रोटोकल पूर्ण पालना गर्दै व्यवसायमा फर्कन पाउनुपर्ने बताएका छन् ।

आन्तरिक तथा बाह्य हवाई सेवा, होटल, पर्वतारोहण क्षेत्रलाई मापदण्डको आधारमा खोल्ने व्यवस्था गरे अहिले पनि २० प्रतिशत पर्यटक नेपाल आउन चाहेको व्यवसायीको भनाइ छ ।

एकातिर लकडाउन थपिँदै जाने र अर्काेतर्फ संक्रमणसमेत नियन्त्रणमा आउने संकेत नदेखिएको अवस्थामा लकडाउन मात्रै थप गरेर समस्या समाधान नहुने उनीहरूको जिकिर छ । होटल एसोसिएसनका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार सरकारले १० वर्ष नै लकडाउन कायम राखे पनि रोग नियन्त्रण गर्न सक्ने अनुमान गर्न नसकेकाले सावधानी अपनाउँदै व्यवसायमा फर्कन उचित हुने धारणा राखे ।

‘सरकारले सम्बद्ध निकायको समन्वयमा लकडाउनको प्रभाव न्यूनीकरण गरी पर्यटन उद्योगलाई चलायमान बनाउने प्रयास गरिरहे पनि उपयुक्त समय तोकेर निर्देशन जारी गरे व्यवसायीले समेत आन्तरिक तयारी गर्न सक्छन्,’ उनले भने, ‘छिमेकी भारत, चीन र दुबई जस्ता राष्ट्रले रिजर्भेसन खोलिसके; हाम्रोमा ढिलो भइरहेको छ ।’ होटलमा चाहिने आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यानमा राख्दै आन्तरिक तयारी र व्यवस्थापनबारे थप गृहकार्य गरिरहेका होटलहरूले सरकारको निर्णय कुरिरहेको उनले बताए ।

ढिलो–चाँडो व्यवसाय खोल्नुको विकल्प नरहेको भन्दै शाहले लकडाउनले मात्रै रोग नियन्त्रण हुने आधार भए देखाउन चुनौती दिए ।

नेपालमा पर्यटनका लागि आउने विदेशीले यहाँका स्वच्छ हिमाली हावा सम्झिरहेका छन् । हामीले लकडाउन थपिरहेकाले उद्योगलाई क्षति पुगिरहेको छ । उनले भने, ‘बाह्य उडान खोल्ने भन्दैमा रोग ल्याउनु भनेको त होइन नि ! स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर हामी सेवा दिन तयार रहे पनि सरकारले बोल्ड डिसिजन गर्न सकेन ।’

ट्रेकिङ एजेन्सी एसोसिससन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोले अहिले नै पर्यटक आउन तयार रहेको बताए । सरकारले योजना सार्वजनिक गरे व्यवसायीले आगामी सिजनको लागि तयारी गर्न सक्ने उनको भनाइ छ ।

अहिले नै नेपाल घुम्न चाहने पर्यटकको संख्या  बढ्दै गएको भन्दै उनले विश्वका अन्य देशबाट सिक्नुपर्नेमा जोड दिए ।

‘व्यवसायी चार महिनादेखि व्यवसाय बन्द गरेर बसेका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदा सार्वजनिक बाहेकका पर्याप्त सवारी गुडेकै छन् । मानिसको भीडभाड बढ्दै गएको छ । पसलहरू खुलिरहेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी क्षति भोगेको पर्यटन क्षेत्र भने कतिन्जेल बन्द राख्ने ?’

कोभिड १९ को संक्रमण रोक्न गत चैत ११ देखि लागू गरिएको लकडाउनले पर्यटन क्षेत्रमा ३४ अर्ब नोक्सानी भएको सरकारी तथ्यांककले देखाइसकेको छ । लकडाउनका कारण होटल, हवाई, राष्ट्रिय गौरवका आयोजनाले सबैभन्दा बढी क्षति बेहोरिरहेका छन् ।

प्रकाशित: २४ असार २०७७ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App