१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक पारित

व्यवसायतर्फ होटल, पर्यटन र मनोरञ्जन क्षेत्रका लागि ५० प्रतिशत र अन्य व्यवसायमा २० प्रतिशत छुट

आर्थिक वर्ष २०७७/०७८ का लागि काठमार्डौं महानगरको आर्थिक विधेयक ७ औं नगर सभाको तेश्रो बैठकबाट आज पारित भएको छ । असार १० गते बसेको नगर सभाको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक विधेयक र मेयर बिद्यासुन्दर शाक्यले बिनियोजन विधेयक प्रस्ताव गरेको थियो ।  

करको दर नबढाउनु भनेको करमा दिइएको छुट भएको महानगरका मेयर शाक्यले बताए । करको दर बढाएनौं, कोरोनाको प्रभाव हेरेर छुटको व्यवस्था गरेका छौं उनले बताए । कर दाताहरूबाट आर्थिक वर्ष २०७६÷०७७ मा असुल हुनु पर्ने तर बाँकी सबै प्रकारका कर बक्यौता जरिवानामा छुट दिइएको छ । कोभिड – १९ काकारण व्यावसायीमा परेको प्रभावलाई सामान्य बनाउन यस्तो यस्तो छुट दिइएको हो भने पहिलेका वर्षहरूमा असोज मसान्तसम्म दिइने गरेको सम्पत्ति करको छुटलाई यस वर्ष पुष मसान्तसम्म दिइने भएको छ ।

पर्यटन क्षेत्रका व्यवसायीमा लकडाउनले पारेको असर कम गराउन महानगरले आफ्नै नाममा भएका र लिज वा भाडामा लिएका दुबै प्रकारका होटल, रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट दिने भएको छ । यसरी छुट पाउने करदाताले आर्थिक वर्ष २०७६/०७७ सम्मको घरजग्गा कर÷/सम्पत्ति कर चुक्ता गरिसकेको हुनुपर्नेछ । २०७७ पुष मसान्तभित्र सम्पति कर बुझाएमा अरुलाई दिइने जस्तै १० प्रतिशत थप छुट हुँदा यस क्षेत्रका व्यवसायीले सम्पत्ति करमा ८५ प्रतिशत छुट पाउनेछन् ।  

व्यवसायतर्फ होटल, पर्यटन र मनोरञ्जन क्षेत्रका लागि ५० प्रतिशत र अन्य व्यवसायमा २० प्रतिशत छुट हुनेछ । बन्दाबन्दीका समयमा आफ्नो घरमा बहालमा बस्नेहरूलाई कम्तीमा एक महिनाको घर बहाल छुट दिएको स्वघोषणा गर्ने घरधनीलाई घरको बहालमा १० प्रतिशत छुट हुने हुनेछ । बहाल छुट दिएको स्वघोषणा गरेर आर्थिक वर्ष २०७६/०७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्ने करदातालाई १० प्रतिशत छुट हुनेछ । २०७६/०७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहालमा छुट दिएका तर कर छुट सेवा नपाएका घरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को बहाल करमा १० प्रतिशत छुट दिएर कर समायोजन गरिनेछ ।  

आर्थिक वर्ष २०७७/०७८ का लागि महानगरले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ आय व्यय प्रस्ताव गरेको छ ।

प्रकाशित: १८ असार २०७७ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App