राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।
पश्चिम मूल नहरको जेठी नालासम्म र पूर्र्वी नहरको साविक राजकुलोबाट किसानको खेतमा पानी छाडिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए। धान रोपाइँलाई मध्यनजर गर्दै विभिन्न शाखा तथा प्र–शाखा नहरबाट खेतबारीमा पानी छाडिएको उनले बताए।
‘हामीले वैशाख महिनाबाट केही ठाउँमा पानी छाड्यौं, त्यसपछि जेठ १५ पछि पनि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट पानी छाड्ने काम भइरहेको छ,’ थापाले भने, ‘यो वर्ष करिब १६ हजार हेक्टर जमिनमा सिक्टाको पानी छाड्ने हाम्रो अनुमान छ।’ असार १५ सम्म आइपुग्दा अधिकांश किसानको खेतमा पानी पुगेको उनको दाबी छ। सिक्टा सिँचाइ आयोजनाबाट बाँकेमा कुल ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य छ।
पश्चिम मूल नहरबाट ३३ हजार र पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको छ। थापाका अनुसार पश्चिम मूल नहरअन्तर्गत रहेका सिधनिया र डुडुवा शाखा तथा जेठी नाला हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो।
५० क्युमेक्स क्षमता रहेको सिक्टाको पश्चिम मूल नहरबाट अहिले दुईदेखि तीन क्युमेक्स पानी छाडिएको उनले जानकारी दिए। ‘वैशाख महिनातिर चारदेखि पाँच क्युमेक्ससम्म पानी छाडेका थियौं, अहिले वर्षायाम पनि सुरु भइसकेको हुँदा आवश्यकता अनुसार दुईदेखि तीन क्युमेक्स मात्र छाडिरहेका छौं,’ उनले थपे, ‘आवश्यक परेमा बढाउँदै लैजाने हो।’ तर, अहिले तत्कालका लागि पानीको क्षमता बढाउने अवस्था नरहेको बताए। नहरमा थोरै परिमाणको पानी चलाइएको हुँदा अहिले कतै समस्या नदेखिएको आयोजनाका इन्जिनियर बताउँछन्।
यस्तै पूर्वी नहरअन्तर्गत रहेको साबिक राजकुलोबाट पनि आवश्यकता अनुसार किसानको खेतबारीमा राप्ती नदीको पानी छाडिएको आयोजना निर्देशक थापाले जानकारी दिए। ‘पर्याप्त मात्रामा वर्षा नभए पनि यसवर्ष सिक्टाको नहर पुगेको ठाउँमा किसानले समयमै धानको ब्याड राख्न र रोपाइँ गर्न पाएका छन्,’ उनले भने।
यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर भत्किएको थियो। पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चंगाई नाला नजिक मूल नहर भत्किएको थियो। राज्यको अर्बौ रुपैयाँमा बनेको सिँचाइ नहर पटक–पटक भत्किएपछि यसबारे चासो बढेको थियो। संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोलीलगायतले अध्ययन तथा अनुसन्धान गरेका थिए। लामो अनुसन्धानपछि अख्तियारले सिक्टामा साढे आठ अर्ब बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ।
सरकारले बाँकेमा २०३२ सालबाट सिक्टा सिँचाइ आयोजनाको काम अगाडि बढाउन खोजेको थियो। तर, भारतले विभिन्न बहानामा आयोजना बन्न नदिएपछि रोकिएको थियो। त्यसपछि नेपाल सरकारले आफ्नै पहलमा ०६२÷६३ सालबाट बाँकेको अगैयामा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडि बढाएको हो। आयोजनाको काम समयमै सम्पन्न नहुँदा किसानले पर्याप्त मात्रामा सिँचाइ सुविधा पाउन सकेका छैनन्। आयोजनाको सबै काम सम्पन्न हुँदासम्म लागत खर्च करिब ३० अर्ब नाघ्ने सरकारको अनुमान छ। आयोजनामा अहिलेसम्म करिब १६ अर्ब खर्च भइसकेको बताइएको छ।
प्रकाशित: १७ असार २०७७ ०२:२३ बुधबार