१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोहोरमैला मजाकको विषय होइन: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गरेका छन्।

विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ ले आज यहाँ आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापन अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे।

‘फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैर जिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो। यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु।’  अध्यक्ष ओलीले भने।

उनले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभा सम्मेलन र औपचारिक वृक्षारोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तहतप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने, ‘हिमाल हामीसँग छ, यसलाई सुरक्षित राख्नुपर्छ। हिमालमा हिउँ भयो भने मात्र अस्वाभाविक रूपमा वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ, अन्यथा अकल्पनीय समस्या व्यहोर्न पर्छ, त्यसतर्फ समयमै सजग एवं सचेत भई वातावरण जोगाउने अभियानमा सरिक होऔँ।’

प्रकाशित: २३ जेष्ठ २०८१ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App