८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

तराईदेखि उच्च हिमाली भेगसम्मै सलह

मंगलबार दाङको देउखुरीमा मकैबालीमा छिरेको सलहको झुण्ड। तस्बिर: देबेन्द्र बस्नेत/नागरिक

शनिबारदेखि तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलह मंगलबारसम्ममा काठमाडौं उपत्यकालगायत हिमाली क्षेत्रमा पनि उक्लिएको छ। मंगलबारसम्मका सलह फैलिएर दुई दर्जनभन्दा बढी जिल्लामा पुगेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।  

मंगलबार दिउँसो काठमाडौंको रानीबारी र वनस्थली क्षेत्रको आकाशमा सलह देखिएको थियो। काठमाडौंको दक्षिणी क्षेत्रबाट सलहको झुण्ड प्रवेश गरेको बताइएको छ।  

उदयपुर संवाददाता महेश्वर चाम्लिङ राईका अनुसार उदयपुरको कटारी नगरपालिकामा तीनदेखि सलह देखिएको छ। नगरपालिकाको कृषि विकास शाखाले सलह आएको पुष्टि गर्दै यसबाट अन्नबाली बचाउँदै नियन्त्रण गर्न कीराको पहिचान गरी आनीबानी र जीवनशैली पत्ता लगाउन आग्रह गरेको छ।  

कृषि शाखाले विभिन्न किसानको खेतबारीमा शनिबार साँझदेखि सलह देखा परेको प्रमाणित भएको बताउँदै फैलिन नदिन संभावित संक्रमणस्थलमा सरोकारवालाहरु जुटेर कीराको आनीबानी, फैलिने तरिका तथा शैलीबारे जानकारी लिएर सहयोग गर्न आग्रह गरेको छ।

त्यसैगरी, म्याग्दी सम्वाददाता हरिकृष्ण गौतमका अनुसार मंगलबार बेनी आसपास सलह देखिएको छ। त्यस्तै धवलागिरी गाउँपालिका–६ ताकमको बगर क्षेत्रको आकाशमा ठूलो संख्यामा सलह देखिएको स्थानीयले बताएका छन्।  

उत्तरी म्याग्दीमो अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको आकाशमा उडिरहेको अवस्थामा देखिएको सलह सदरमुकाम बेनी आसपासमा देखिए पनि सानो समूहबाट छुट्टिएर आएको हुनसक्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले बताए।

हावाको चाप दक्षिणबाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सीमाक्षेत्रबाट सोमबार साँझ सलहको समूह प्रवेश गरेको अनुमान गरिएको छ।

दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार दाङमा ठूलो संख्यामा सलह प्रवेश गरेको छ। मंगलबार देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो। घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घण्टौंसम्म उडेको थियो। आकाशमा उडेको सलह घोराहीदेखि उत्तर–पश्चिम क्षेत्रमा गएको छ।  

‘दाङमा ठूलो सख्यामा सलह भित्रिएको छ, तर संख्या यकिन गर्न सकिने कुरा भएन,’ कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले भने ‘घण्टौंसम्म अत्यधिक ठूलो झुण्डमा आकाशमा यो कीरा उडेको छ।’ उनका अनुसार देउखुरीको गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकाका विभिन्न गाउँको बालीनालीमा यो कीरा बसिसकेको छ। त्यहाँ सलहको ठूलो झुण्ड बालीनालमिा बसिसकेकाले किसानहरु चिन्तित बनेका छन्। ‘अहिले किसानहरुलाई यो किराको त्रासदी निकै बढेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख धितालले भने ‘बालीनाली जोगाउनका लागि यसलाई भगाउनुबाहेक अर्को विकल्प रहन्न।’

सुर्खेत संवाददाता गणेश विशुका अनुसार तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ। मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो।

ठूलो मात्रामा सलह नभएकाले ठूलो झुण्डामा हराएर सुर्खेत पुगेको हुनसक्ने कृषि अनुसन्धान केन्द्र दशरथपुरका कार्यालय प्रमुख बन्दुराज बरालले जानकारी दिए। ‘दाङतिरबाट भेल फाटेर सुर्खेत आइएको हुन सक्छ,’ उनले भने, ‘हावाको बहाबसँगै हराएर आएको अनुमान गरेका छौं।’ अहिले नै आत्तिनुपर्ने स्थिति नभएको र योभन्दा ठूलो झुण्ड आयो भने ठूलो नोक्सानी हुने उनको भनाइ छ। यसका लागि किसान सजग भएर बस्नुपर्ने उनले जनाए।

प्रकाशित: १७ असार २०७७ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App