८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धार्थनगरको बजेट ९५ करोड ९ लाख, चालु आव भन्दा २३ करोड कम

बजेट प्रस्तुत गर्दे उपमेयर उमा काफ्ले ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट मानव स्वास्थ्य जोखिम संवेदनशीलतालाई ध्यानमा राखी आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक गुणस्तर, कृषि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

बुधबार सातौं नगरसभाको बैठकमा नगर उपप्रमुख उमा काफ्लेले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गरी ९५ करोड ९ लाख ६६ हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेकी छन् । स्वास्थ्य सुधारसहित सामाजिक विकासमा टेवा पुर्‍याउने, दिगो विकास, वातावरणमैत्री आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित कृषि हाटबजारको दीर्घकालीन व्यवस्थापनका लागि पूर्वाधार विकास निर्माणमा केन्द्रीत रहेको छ ।

पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा” नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात् गर्दै नगरको समग्र विकास गर्नेतर्फ केन्द्रित भई नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, मौज्दात रकम, आन्तरिक आय समेतबाट  ९५ करोड ९ लाख ६६ हजार बजेट अनुमान गरिएको छ ।

बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको भए पनि हालको बजेट चालु आ.ब. को अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम छ । कुल बजेटको ५८ प्रतिशत चालुतर्फ र ४२ प्रतिशत पूजिगततर्फ खर्च हुने छ ।  

सिद्धार्थनगरले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक आयका स्रोतहरूबाट रु. १६ करोड, राजश्व बांडफांडबाट रु. १३ करोड ७४ लाख ७७ हजार हजार, लागत सहभागिताबाट रु. २० लाख, संघीय र प्रदेश सरकार, दातृ निकायबाट  ५८ करोड ६ लाख १५ हजार र  ७ करोड ८ लाख ७४ हजार प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ । सो रकम मध्ये सामाजिक विकासतर्फ ३२ प्रतिशत, पूर्वाधार विकासतर्फ ३१ प्रतिशत, सुशासन तथा संस्थागत विकास तर्फ २६ प्रतिशत, आर्थिक विकास तर्फ ७ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत खर्च हुने छ ।

वडा तहको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र अन्यका लागि प्रति वडा न्यूनतम ४० लाख । जनसङख्या, भूगोल र वडागत विकासको अवस्थाको आधारमासूत्र मार्फत् थप रकम विनियोजन गरि कुल ८ करोड २० लाख वडाका लागि विनियोजन गरिएको छ ।

त्यस्तै नगरको मुटुमा रहेको कृषि हाटबजारलाई नगरको गौरवको आयोजनाको रूपमा पहिचान गरि नगरपालिका र प्रदेश सरकारको समपूरक अनुदानबाट हाटबजारमा ए ब्लक को पूर्वाधार निर्माणको कार्य  जारी छ । जसका लागि प्रदेश सरकारको समपूरक अनुदानबाट  १ करोड ५० लाख र नगरपालिकाबाट १ करोड ५० लाख गरी कुल  करोड विनियोजन भएको छ । साथै सोही मध्ये बी ब्लकको निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढि संघीय सरकारको समपुरक अनुदान ४ करोड, संघीय सरकारको सशर्त तर्फको ४ करोड र नगरपालिकाको लागत सहभागिता  ४ करोड गरी १२ करोड विनियोजन भएको छ ।

नगरपालिकाको वडा नं. ३ मा रहेको दरखस्वा पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट  ५० लाख र नगरपालिकाको सहभागिता  ५० लाख गरी १ करोड,  वडा नं. १ डण्डा नदी किनारमा निर्माणाधीन पर्यटकीय गेटको लागि २ करोड, विपन्नहरूको सुरक्षित आवास निर्माण कार्यक्रम (मेयर आवास) को लागि १ करोड विनियोजन भएको छ ।  

चालु आ.व. २०७६/७७ मा  १ अर्ब १८ करोड ४७ लाख ६४ हजार अनुमान गरिएको भए पनि विश्वव्यापी रूपमा फैलिएको महामारीका कारण आय स्रोतमा असर भइ आम्दानीको शीर्षकगत रूपमा केही फरक परेको नगरपालिकाका प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए । चालु आ.ब. २०७६।०७७ को ज्येष्ठ मसान्तसम्म नगरपालिकाले  ६८ करोड ८७ लाख ७९ हजार ३१३ रूपैयाँ २१ पैसा खर्च गरेको छ । बजेटमाथि नगरसभाले शनिबार दफबार छलफल गर्ने नगर प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

प्रकाशित: १० असार २०७७ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App