२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम

भेरीगंगा नगरपालिकाको नगरसभामा सहभागीहरु । तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

‘विगतमा हामीले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका थियौं,’ मेयर चन्दले भने, ‘यो वर्ष कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरुमा बजेट केन्द्रीत गरेका छौं ।’ नगरपालिकाले भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुको विवरण रोजगार सुचना केन्द्रमा अद्यावधिक गरेर उनीहरुलाई निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रमा लगाउने जनाएको छ ।  

‘कोभिड १९ का कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका युवाहरुको सीपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरिनेछ,’ बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर चन्दले भने, ‘त्यस्ता व्यक्तिहरुलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी राजगारी प्रदान गर्नेछौं ।’

नगरपालिकाले स्थानीय स्तरमा रोजगारी सृजना गर्नका लागि उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरुमा निर्माण व्यवसायीको संलग्नतालाई पूर्ण निधेष गर्ने जनाएको छ । ‘उपभोक्ता समितिमार्फत निर्माण हुने योजनामा रोजगार सुचना केन्द्रमा सुचिकृत युवाहरुलाई परिचालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘उपभोक्ता समितिको नाममा निर्माण व्यवसायीलाई निषेध गर्दा पालिकाभित्रै धेरै रोजगारीहरु सृजना हुन्छ ।’

आगामी आर्थिक वर्षदेखि नगरपालिकाले कृषि व्यवसायमा पर्न सक्ने सम्भावित जोखिम कम गर्नका लागि कृषकहरुको कृषि विमा गर्ने जनाएको छ । यस्तै विपन्न, गरिब तथा श्रोत–साधन कम भएका नागरिकहरुको आय–आर्जन वृद्धिका लागि मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गर्ने, एक वर्ष पुराना पकेट क्षेत्रलाई ब्लकमा स्तरोन्नति गर्ने, उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

नगरपालिकाले कोरोना महामारीका कारण भारतसहित विदेशबाट फर्केर आएका युवाहरुलाई कृषिकर्ममा जोड्ने कार्यक्रम पनि ल्याएको छ । च्याउ खेती मौरीपालन, अदुवा, टिमुरलगायतका उच्च मुल्यका कृषि खेती गर्ने युवाहरुलाई अनुदान दिइने कार्यक्रममा उल्लेख छ । कोरोना संक्रमणका कारण घर फर्किसकेका युवाहरुलाई फेरि विदेश पलायन हुनबाट रोक्नका लागि युवा लक्षित पशुपालन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘युवा शक्ति रोजगारीका लागि बाहिर जाँदा कृषि र पशुपालन लोप हुँदै गइरहेको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कृषि र पशुपालनमा युवाशक्तिलाई आकर्षित गर्नका लागि विशेष कार्यक्रम घोषणा गरेका हौं ।’

नगरपालिकाले वडा नं. १, २, ३, ५, ६ र ७ लाई बाख्रापालन पकेट क्षेत्र र ४, १०, ११, १२, १३ लाई दुधको पकेट क्षेत्र घोषणा गरेको छ । नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्याम’मार्फत उद्यमशीलता र विभिन्न सीपविकास तालिम मार्फत बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने उल्लेख छ ।  

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा अंग्रेजी तथा स्थानीय मातृ भाषाबाट कक्षा सञ्चालन गर्नका लागि प्रोत्साहत गर्ने भएको छ । यसका साथै सबै विद्यालयलाई जंक फुड निषेधित क्षेत्र घोषणा गर्नुका साथै कक्षा कोठामा मोबाइल फोनको प्रयोगलाई पनि निषेध गरिने उल्लेख छ । यस्तै प्रत्येक माध्यमिक विद्यालयमा एक बिद्यालय एक पुस्तकालय, एक विज्ञान प्रयोगशाला, एक आइसीटी ल्याबको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ‘एक घर पाँच जडिबुटी, पाँच योग कार्यक्रम’मार्फत नगरपालिकाका सम्पूर्ण घरमा पाँच वटा जडिबुटी र पाँच वटा योग अनिवार्य गराई सम्पूर्ण जनतालाई स्वस्थ जीवन जिउने वातावरण निर्माण गर्ने उल्लेख छ । नगरपालिकाले ‘जडिबुटी परिचयात्मक’ कार्यक्रममार्फत सम्पूर्ण जनताहरुलाई जडिबुटी सम्बन्धी जानकारी गराउने, नगरपालिकाको केन्द्रमा नमुना जडिबुटी उद्यान बनाउने उल्लेख छ ।  

नगरपालिकाले आगामी आर्थिक वर्षभित्र मैनतडामा दलित संग्रहालय र राजी संस्कृति संग्रहालय स्थापना गर्ने भएको छ । ‘दलित समुदायको बाहुल्यता रहेको मैनतडामा दलित संग्रहालय र राजी जातिको बाहुल्यता रहेको क्षेत्रमा राजी संग्रहालय स्थापना गरिने छ,’ उनले भने, ‘भाषा, कला तथा संस्कृति एवं परम्पराको सम्मान, संरक्षण, प्रवद्र्धन एवम् विकाससँगै पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा हामीले लिएका छौं ।’ यस्तै अन्तर जातीय विवाहलाई प्रोत्साहन गर्नका लागि जोडी सम्मान कार्यक्रम पनि नीतिमा राखिएको छ ।  

प्रकाशित: १० असार २०७७ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App