coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गन्जला पासका लागि आएको बजेट यो वर्ष पनि फिर्ता

आगामी आर्थिक वर्षका लागि ५० लाख विनियोजन

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट यो वर्ष पनि फिर्ता भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो ।  

चालु आर्थिक वर्ष २०७६/७७ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र थप अध्ययन गर्ने योजना थियो । तर दुवै काम सुरु नै भएन । यसका लागि प्रदेशले ३ करोड बजेट विनियोजन गरेको थियो । कार्तिकबाट टेन्डर प्रक्रिया अघि बढेको भएपनि विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रद्द गर्नुपरेको बागमती प्रदेशको पर्यटन विकास आयोजनाले जनाएको छ ।  

आयोजना प्रमुख राजु क्षेत्रीका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ मा डिपिआरका लागि ५० लाख बजेट विनियोजन भएको छ । दुई वर्षसम्म निरन्तर बजेट फिर्ता गएको भएपनि यो पटक भने साउनबाट नै काम अघि बढाउने उनको भनाइ छ । ‘मंसिरपछि त्यस क्षेत्र हिउँ पर्ने भएकाले काम गर्न सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामीले कार्तिकसम्म विवरण संकलन गर्ने तयारी गरेका छौं ।’

गत वर्ष पनि यही कामका लागि आएको बजेट फिर्ता भएको थियो । गत वर्ष नेपाली सेना मार्फत गर्ने योजना अघि सारेको भएपनि समय अभावका कारण काम हुन सकेको थिएन । आयोजनाको डिपिआर बन्न नसक्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।  

पासलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि ५० करोड लाग्ने अनुमान छ । पहिलो चरणमा अध्ययन गरिने उनले बताए । अध्ययन पश्चात पासको अवस्था हेरेर अप्ठेरो ठाउँमा डोरी टाङ्ने, रड राख्ने लगायतको काम गरिने छ । यो वहुवर्षीय योजनामा राखिएको छ । पहिलो चरणमा वारपार गर्न सकिने गरी अस्थायी किसिमको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । ‘पहिले पनि त्यहाँ केही काम भएको देखिएको छ’, उनले भने, ‘भूकम्पको कारण क्षति भएकाले त्यहाँ बनाउनका  लागि स्थानीयले आग्रह गरेका हुन् ।’

यस क्षेत्रमा बाह्रै महिना हिउँ जम्ने भएकाले काम गर्न सहज नहुने होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए । भूकम्पका कारण पहिरोले क्षति गरेपछि गन्जला पास गर्न सकिएको छैन् । रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ ।  

गन्जला पास पार गर्न चाहनेले खाना र बासको व्यवस्थापन आफैँले गर्नुपर्ने हुन्छ । गन्जला पास ५ हजार २ सय मिटर उचाईमा पर्छ । लाङटाङ जाने एक हजार पर्यटक मध्ये १५ जनाले गन्जला पास गर्ने अध्यक्ष गजुरेलको भनाइ छ ।  

गन्जला पास गर्दा समूहमा जानु पर्छ । जोखिम पूर्ण यात्रा भएकाले एक्लै जान नहुने पर्यटन व्यवसायी बताउँछन् । आयोजनाले जिल्लाको अन्य परियोजना भने सम्पन्न गरेको छ । प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि पनि जिल्लामा पर्यटन क्षेत्रका विभिन्न कार्यक्रम अघि सारेको छ ।

प्रकाशित: ९ असार २०७७ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App