४ वैशाख २०८१ मंगलबार
अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी

अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्वाधारमा काम लगाएर लकडाउनको सदुपयोग गरिरहेका छन् ।  

दैनिक मजदुरी गरेर जिविका चलाउने मजदुरलाई काम अभावको मार परेका बेला झापा र इलाममा भने यो कार्यक्रमले रोजगारी मात्रै दिएको छैन, पूर्वाधारको काम पनि यही मार्फत भइरहेको छ ।  

इलामका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् ।

सूर्याेदय नगरपालिकाले लकडाउन केही खुकुलो भएका बेला बेरोजगारको हातमुख जोर्ने अवसर दिनेगरी योजना सञ्चालन ग¥यो । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगरले यहीबेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा रोजगारी दिएपछि उनीहरूलाई खाने–लाउने मेलो मिलेको हो । नगरले वडा २ को रमिते खेलमैदान निर्माणमा ६७ जना, वडा ६ कार्यालय जाने सडक र कार्यालय परिसरको सडक स्तरोन्नतिमा ४८ जनालाई रोजगारी दिएको छ । वडा १४ को हजुरे खानेपानी मुहान संरक्षणमा पनि ३७ जनाले रोजगारी पाएको नगरका रोजगार कार्यक्रम संयोजक विष्णु रिजालले बताए । ‘लकडाउनका बेला राहत वितरण गर्नुभन्दा सुरक्षाका उपाय अपनाएर रोजगारी दिनु उचित लागेर हामीले कार्यक्रम सञ्चालन ग¥यौं,’ रिजालले भने, ‘बेरोजगार युवाले महिनादिन रोजगारी पाउनुभएको छ ।’  

चालू वर्ष सूर्याेदयलाई यस कार्यक्रममा २५ लाख ९२ हजार रुपैयाँ विनियोजित छ । ‘कार्यक्रम सम्पन्न हुँदा सबै बजेट सदुपयोग हुने नै सम्भावना छ,’ संयोजक रिजालले भने, ‘तीनवटा योजनामध्ये २ वटामा ९६÷९६ प्रतिशत र एउटामा ७५ प्रतिशत रकम श्रममै खर्च भएको छ ।’  

रोङ गाउँपालिकामा चालू वर्ष १६ लाख ४ हजार रुपैयाँ आएको छ । गाउँपालिकाले ६ वटै वडामा १० योजना सञ्चालन गरिरहेको छ । अहिले सबै योजनाको काम भइरहेको र १ सय २० जनाले रोजगारी पाएको कार्यक्रम संयोजक सुरबी गुरुङले बताइन् । ‘लकडाउनले गर्दा काम गर्न ढिलो भयो तर निर्धारित समयमा काम सक्नेगरी चलिरहेको छ,’ उनले भनिन् । रोङले पहिरो नियन्त्रणका लागि तारजाली, खोप केन्द्र भवन निर्माण, खानेपानी मुहान संरक्षण र सडकका योजनामा यो रकम खर्च गरेको छ ।  

माइजोगमाई गाउँपालिकाले वडा ३ को एउटै सडकको स्तरोन्नतिमा सबै रकम खर्च गर्दैछ । २ सयजनाले रोजगारी पाउनेगरी काम सुरु हुँदैगरेको कार्यक्रम संयोजक विवेक श्रेष्ठले बताए । माइजोगमाईमा चालू वर्ष यो कार्यक्रममार्फत् २७ लाख ८९ हजार रुपैयाँ विनियोजित छ ।  

जिल्लाका फाकफोकथुमबाहेक सबै नगर र गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम चल्दैछ । यी स्थानीय तहमा सडक, कुलो, सिँचाइ, भवनलगायतमा बेरोजगारहरूलाई महिनादिनसम्मको रोजगारी सिर्जना गरिएको स्थानीय तहहरूले जनाएका छन् । चालू वर्ष इलाम नगरपालिकामा १० लाख, देउमाई नगरमा १७ लाख ८१ हजार र माई नगरमा १३ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ । चुलाचुली गाउँपालिकामा १६ लाख ७ हजार, माङ्सेबुङमा १० लाख र सन्दकपुर गाउँपालिकामा  ३८ लाख २८ हजार रुपैयाँ विनियोजित छ ।  

झापामा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरु सडक, खानेपानी बनाउन थालेका छन् । सरकारले दक्ष र अदक्ष कामदारका लागि श्रम वापतको भुक्तानी दिने भएपछी जिल्लाका स्थानीय तहले छनौट गरेर काम लगाएका हुन् । झापाका धेरै जसो स्थानीय तहले अदक्ष कामदारका लागि दैनिक ५ सय ४५ र दक्ष कामदारका लागि ७९० रुपैयाँ दिने भएका छन् । कमल गाउँपालिका रोजगार संयोजक भरत तिवारीले केन्द्रले दैनिक ५ सय १७ रुपैयाँ तोके पनि जिल्ला दर रेटका आधारमा दैनिक ५ सय ४५ रुपैयाँ दिने तय भएको बताए । रोजगार कार्यक्रम अहिले गाउँपालिकाका ३ वटा वार्डमा सन्चालन भइरहेको छ ।  

छनौट भएकाहरुले खानेपानी, सडक निर्माणमा खटिएका छन्, उनले भने, पहिले वार्डमा काम लगाएका छौ अनि स्थानीय तहमा काम लगाएका छौ । कमल गाउँपालिकाका यस बर्ष २१ लाख रुपैयाँ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुटाइएको छ । गौरादह नगरपालिकाले पनि छनौट भएका दक्ष र अदक्ष कामदारका लागि खानेपानीको पाइप बिस्तारमै लगाएका छन् । ३, ७ र ८ नम्बर वडामा खानेपानीको काम भइरहेको छ । यस्तै कम्पाउण्ड वाल निर्माणमा समेत खटाएको छ । गौरादहमा १ सय १३ जना श्रमिक काममा लाग्दै छन् । गौरादहका रोजगार संयोजक पुुष्प भण्डारीले स्थानीय बिरोजगारहरुलाई गाउँमै रोजगारीको वातावरण बनेको बताए । कतिपय बैदेशिक रोजगारीबाट फर्किएका पनि छन्, उनले भने, गाउँमैै श्रम गर्न पाउने वातावरण पनि बन्यो । गौरादह पनि अदक्षका लागि ५ सय ४५ र दक्षका लागि ७ सय ९० रुपैयाँ दिने छ ।

प्रकाशित: ८ असार २०७७ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App