२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

विदेशका नेपाली ल्याउन हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍याे उडान तालिका र भाडादर

फाइल तस्बिर

काेराेना महामारीका कारण विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले चार्टर्ड उडानको तालिका र भाडादर तय गरेकाे छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालयले यही जुन १६ देखि २० सम्म विदेशका नेपाली ल्याउन चार्टर्ड उडानको तालिका साेमबार सार्वजनिक गरेको हो ।  

उडान तालिकाअनुसार पहिलो उडान श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तव्यमा पहिलो उडानको ३ सय ८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ ।  

त्यसैगरी बंगलादेशको ढाकाबाट उडान गर्न १ सय ६५ डलर भाडा निर्धारण गरिएको छ । युएईको आबुधावीको भाडा ३ सय ६५ डलर तोकिएको छ ।

त्यस्तै साउदी अरेबियाको दमममाबाट ४६५ डलर तोकिएको छ । सिंगापुर र मलेसियाको क्वालालम्पुरका लागि ३ सय ७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  

सरकारको निर्णयअनुसार कोरोना महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरूप उडान तालिका बनाइएको हिमालय एयरलाइन्सले जनाएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको छ।  

त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार चार्टर्ड उडानमार्फत बंगलादेशबाट २ सय ५८ नेपालीलाई स्वदेश ल्याएको थियो ।  

 

प्रकाशित: १ असार २०७७ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App