२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा खानेपानी कार्यालय भवन । तस्बिरः महेश्वर

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।  

संस्थाले फागुन, चैत र जेठको महसुलमा लाग्ने जरिवाना र व्याजमेत छुट दिने निर्णय गरेको अध्यक्ष ओमबहादुर खड्काले बताए । उनका अनुसार चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि फागुनदेखिकै महसुल उठ्न बाँकी छ । ‘सँधै अघिल्लो एक÷दुई महिनाको महसुलसमेत एकैचोटी उठ्ने गरेको थियो’ अध्यक्ष खड्काले भने ‘त्यसैले फागुनदखिकै महसुल उठ्न बाँकी थियो, यसैबेला लकडाउन सुरु भएपछि जेठसम्मकै बाँकी छ । त्यसैले फागुन, चैत र जेठको जरिवाना र त्यसमा लाग्ने व्याजसमेत छुट गर्ने निर्णय गरेका छौं ।’

सदरमुकाममा ३ दर्जन सरकारी तथा गैरसरकारी संघसंस्थासमेत गरी २ हजार ४ सय ३७ उपभोक्ता संख्या रहेको संस्थाले सर्वसाधारणलाई मासिक न्यूनतम १ सय ५० रुपैंया शूल्क लिदै आएको छ । सरकारी तथा सामुदायिक संस्थाको हकमा भने पानीको परिमाणको आधारमा शूल्क लिने गरिएको छ । एक महिनाको मात्र छुट दिँदा पनि संस्थालाई १० लाखभन्दा बढी घाटा हुने भए पनि कोरोना कहरमा उपभोक्तालाई राहत महसुस गराउन यस्तो सहुलियत दिइएको अध्यक्ष खड्काले बताए ।  

संस्थाका कोषाध्यक्ष किरण पाण्डेले लकडाउनको कहरमा त्रियुगा नगरपालिका र वडा नं. १० लाई नगद सहयोगसमेत गरेको बताए । कोरोना कहरमा जनतालाई राहत वितरण गर्न स्थापना गरिएको त्रियुगा नगरपालिका र संस्थाको कार्यालय रहेको त्रियुगा १० नं. वडाको राहत कोषमा संस्थाले नगद सहयोग प्रदान गरेको हो । नगरपालिकालाई १ लाख ४५ हजार ५ सय ५५ र वडा कार्यालयको कोषलाई ५५ हजार ५ सय ५५ गरी २ लाख १ हजार १ सय ५० रुपैंया सहयोग प्रदान गरेको कोषाध्यक्ष पाण्डेले बताए ।  

यसैबीच संस्थाले असार १ गतेदेखि महसुल संकलन गर्न कार्यालय सञ्चालन र भुक्तानी काउन्टर खुल्ला गरेको छ । लकडाउन सुरु भएसँगै बन्द भएको कार्यालय र भुक्तानी काउन्टर सोमबारदेखि सञ्चानमा ल्याइएको हो । काउन्टर सञ्चालनमा ल्याएसँगै भुक्तानी संकलन कार्य सुचारु भएको सचिव सन्तोष खड्काले बताए । लकडाउन खुकुलो हुँदै गएपछि सामाजिक दुरी कायम गर्दै काउन्टर खोलेर महसुल संकलन गर्न थालेको सचिव खड्काले बताएका छन् ।  

त्रियुगा खानेपानी योजना संस्था ०५३ सालदेखि सञ्चालन सुरु भएको हो । एसियाली विकास बैंकको सहयोगमा खानेपानी तथा ढल निकास विभागले उपलब्ध गराएको ऋण सहयोगमा निर्मित समितिबाट सदरमुकाम केन्द्रित त्रियुगा नगरपालिका ९, १०, ११ र १२ नं. वडाबासी खानेपानीबाट लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका रातमाटे, गहिरुन, बोक्से, गाईघाट, परानो गाईघाटसम्मका स्थानीयले सो समितिबाट शुद्ध खानेपानी उपभोग गर्दै आएको समतिले जनाएको छ ।

प्रकाशित: १ असार २०७७ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App