१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

४२ जिल्लामा फौजी किराको प्रकोप

मन्त्रालय भन्छ, नियन्त्रण प्रयास भएको छ

नयाँ जातको किरा, लकडाउन र विषादी अभाव नियन्त्रणमा मुख्य समस्या ।

क्याप्शन

गत वर्ष मकै बालीमा पहिलोपटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिएको छ । एक वर्षअघि पहिचान भएको यो किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञ बताउँछन् । यसअघि जानकारी नै नभएको नयाँ जातको किरा बालीमा फैलिएका बेला लकडाउनका कारण विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

सरकारका अधिकारी भने यो फैलावटलाई सामान्य ठान्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तथा अमेरिकन फौजी किरा नियन्त्रणका लागि गठित प्राविधिक समितिका संयोजक हरिबहादुर केसी मन्त्रालयले यही समयमा फौजी किराको प्रकोप फैलिने पूर्वानुमान गरेको बताउँछन् । सोही अनुमानका आधारमा किसान तथा प्राविधिकलाई आवश्यक तालिम तथा सचेतना प्रयास हुँदै आएको उनको भनाइ छ । ‘हामी लकडाउनकै बेला पनि नियमित रुपमा भर्चुअल बैठकमार्फत नियन्त्रणबारे छलफल चलाउँदै आएका छौं,’ उनले भने, ‘आवश्यक विषादी आयात र भण्डारण अवस्था पर्याप्त छ तर लकडाउनका कारण केही पहाडी जिल्लामा पठाउन गाह्रो भएको छ ।’  

फौजी किरा नियन्त्रणका लागि आवश्यक विषादी व्यवस्थापन गर्न मन्त्रालयले व्यवसायीसँग निरन्तर समन्वय गर्दै आएको बताउँछन् । 

प्रवक्ता केसीले तयारी गरेको बताइरहँदा अहिले यो फैलावट कुन रुपमा छ र यसको क्षतिको अवस्था कस्तो छ भन्ने जवाफ सरकारकै निकायसँग छैन । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईं अहिले फौजी किराको प्रकोप ४० देखि ४२ जिल्लामा फैलिएको बताउँछन् । तर क्षतिको विवरण भने उनीसँग पनि छैन । दुई साताअघि नागरिकसँगको कुराकानीमा हरेक १५ दिनमा तथ्यांक अद्यावधिक हुने गरी संयन्त्र बनाएको उनले बताएका थिए । ‘अहिले यति जिल्लामा प्रकोप फैलियो भन्ने जानकारी मात्र पाइने हो, क्षतिको तथ्यांक आइसकेको छैन, प्रारम्भिक जानकारीलाई हेर्दा करिब अहिले नै १५ हजार हेक्टरभन्दा बढीमा यसले प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।’  

तर दुई हप्तापछि पनि उनीसँग अद्यावधिक तथ्यांक छैन । ‘हामीले सबै प्रदेशमा तथ्यांक मागेको हो तर पाउन सकिएको छैन, म अहिले पनि त्यसकै फलोअपमा छु,’ उनले भने, ‘हामीले गर्ने आग्रह हो, आदेश दिन मिल्दैन तथ्यांक पाउन हामीलाई पनि गाह्रो प¥यो । अब आफैं एक–एक गरेर कृषि ज्ञान केन्द्रमा फोन गर्नुपर्ने अवस्था आयो ।’

उनी अमेरिकन फौजी किराले पु¥याएको क्षतिको पोहोरकै तथ्यांक नभएको बताउँछन् । ‘तथ्यांक संकलनको अप्ठेरोका कारण पोहोर पनि तथ्यांक यकिन भएन । कतै ५० प्रतिशतभन्दा बढी नोक्सानीको कुरा आयो, कतै १० प्रतिशतसम्म क्षति भयो भन्ने पनि छ ।’

बढी प्रभावित भनिएका प्रदेश १ बाहेक कुनै पनि प्रदेश अन्तर्गतको भूमि व्यवस्था तथा कृषि मन्त्रालयसँग यसको प्रारम्भिक तथ्यांकसमेत छैन । प्रदेश १ मा पनि गत वैशाख मसान्तसम्मको मात्र तथ्यांक छ । प्रदेश १ भूमि व्यवस्था तथा कृषि मन्त्रालयका बाली संरक्षण अधिकृत मुकेश यादव त्यहाँ १० हजार ६ सय ५५ हेक्टरमा यसले प्रभाव पारेको बताउँछन् । उनी कृषि ज्ञान केन्द्रमार्फत नियन्त्रणमा काम गरिरहेको बताउँछन् ।  

प्रदेश २ भूमि व्यवस्था तथा कृषि मन्त्रालयका बाली संरक्षण अधिकृत मनिषकुमार पाल प्रदेशका पाँच जिल्लामा यसले व्यापक प्रभाव पारे पनि क्षतिको विवरण संकलन नभएको बताउँछन् । ‘लकडाउन र कोरोना त्रासले फिल्डमा गएर काम गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘अहिले प्रकोप नियन्त्रणका लागि गठित कार्यदलले स्थानीय तहसँग समन्वय गरेर योजना बनाइरहेको छ । तथ्यांक संकलन बिस्तारै गर्दै जान्छौं ।’

वाग्मती प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयसँग यसको प्रभावबारे कुनै पनि तथ्यांक छैन । यससम्बन्धी तथ्यांक राख्ने जिम्मेवारी पाएका वरिष्ठ बाली संरक्षण अधिकृत केशव खनालले भने, ‘हामीकहाँ अहिलेसम्म कुनै तथ्यांक आएको छैन ।’  

प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्रालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी आधा दर्जन जिल्लामा यसले क्षति पु¥याएको जानकारी आए पनि क्षतिको तथ्यांक आइनसकेको बताउँछिन् । उनले भनिन्, ‘कृषि ज्ञान केन्द्रमार्फत तथ्यांक संकलन गरिरहेका छौं, दुई–चार दिनमा सम्पर्क गर्नुस् ।’

वैशाखको सुरुदेखि नै फैलिन सुरु गरेको अमेरिकन फौजी किराले गरेको क्षतिबारे प्रारम्भिक तथ्यांकसमेत नहुनुले यसको प्रकोप नियन्त्रणमा सम्बन्धित निकायको चासो कति छ भन्ने स्पष्ट हुन्छ ।  

अझ तराई क्षेत्रमा त यसको प्रभाव वर्षभरि देखिँदै आएको छ । नजिकबाट अनुसन्धान गर्दै आएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक अजयश्रीरत्न बज्राचार्य वर्षभरी यसले आफ्नो प्रभाव छाड्दै आएको बताउँछन् । ‘यो अलि चिसो समयमा नबाँच्ने किरा भए पनि हामीले तराईमा जाडो महिनामा पनि अध्ययन ग¥यौं, हिउँदे मकैमा पनि देखियो,’ उनले भने, ‘उच्च र मध्यपहाडी भेगमा हिउँदमा नबाँच्ने भए पनि तराईबाट फेरि फैलिन्छ ।’  

उनी यो पुतली अवस्थामा एक रातमा सय किलोमिटरसम्म उडेर बसाइँ सर्ने गरेकाले भारतबाट पनि सहजै नेपालमा आउने गरेको बताउँछन् ।  

मकैको माटोमुनिको भागबाहेक घोगासम्म खाने यो किराले लार्भा अवस्थाका दुई हप्तामा क्षति पु¥याउने गरेको पाइएको छ । वरिष्ठ वैज्ञानिक बज्राचार्य एउटा पुतली अवस्थाको किराले हजारदेखि १५ सयसम्म फुल पार्ने गरेको बताए । ‘एउटा पुतलीले धेरै अण्डा पार्ने हुनाले यसको विस्तार छोटो समयमै हुन्छ र यसलाई नियन्त्रण गर्ने भनेकै लार्भा अवस्थामा हो,’ उनले भने, ‘जब बिस्तारै हुर्कंदै जान्छ, त्यसलाई कुनै पनि विषादीले नियन्त्रण गर्न सकिँदैन ।’

अमेरिकन फौजी किरालाई कतिपय अवस्थामा नदेखिने तर क्षति गर्न सुरु गर्ने भएकाले त्यही अवस्थामा विषादी प्रयोग गर्नुपर्ने बज्राचार्यको सुझाव छ । ‘यसमा सरकारले सफ्ट खालका विषादी सिफारिस गरेको छ । बिरुवामा पर्याप्त मलजल पुगेको अवस्थामा यसको नियन्त्रण गरिँदा उत्पादनमा असर नपुग्न सक्छ,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न सके सामान्यतया १० देखि १५ प्रतिशत क्षतिमै रोक्न सकिन्छ ।’  

उनले अहिले धेरैतिर यसको प्रकोप फैलिएको जानकारी आए पनि धेरैतिर किसानमा जानकारी अभावले अन्य किरालाई पनि अमेरिकन फौजी किरा भनेको पाइएको बताए । उनले भने, ‘धादिङलगायत जिल्लामा पनि यसको प्रकोप फैलिएको छ तर हामीलाई प्राप्त फोटो हेर्दा अन्य किरा रहेछ ।’

किरा नियन्त्रणका लागि अहिलेसम्म विषादी प्रयोग गर्न सिफारिस गरिए पनि जैविक उपचारका लागि पनि अध्ययन भइरहेको उनले बताए । ‘यसको नियन्त्रणका लागि शत्रु जीवबाट आक्रमण गराउने एउटा उपाय हो । अहिले ट्राइकोग्रामा र टेलेनोमस नामक बारुला जातका रैथाने किराको पहिचान भएको छ,’ बज्राचार्यले भने, ‘प्रयोगशालामा यसको उत्पादन भइरहेकाले तयारीपछि यसलाई अमेरिकन फौजी किराको प्रकोप भएको ठाउँमा छाड्ने योजना छ ।’ त्यसका अतिरिक्त अहिले नेपालमै यसलाई असर गर्ने भाइरस र ब्याक्टेरियासमेत पाइएकाले यी किरामा रोग फैलाउन सकिने देखिएको बताए ।

बज्राचार्य अमेरिकी मुलुकमा पहिचान भए पनि अहिले यसले अमेरिकी मुलुकमा कम क्षति पुर्याएको बताउँछन् । उनी भन्छन्, ‘यसका लागि अमेरिकी मुलुकमा जस्तो तत्काललाई मकैको वंशाणुगत गुण नै बदल्न नसके पनि यसले मन नपराउने मकैको पहिचान गर्न सके क्षति रोक्न सकिन्छ ।’

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App