१६ चैत्र २०८० शुक्रबार
अर्थ

सम्झौता अनुसार काम नगरेको ठेकेदारलाई रकम निकासा सिफारिस

मेयर र वडाअध्यक्षको मिलोमतोमा निकासा दिएको भन्दै स्थानीयद्वारा विरोध

डोल्पाको एक सडक निर्माणमा सम्झौता अनुसारको काम नभएको अवस्थामा ठेकेदारलाई रकम निकासा सिफारिस गरिएको खुलासा भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ३ सुँपानीदेखि ४ रंगगाउँ सम्मको निर्माणधिन सडकमा गाउँलेसंग भएको सम्झौता अनुसार कामै नभएको अवस्थामा मेयर ओमबहादुर बुढा र वडाअध्यक्ष श्रीदल बुढाले ठेकेदारसंग मिलोमतो गरेर रकम निकासा सिफारिस गरेको पाइएको हो।

गाउँलेसंग गरेको सम्झौता अनुरुप नभई ठेकेदारले आफुखुसी काम गरेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर र वडाअध्यक्ष बुढाले ठेकेदारसंगको मिलोमतोमा रकम निकासा सिफारिस गरेको भन्दै रंगगाउँका स्थानीयले विरोध गरेका छन्।

वडा ४ रंगगाउँका वडासदस्य राजेन्द्र बुढाको अगुवाईमा  नेकपा जिल्ला कमिटि सदस्य रन्जित बुढा नेकपा गाउँइकाई कमिटि सदस्य सुर्यलाल बोहरा नेकपा गाउँइकाई कमिटि सदस्य हरिमान बुढा नेका जिकास सदस्य गोन्द्रि धरला स्थानीय दत्त बुढा रतनसिंह धरला रमेश बुढा जनचन्द्र बुढा सन्देश बुढा अमरजित बुढा भरत धरला र हरिप्रसाद बुढा लगायतले पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन।

कर्णाली प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष ०७६/०७७ मा सुँपानीदेखि रंग गाउँसम्म मोटरबाटो निर्माणको लागि एक करोड रुपैया जिल्लास्थित भौतिक पुर्वाधार विकास कार्यालय दुनैमार्फत प्राप्त भएको थियो। गत वर्ष ०७६ कार्तिक २३ गते वडा ४ रंगगाउँका अध्यक्ष श्रीदल बुढाको अध्यक्षतामा कर्णाली प्रदेश माननीय बदमीकुमारी बोहरा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा भौतिक पुर्वाधार विकास कार्यालय दुनैका प्रमुख योगेन्द्र धरला र प्रवेश एण्ड प्रभात निर्माण सेवा दुनैका ठेकेदार दुधसिं कार्की र गाउँले वीच भएको सम्झौतामा सुँपानीदेखि गाउँसम्मको ट्रयाक आवश्यकता अनुसार खोल्ने र बाँकी रंगमा पर्ने माथिमानादेखि ठाँटीसम्मको अप्ठ्यारो चट्टानी भीर खण्डमा ट्रयाक खोल्ने सम्झौता भएको पत्रकार सम्मेलनमा सदस्य राजेन्द्र बुढाले वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ।

विधुतपोल भएको डाँडादेखि जीरोविन्दु मानि क्रमश ७ मिटर चौडा मोटर बाटो निर्माण गर्ने नक्साले भ्याएसम्म गाउँलेको समन्वयमा  चटनी भीर खण्ड निर्माण गर्ने सम्झौता सहमति भएकोमा ठेकेदारले पुरानै बनाएको बाटोमा सजिलो खण्डमा स्तरउन्नती गरि काम सम्पन्न भएको भनेर मेयर र वडाअध्यक्षसंग मिलोमतो गरि  रकम निकासा सिफारिस लगेकाले आफुहरु विरोधमा उत्रनु परेको सदस्य राजेन्द्र बुढाले बताए।

आफुहरुले गाउँसम्म बाटो निर्माणको लागि ०७६ कार्तिक २१ गतेमा पनि भौतिक पुर्वाधार विकास कार्यालय दुनैमा ध्यानाकर्षण पत्र बुझाएको बुढाले बताए। गाउँलेसंगको सम्झौता बमोजिम काम अगाडि नबढाए रंगगाउँले आन्दोलनमा उत्रने र निर्माण ब्यवसायीका उपकरणहरु नियन्त्रणमा लिनुका साथै कानुनी उपचारको खोजी गरिने स्थानीय दत्त बुढाले बताए। आफ्नै गाउँका मेयर र वडाअध्यक्षले गाउँको विकासमाथि गद्दारी गरेर ठेकेदारसंग मिलोमतो गर्नु राम्रो नभएको गोन्द्रि धरलाले बताए।

यता नगरपालिकाका मेयर ओमबहादुर बुढाले गाउँलेहरुले आफुलाई प्रेस विज्ञाप्ति दिएको बताउदै आफुले गलत मनसायले नभई गाउँलेकै भलाईको लागि भएको कामको पेश्की रकम निकासाको लागि मात्र सिफारिस गरेको बताए। उनले भने ठेकेदारसंग मेरो कुनै गलत मनसायले मिलोमतो नभई बाँकी रहेका सडक खण्ड सम्झौता अनुरुुपको काम गर्ने सहमतिमा नै भुक्तानी नभई पेश्कीको लागि निकासा सिफारिस दिएको हुँ।

सुँपानीदेखि रंग गाउँसम्मको सडक निर्माणको जिम्मेवारी पाएको मालिका कन्ट्रक्सन र कार्की निर्माण सेवा जेवीका प्रतिनिधि लक्ष्मण शाही र दुधसिहं कार्कीले भने आफूहरुले एक करोडको अङ्कमा खुलेको ठेक्कामा प्रतिस्पर्दा गरेर २७ लाखमा लगेको र प्राविधिक मुल्याङ्कनको आधार गर्नु पर्ने काम पुरा गरि भुक्तानीको लागि सिफारिस लगेको बताए।

*खण्डन  

गएको जेठ २५ गते नागरिक अनलाईनको अर्थ पेजमा प्रकाशित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी  नगरपालिकाको ‘सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई रकम निकासा सिफारीस’ शीर्षकको समाचारप्रति गम्भिर ध्यानकार्षण भएको छ। यो समाचारमा सत्यता नभएको जनाउँछु। ठेकेदारसँगको मिलेमतो छ भनेर नगरप्रमुखको नाम जोडेर नगर सरकारको बदनाम गर्ने प्रयास भएको छ। उक्त सडकको निर्माण कार्यको मूल्यङ्कनको आधारमा ५० प्रतिशत मात्र पेश्की रकम दिन सिफारीस गरेको हो। सडकको इष्टिमेट अनुसार गुणस्तरीय र छिटो कार्य गर्न निरन्तर पटकपटक ताकेता, अनुगमन गर्ने र दवाव दिने गरिरहेको छ।  

ओमबहादुर बुढा, नगरप्रमुख ,त्रिपुरासुन्दरी नगरपालिका डोल्पा

 

प्रकाशित: २५ जेष्ठ २०७७ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App