१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेश जाने चिया गोदाममा

पाँचथरको पाथीभरा टिस्टेटको बगानमा चिया टिप्न गएका मजदुरहरू । तस्बिर : गिरिराज/नागरिक

अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।

युरोप, अमेरिका लगायतका विभिन्न देशमा जाने चिया गोदाममै थन्किएको छ । चियाका अन्तर्राष्ट्रिय बजारमा नमुना समेत पठाउन नसकिएको बताइएको छ । विभिन्न गुणस्तरमा उत्पादन हुने चियाको विदशेमा राम्रो बजार थियो । चिया बेच्न नपाउँदा आर्थिक रुपमा समस्या हुन थालेको बताइएको छ ।

कोरोना भाईरसका कारण भएको बन्दाबन्दी (लकडाउन)का कारण सुरुवाती चिया पत्ति टिप्न नै समस्या भएको थियो । ‘फस्ट प्लस’ चियापत्ति टिप्ने बेलामा लकडाउन सुरु भएको थियो । सरकारले उद्योग कारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै चियापत्ति टिप्न थालिएको थियो । चिया धमाधम प्रशोधन गरिएपनि प्याकिङ गरेर गोदाममा राखिएको छ ।

ठुला टिस्टेट कम्पनी, सहकारी तथा साना किसान र साना कम्पनीहरूले उत्पादन गरेको चिया खपत हुन सकेको छैन् । यहाँ उत्पादन भएको धेरै जसो चियाको बजार अमेरिका तथा युरोप रहेको छ । केहीँ आन्तरिक र भारतमा चिया खपत हुने गरेको थियो । आन्तरिक तथा वाह्य व्यापार ठप्प हुँदा समस्या आएको किसान बताउँछन् ।  

क्ञ्चनजंघा टिस्टेट तथा रिसर्च प्राली, पाथीभरा टिस्टेट, नर्थ नेपाल, लेकाली चिया लगायतका साना तथा ठुला चिया उत्पादकहरूले मुख्य सिजनमा उत्पादन गरेको चिया बिक्री हुन नसकेको हो । ‘कोरोनाका कारण हाम्रो आफ्नै र साना किसानको गरेर एक करोड रुपैयाँ बराबरको चियापत्तिमै क्षति भयो । अहिले ३० हजार केजी चिया गोदाममै छ । बल्ल ‘नमुना चिया’ काठमाडौंसम्म पठाइयो । तर चिया बिक्री गर्न पाएको छैन्’ जिल्लाको अग्रणी टिस्टेट कञ्चनजंघाका प्रबन्धक निरानन्द आचार्यले भने, ‘विदेशी बजारमा पुग्ने चिया गोदाममै थन्किदा कम्पनी, कर्मचारी, मजदुर तथा साना किसानलाई ठुलो असर पुगेको छ ।’

यतिबेला धमाधम चिया टिप्ने तथा प्रशोधन गर्ने काम भइरहेको छ । विदेशी बजारबाट राम्रो मूल्य हासिल गर्ने उत्पादकहरू समस्या परेको बताउँछन् । अफ्ठयारोमा परेका चिया उत्पादकहरूलाई राज्यले हेर्नु पर्ने पाथीभरा टिस्टेटका सञ्चालक समिति सदस्य मिलन गिरी बताउँछन्  । ‘उत्पादन गरेर थन्काउने काममात्र भएको छ । विश्व नै कोरोनाले आक्रान्त बनेको बेला हामीलाई ठुलो असर पुग्यो । यसतर्फ सरकारले केहीँ सोच्नु पर्छ’ उनले भने ‘एक करोड रुपैयाँ बराबरको चिया थन्किएर बसेको छ ।’

जिल्लाका विभिन्न ठाउँमा चिया खेती हुने गरेको छ । यहाँ उत्पादन भएको चिया गुणस्तरीय मानिन्छ । विदेशीहरू हरेक बर्ष यहाँ चिया बगान हेर्न आउँछन् । विश्वमा ख्यातिप्राप्त संस्थाले आर्गानिक उत्पादनको प्रमाणपत्र पनि दिएका छन् । चिया उत्पादनदेखि बिक्रीसम्म खटिनेलाई असर पुगेको बताइएको छ । 

‘चिया नबिक्दा मजदुर कर्मचारीलाई तलब दिनका साथै इन्धन जुटाउन, विद्युत भुक्तानी गर्न समस्या भएको छ । घरेलु मजदुरदेखि बिक्री वितरणमा खटिने कर्मचारी तथा कम्पनीलाई असर परेको छ’ पाथीभरा टिस्टेका अध्यक्ष उदय योङ्याले भने, ‘कहिले परिस्थिति सहज हुन्छ र चिया विदेश पठाउन सकिन्छ भनेर कुरेर बसेका छौं । चिया उत्पादनको काम धमाधम भइरहेको छ ।’ तत्कालीन समयमा खर्च जुटाउन समस्या हुने अवस्था आएको बताइएको छ । चिया बिक्री हुन नसक्दा उत्पादन तथा विक्रि वितरणसँग जोडिने सबै मजदुर र कर्मचारीलाई असर पुगेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App