१७ मंसिर २०७९ शनिबार
अर्थ

जात्रा मनाउन नपाई खेतीमा

लकडाउनको प्रभाव

भक्तपुरमा बिस्का : जात्रा । फाइल फोटो

लामो समदेखिको लकडाउनका कारण सांस्कृतिक नगरी भक्तपुरका महत्वपूर्ण जात्रा नमनाई सकिएको छ । जेष्ठ शुक्ल षष्ठीको दिन भक्तपुरमा सिथि नख पर्व मनाएसँगै नेवार समुदायको वर्षभरिका चाड सकिएका छन् । जात्राको शहरले समेत चिनिने भक्तपुरमा घन्टाकर्ण पर्वबाट चाड शुरू भएर सिथिलाई वर्षको अन्तिम चाडका रूप लिइन्छ ।  

नेवार समुदायको जीवनशैली र जात्रा आपसमा जोडिएको हुन्छ । फुर्सदमा  जात्रामा रम्न उनीहरू सिजनमा खेतीपातीका काममा मस्त रहन्छन् । त्यसैले सिथी नख पर्व सकिएलगत्तै उनीहरू धान रोपाइमा जुटिसकेका सस्कृतविद् ओम धौभडेलले बताए ।  

साउनमा (घण्टाकर्ण पर्व) दानव जलाउने दिन महादेवको नयाँ उत्पतिसँगै वर्षको नयाँ पर्व शुरू हुन्छ । धौभडेल भन्छन, ‘बिहीबारको सिथि नख पर्व सकिएसँगै केही समयलाई जात्रा सकिएको छ ।’  

नेवार समुदायले मनाउँदै आएका बिस्केट जात्रा यसपाला कोरोना त्रासका कारण नमनाई सकियो । लकडाउनले गर्दा भक्तपुरका जात्राहरू बिस्केट, नवदुर्गा नाच, त दिन, मातातीर्थ औंसी र घोडेजात्रा मात्र होइन, काठमाडौंको सेतो मच्छिन्द्रको जात्रा र ललितपुरको रातो मच्छिन्द्रका जात्रा समेत प्रभावित भए ।    

लकडाउनका कारण प्रमुख जात्रा भव्यताका साथ नमनाईकनै सकिएकामा  किसान खिन्न देखिएका छन् । जात्रासँग जीवनको नाता छ । जात्राको क्यालेण्डर र जीवनशैली आपसमा जोडिएको हुन्छ । जात्रा रोकिँदा जीवन प्रभावित बन्छ ।  

‘जात्रामा रमाएर भोजभतेर खाएर सकिएको भए भिन्नै खेतीमा जानुअघिको उत्साह बेग्लै हुन्थ्यो’, स्थानीय प्रेमकृष्ण खरबुजाले भने, ‘अव खेती सकाएर जात्रा मनाउने आशामा छौ ।’ अबको दुई महिना उनीहरू खेतीपातीमा व्यस्त रहन्छन् ।  

लकडाउनका कारण जमघट गर्न नमिलेपछि भक्तपुरको प्रमूख जात्राका रूपमा चिनिने बिस्केट प्रभावित बन्यो । एक सातासम्म चल्ने यस पर्वमा केटाकेटी वृद्धावृद्धा सबै रमाउँथे ।

‘यस वर्ष न रथ तानियो न लिंगो नै ठडियो’, धौभडेल भन्छन, ‘किसानहरू सिन्दुरे जात्राको रंगमा नरंगी खेतीमा निस्केका छन् ।’  

दुई महिना लामो लकडाउनका कारण भक्तपुरका प्रमुख जात्रा बिस्केट पर्वसँगै  नवदुर्गा नाच, त दिन, मातातीर्थ औंसी, घोडेजत्रा, काठमाडौको सेतो मच्छिन्द्रको जात्रा र ललितपुरको रातो मच्छिन्द्र जात्रा समते प्रभावित बन्न पुग्यो ।  

‘जात्रापर्वले किसानलाई नयाँ उत्साह र उमंग प्रदान गर्छ’, धौभडेल भन्छन, ‘त्यसैले यस पटक किसान केही खिन्न देखिएका छन् ।’  

यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको अर्का संस्कृतविद् तेजेश्वरबाबु ग्वंगः सुनाउँछन् । ‘कतै कथा जोडिएका छन्, कतै इतिहास,’ उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिको छ ।’ उनी यात्रामय जीवन जात्रामय जीवन भन्न रुचाउँछन् ।  

‘सस्कृतको यात्राबाट जात्रा शब्दको उत्पत्ति भयो,’ उनी सुनाउँछन्, ‘त्यसैले यात्रामय जीवन, जात्रामय जीवन ।’ जात्राविना जीवन चल्न नसक्ने उनको बुझाइ छ । भक्तपुरको समग्र जीवन जात्रामय भएको उनले सुनाए ।  

किसानहरू चाँडै जात्रा मनाउन पाउनेमा आशावादी छन् । सिथी पर्व सकेर खेतीमा गएका किसान साउन लागेपछि जात्रामा फर्कने सोचमा छन् । किनकि थुप्रै जात्रा फेरि आउँदै छन् । धान रोप्ने र गोड्ने काम सकिएपछि जात्रामा फर्कने उनीहरूको चाहना छ ।  

‘किसानहरू कोरोना चाँडै सकियोस् भन्ने कामनाका साथ खेतीमा लागेका छन्’,  संस्कृतविद धौभडेल भन्छन, ‘हामी लकडाउनमा जात्रा मनाउन नपाएकोमा क्षमा पूजा गरेर फेरि जात्राको जीवनमा फकन्छौं ।’  

भक्तपुरमा मनाइने महत्वपूर्ण जात्रा      

गथामुग चन्हे–टोलटोलमा छ्वाली र नकर्टका मूर्ति बनाई ठड्याउने र साँझपख बाजागाजा सहित दोबाटो वा चौबाटोमा जलाउने, तान्त्रिक विधाअनुसार भूतप्रेत पन्छाउने गरिन्छ । यसलाई वर्षको पहिलो चाड मानिन्छ ।  

गुलाँधर्म आरम्भ–यो दिनबाट एक महिनासम्म बौद्ध सम्प्रदायका भक्तजन वौद्ध धर्ममा आधारित गुलाँबाजा तथा सिङ बाजा बजाई विहार, स्तुप तथा नगरपरिक्रमा गर्छन् । यसमा हिन्दू समुदायको पनि सहभागिता रहन्छ । धार्मिक सद्भावको अनुपम नमूना देखिन्छ ।  

गुनीपुन्ही– रक्षाबन्धन र जनै पुन्ही, नौथरीका गेडागुडीबाट बनेको क्वाँटी, रोटी खाने गरिन्छ । त्यसैगरी खेतमा भ्यागुतालाई भात खुवाउने र तलेजुबाट घेन्ताघिसी आउने र नौ वटा पूर्व फर्केका धारामा मेला लाग्छ । नगरकोट महादेव पोखरीमा पनि मेला लाग्छ ।  

सापारु– वर्षभरि मृत्यु भएका व्यक्तिको नाममा सां–ताहासां, दोकसां, गाई. बनाई घेन्ताघिसी नाच सहित नगर परिक्रमा गर्ने । यसलाई गाईजात्रा पनि भनिन्छ ।  

सकिमना पुन्ही–टोलटोलमा देवदेवीका अगाडि नसाः व्वयेगु, हरिमन्दी पर्व, दाफा भजन र यातु महादेवको मेला लाग्छ ।  

बिस्काः जात्रा– बिस्का: (बिस्केट) भक्तपुरको प्रमुख जात्रा । चैत्र शुक्ल मसान्तको चार दिनअघि टौमढी भैरवनाथको रथ तानेर शुरू हुन्छ । अनि चैत मसान्तमा लिंगो ठडाएर वैशाख १ गते ढालिन्छ । यसक्रममा योसीं थानेगु, योसीं क्वथेगु, बाराही, इन्द्रायणी, महेश्वरी, महाकाली, ब्रम्हायणी छुम्हगणेश लगायतको जात्रा, हुन्छ । वैशाख ५ गते जात्रा सकिन्छ ।  

तः दिन–अक्षय तृतीयाको चार दिनपछिको ठूलो दिन । भक्तपुरका किसानको दिवालीको पूजा गरिन्छ ।  

चासु पुन्ही–यस दिन बुद्ध जयन्तीका रूपबुद्धको प्रतिमा नगर परिक्रमा गराइन्छ । त्यस्तै बनेपा र भक्तपुरमा चण्डेश्वरीको जात्रा पनि हुन्छ ।  

सिठी–वर्षको अन्तिम चाड । इनार, पोखरी, ढुङ्गेधारा लगायत पानीका स्रोत सफा गर्ने दिन । यो दिन कार्तिकेय कुमारलाई चतामरी चढाएर खाने गरिन्छ । क्वाछें भगवतीको जात्रा पनि मनाइन्छ ।  

यसैगरी भक्तपुरमा नाग पंचमी, बैयागु ख्व, गणेश चौथी, यन्हा पुन्ही, दशमी, तिहार, हरिबोधनी एकादशी, बालाचर्तुदशी, योमरी पुन्ही, ध्यचाकु सल्हुँ, स्वस्थानी व्रत, श्रीपंञ्चमी, सिलाचन्हे, होली पुन्ही, पाहाँ चन्हे, मातातिर्थ औंसी, अक्षय तृतीया लगायतका पर्व पनि हर्षोल्लासका साथ मनाइन्छ ।  

प्रकाशित: १७ जेष्ठ २०७७ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App