coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लकडाउनले प्रभावित कृषक, तरकारी बजारीकरणमा समस्या

कोरोनाको जोखिमका कारण देश लकडाउन गरिएको दुई महिना भयो । लकडाउनले धेरै क्षेत्रमा असर पु¥याएको छ । यसको प्रभाव विशेष गरेर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरुले गुनासो गरेका छन् । कृषि उत्पादन र तरकारीको लागि पकड मानिएको काभ्रेमा यति बेला कृषकले उब्जाएको तरकारीको व्यवस्थापन र बजारीकरण हुन नसक्दा कृषक चिन्तित छन् ।  

काभ्रेका कृषकका तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी रहेको छ । तर दुई महिनादेखि तरकारीको बजारीकरण गर्न नसक्दा कृषकलाई समस्या भएको कृषि ज्ञान केन्द्र काभ्रेका सूचना अधिकारी थर्क जिसी बताउँछन् । उनका अनुसार तरकारी लागि जिल्लाको पाँचखाल, पनौती, बनेपा र मण्डनदेउपुर नगरपालिकालाई पकेट क्षेत्रको रुपमा मानिएको छ । अहिले लकडाउनका कारण उत्पादित तरकारीको बजारीकरणमा विशेष गरेर पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका कृषकलाई समस्या भएको उनले बताए ।  

मण्डनदेउपुर नगरपालिका वडा  ७ स्थित कुन्ताबेंसीका कृषक लिलाबहादुर श्रेष्ठले असारको मध्यतिर बिक्री हुने गरी बारीमा मकै लगाएका छन् । अबकोे एक महिनापछि हरियो मकै बेच्ने हिसाबले उनले मकै लगाएका थिए ।  तर कोरोनाको जोखिम बढ्दै गएसँगै लम्बिएको लकडाउनले उनलाई यतिबेला चिन्तित बनाएको छ । मकैबाट फाइदा लिन नसके पनि तरकारीबाट उठाउन सकिएला भन्ने स्थिति पनि नरहेको उनी सुनाउँछन् ।  

‘बारीमा काक्रो, बोडी, लौका, घिरौला लगाएको छु,’ उनले भने, ‘अबको केही दिनमै बजार लाने बेला हुन्छ । पहिले पो बारीमै तरकारी हारालुछ गर्न आउँथे । व्यापारीहरुको प्रतिस्पर्धा हुन्थ्यो । त्यहाँ नभएर अर्को ठाउँमा दिउँला भन्ने हुन्थ्यो । अहिले त, त्यो अवस्था नै छैन ।’ लगाएको ज्याला नउठे पनि बारीमा कुहयाउनु नपरे हुन्थ्यो भन्दै उनले गुनासो पोखे । लकडाउन यसरी नै लम्बिदै गएमा भोलि खानै समस्या पो पर्ने हो कि भनेर कृषकहरु चिन्तित भएको उनले बताए ।  

कृषकको उत्पादन क्रमिक रुपमा बढ्दै गएको र अहिलेको अवस्थामा त्यसको बजारीकरण गर्नु जटिल विषय भएको मण्डन देउपुर नगरपालिकाका कृषि शाखा प्रमुख गोपाल प्रसाद सापकोटाले बताए । उनका अनुसार पहिले कृषकले उत्पादन गरेका तरकारी सिधै कालीमाटी पुग्थ्यो । यसका साथै पाँचखाल र बनेपामा पनि खपत हुन्थ्यो । तर अहिले बन्दाबन्दीले गर्दा व्यापारीहरुले तरकारी संकलन गर्न सकेका छैनन् । उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत गर्न सकिने अवस्था नरहेको उनले बताए ।  ‘उपत्यकामा तरकारी उपभोक्ताहरुको कमी भइरहेको अवस्थामा व्यापारीहरुले तरकारी संकलन गर्न सकेका छैनन्,’ उनले भने, ‘तरकारीको बजारीकरणका बारेमा कृषकहरुबाट धेरै गुुनासो आइरहेका छन् । यस विषयमा छलफल पनि भइरहेको छ ।’

त्यस्तै तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । उनका अनुसार लकडाउनका कारण विशेष गरेर कृषकहरु प्रभावित भएका छन् । ‘पहिले प्रति क्रेट हजारदेखि पन्ध्र सयको हाराहारीको बिक्री हुने गोलभेडा लकडाउनले गर्दा मुस्किलले प्रति क्रेट चार सयमा बिक्री भएको छ,’ उनले भने, ‘तरकारीको भाउमा उत्पादक र उपभोक्ता बीचको अन्तराल अहिले लकडाउनले झनै बढाएको छ । दिनहुँ बजार पुग्ने तरकारी अचेल भने कहिले दिन बिराएर त कहिले दुई तिन दिनमा मात्र संकलन हुन्छन् ।’ उत्पादनको ज्यालासमेत उठाउन नसक्दा कृषकहरु चिन्तित  हुनुको साथै निरुत्साहित भएको उनले बताए ।  

मण्डनदेउपुर र पाँचखालमा तरकारी बजारीकरणमा देखिएको समस्या पनौती नगरपालिकामा नभएको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिकामा उत्पादन भएका तरकारी बजारीकरणको लागि पनौती नगरपालिकाले सामाजिक दुरी कायम राख्दै सहजीकरण गरिएको पनौती नगरपालिकाका कृषि शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताए । ‘कृषकले तरकारीको उचित भाउ नपाउनुको कुरा छुट्टै छ,’ उनले भने, ‘तर उत्पादक र उपभोक्तालाई तरकारी बिक्रीमा समस्या हुन दिएका छैनौं ।’ बन्दाबन्दीले कृषकलाई धेरै घाटा भएको बताउँदै उनले भने, ‘समग्र नगरकै कुरा गर्दा लकडाउनले गर्दा करीब २ करोड घाटा हुने अनुमान गरिएको छ ।’

बनेपा नगरपालिका वडा नं २, नाला–बुलेका कृषक रामप्रसाद संजेलले यतिबेला फर्सीं, गोलभेडा, भ्यान्टा, काँक्रो, भिडे, माछा र पिरो खुर्सानी लगाएका छन् । उनले लगाएको बालीमध्ये अहिले फर्सी बजारमा लानका लागि तयार भएका छन् । उत्पादनको भएको फर्सी अहिले स्थानीय बजारमा नै खपत भएको उनी बताउँछन् । उनका अनुसार अहिले फर्सी थोरै मात्र निस्किएकाले स्थानीय बजार नालामा नै बिक्री भइरहेको छ । यहाँ उत्पादन भएका तरकारीको बजारको लागि अहिले कृषि सहकारीहरुले समन्वय गरिरहेका छन् । भोलि आफ्नो उत्पादन धेरै भए सहकारीसँग सहयोग माग्ने उनले सुनाए । ‘तरकारीबाट राम्रो बजार भाउ नपाए पनि हामीलाई जसरी पनि तरकारी बजार पु¥याउन पाए मात्र हुन्छ,’ उनले भने । उनले पहिले व्यापारीको सम्पर्कमा तरकारी कालीमाटीमा बिक्री गर्ने गर्थे ।  

बनेपाको नाला तरकारीको पकड क्षेत्र मानिन्छ । उक्त क्षेत्रमा उत्पादित तरकारीको बजारीकरणका लागि तरकारी संकलन केन्द्र र कृषि सहकारी संस्थाहरुले सहजीकरण गरिरहेको बनेपा नगरपालिकाका कृषि शाखा प्रमुख मुकुन्द केसीले बताए । उनका अनुसार तरकारीको मुख्य बजार कालीमाटी नै हो । यहाँको स्थानीय बजारले उत्पादित तरकारी खपत गर्न सक्दैन । अहिले काठमाडौँमा अहिले उपभोक्ता घटेकाले पहिलेभन्दा तरकारी संकलनमा पनि कमी भएको उनले सुनाए । कोरोनाको जोखिम बढेसँगै बनेपा नगरपालिकाका तरकारी बजार बन्द गरिएको छ । बजार बन्द भएसँगै तरकारी किन्न उपभोक्ता खेतबारीमै पुग्ने गरेको प्रमुख केसीले बताए ।  

जिल्लाको कुल १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ५ सय ९४ हेक्टर क्षेत्रफल मात्र खेतीयोग्य रहेको छ । त्यस्तै ४ हजार १सय ७० हेक्टर क्षेत्रफल मौसमी सिंचित रहेको छ । बालीअन्तर्गत ९ हजार ८ सय २४ हेक्टर क्षेत्रफल तरकारी खेती र ५ हजार ३ सय ४१ हेक्टर क्षेत्रफलमा खाद्यन्न बाली गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App