३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोना कहर : खानेपानी आयोजनाको काम प्रभावित

गुणस्तरमा प्रश्न उठेपछि बृहत पम्पिङ खानेपानी आयोजनाको च्यास्मीटारमा निर्माण गरिएको ट्यांकी कोट्याउँदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर : दमन राई / नागरिक

लकडाउनका कारण खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दुधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्षअघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावित भएको हो । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्नेगरी हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम थालिएको थियो । ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन थपिँदा आयोजनाको काम महिनौं पछाडि धकेलिने भएपछि उपभोक्ता निराश छन् ।  

दुधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ नगरपालिकाका १ देखि ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यका साथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम थालिएको हो । हाल पाईपलाईन, ट्यांकीको फाउण्डेसन निर्माण, ट्यांकीसम्म पुग्ने सडक निर्माण तथा मर्मत लगायतका बाहेक अन्य काम हुन नसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख हिराकाजी महर्जनले बताए । ‘लकडाउनका कारण बारा र पर्साबाट सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्री ल्याउन समस्या छ । काठ्माडौं, बीरगञ्ज र बिराटनगरबाट स्कील्ड मेनपावर पनि ल्याउन सकिएको छैन,’ आयोजना प्रमुख महर्जनले भने, ‘स्टक मेटेरियल सकिइसकेको छ । जुन स्पीडमा काम गर्न खोजेका थियौँ, त्यो स्पीडमा काम गर्न नसकेको अवस्था छ ।’ समस्याका विषयमा विभागलाई पत्राचार गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेलले जनाएको छ ।  

आयोजनाको काममा ढिलासुस्ती गरिरहेका ठेकेदारले ढिलासुस्तीको कारण लकडाउनलाई देखाउने निहु पाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘प्राविधिक काम गर्ने दक्ष कामदार घर गएको छ । आयोजनाको मूख्य स्ट्रक्चरको काम नै रोकिएको छ,’ मेयर राईले भने, ‘लकडाउन अगाडि आयोजनाको जुन गति थियो, हाल त्यो अवस्था छैन । ढिलासुस्ती गर्ने ठेकेदारले निहु पाएको छ ।’  

भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजारमा दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्नेगरी मूख्या लाईनको ठेक्का लिएको दिवा–महादेव खिम्ती जेभीको भौतिक प्रगती सन्तोषजनक देखिएको छैन । २०७६ साल पुस १७ गतेसम्ममा काम पुरा गर्नेगरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको ठेक्का सम्झौता गरेको थियो ।  

यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई गाउँ–गाउँमा पु¥याउने वितरण लाईनतर्फको ठेक्का लिएको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताए । काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ साल असार ३० गतेसम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरणलाईनको काम ठेक्का लिएको हो ।  

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनको प्रगती समेत अपेक्षित नदेखिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष सुरेन्द्र राईले बताए । लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा २०७७ साल असार ३० गतेसम्ममा सक्नेगरी २०७५ साल असार ३१ गते कामको सम्झौता गरेको थियो ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App