१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक डाउनले होटल र होम स्टे ठप्प, धरापमा व्यवसाय

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । अन्य विदेशी मुलुकसँगै चैत ११ गतेदेखि नेपाल पनि ‘लकडाउन’ मा छ । यस विषम परिस्थितिमा होटल, रेष्टुरेन्ट तथा होम स्टेहरू बन्द नहुने कुरै भएन । सतर्कता र सुरक्षाका हिसाबले पनि होटल रेष्टुरेन्ट तथा होम स्टेहरु बन्द गर्नु नै उचित देखिन्छ । तर विगत दुई महिनादेखि देश लकडाउन भएका कारण होटल रेष्टुरेन्ट ठप्प हुँदा व्यवसाय नै संकटमा पर्न लागेको काभ्रेका व्यवसायीहरू बताउँछन् ।  

काभ्रे जिल्ला उपत्यका नजिकको जिल्ला भएकाले पनि होला, त्यहाँ अवस्थित रमणीय स्थलको अवलोकन र घुमफिरका लागि उपत्यका तथा आसपासमा बसोवास गर्ने मानिसहरूको रोजाइमा पर्ने गर्छ । लकडाउनअघि सरकारी एवं स्थानीय स्तरका कार्यक्रम, गोष्ठी, सेमिनार, बैठक लगायतका कार्यक्रम आयोजनाका लागि पनि काभ्रेका होटलहरू भरिभराउ हुने गर्थे । तर नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण जिल्लाका होटल दुई महिनादेखि ठप्प छन् ।  

अत्याधिक पर्यटक आउने मौसमको सुरुवातमै पर्यटकीय गतिविधि ठप्प हुदाँ आर्थिक क्षेत्रसंगै पर्यटन क्षेत्रमा पनि असर परेको छ । पर्यटक बढी मात्रामा भित्रिने समयमा  कोरोनाका कारण आन्तरिक तथा वाह्यस्तरका पर्यटक भित्रिने क्रम शून्य भएकाले व्यवसाय नै धरापमा पर्न लागेको क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका सञ्चालक पे्रमकण्ठ श्रेष्ठ बताउँछन् ।  

वर्षैपिच्छे भित्रिने रोग तथा प्रकोपका कारण होटल व्यवसाय संकटमा पर्दै गएकोमा श्रेष्ठ चिन्तित छन् । ‘द्वन्द्व, भूकम्प, नाकाबन्दी, डेंगी हुँदै अहिले कोरोना भाइरसका कारण होटल व्यवसाय धरापमा पर्न गएको छ, अध्यक्ष श्रेष्ठले  भने, ‘होटलमा अर्वौंको लगानी गरिएको हुन्छ । यसरी लामो समयसम्म व्यवसाय सञ्चालन हुन नसकेको खण्डमा होटल व्यवसाय नै धरापमा पर्ने देखिन्छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार विगतका वर्षहरुमा पर्यटकको आगमनबाटै दैनिक तीनदेखि चार लाख रुपैयाँ धुलिखेलका होटल व्यवसायहरूको आम्दानी हुन्थ्यो । तर अहिले कोरोनाका कारण पर्यटकको आगमन नभएपछि आम्दानी शून्य भएको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेका होटलमा हुने सभा, सम्मेलन, गोष्ठी लगायतका कार्यक्रमको आयोजना नहुँदा होटल नै सुनसान भएको उनले बताए ।

भूकम्पको भन्दा पनि बढी जोखिम अहिले कोरोना भाइरसको भएको बताउँदै उनले भने, ‘बैंकबाट करोडौं रूपैयाँ ऋण लिएर हामीले होटल संचालन गरेका छौँ, तर यस संकटका कारण कर्मचारीको रोजगारी पनि गुम्न सक्छ । सरकारले होटल व्यवसायीलाई राहत व्यवस्था गर्नुपर्ने देखिन्छ । सरकारले राहत दिएन भने हाम्रो व्यवसाय धरापमा पर्छ ।’ उनले अहिलेको महामारीका कारण होटल तथा रिसोर्टहरूमा कार्यरत पाँच सय जनाभन्दा बढी मजदुरको रोजीरोटी नै खोसिने आंकलन गरेको जानकारी दिए ।  

कोरोनाको प्रभाव होटल क्षेत्रमा मात्र नभएर पर्यटन अन्तर्गत होम स्टेमा पनि परेको होम स्टे व्यवसायीहरू बताउँछन् । कोरोनाले गर्दा देश नै संकटमा भएको अवस्थामा पर्यटन अन्तर्गत होम स्टे पनि यसबाट अछुतो नरहेको सामुदायिक होमस्टे एसोसिएन नेपालका अध्यक्ष एवं पात्लेखेत सामुदायिक होमस्टेका संचालक केशवप्रसाद बडालले बताए ।

कोरोनाको महामारीका कारण संस्कार–संस्कृति, प्रकृति, पर्यावरणको मुख्य आकर्षण केन्द्रबिन्दु बनेको होम स्टे अहिले देशैभर ठप्प हुदाँ होम स्टे व्यवसायीहरु रोजीरोटी नै गुम्ने अवस्था आएको उनले बताए ।  

‘सानो पुँजीबाटै होम स्टे सञ्चालन गरेर धेरैले यसैबाट दैनिक गुजारा चलाइरहेका छन् ,’ उनले भने, ‘अहिले आम्दानीको श्रोत नै ठप्प हुँदा व्यवसायीहरू मर्कामा परेका छन् ।’ यस समयमा चिन्ता लिनुभन्दा पनि लक डाउनको सदुपयोग गर्दै व्यवसायीहरूलाई बगैँचा, करेसाबारीमा अर्गानिक तरकारीको खेती गर्न बडालले सुझाए ।

प्रकाशित: ३ जेष्ठ २०७७ २२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App