२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सातामा तीन चार्टर्ड उडान भर्दै निगम

नेपाल वायुसेवा निगमले नेपालमा रोकिएका जापानी नागरिक र बिदामा नेपाल आएका नेपाली कामदार तथा विद्यार्थीलाई जापान लैजान एक साताभित्र तीन उडान भर्ने जनाएको छ । लकडाउनका कारण नेपालमै अलपत्र परेका दुई सय ५० यात्रुको चार्टर्ड उडानमार्फत शुक्रबार उद्धार हुने निगम स्रोतले जानकारी दिएको छ । अन्य दुई चार्टर्ड उडान भने जेठ ४ र ९ गते हुनेछन् ।

नेपाली सयम अनुसार शुक्रबार राति ९ बजे उडान तालिका रहेको निगमको उक्त जहाज जापानको नारिताबाट फर्किंदा भने खालि नै आउने छ ।  

निगम स्रोतका अनुसार जापान उडानका तीनवटै उडान चार्टर्ड न्युरोडमा रहेको सुमेघ टुर एन्ड ट्राभल्स प्रालिले गरेको हो । टिकट बिक्रीको समेत जिम्मा पाएको सुमेधले उडानमा लाग्ने समय अनुसार प्रतिघन्टाको हिसाबले निगमलाई पैसा बुझाउनेछ । निगमको वाणिज्य सम्बद्ध एक अधिकारीका अनुसार सुमेधले प्रतिघन्टाको १७ हजार दुई सय ८० डलरका दरले निगमलाई उडान शुल्क तिर्ने सहमति भएको जनाइएको छ । गत फागुन १९ गतेदेखि सोही गन्तव्यमा सिधा उडान भर्दै आएको निगमले चैत २८ मा पनि चार्टर्ड उडान भरेको थियो । शुक्रबारको उडान नारितामा निगमको दोस्रो चार्टर्ड उडान हो ।

शुक्रबार बसेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिले समेत जापान र हङकङ भिसा भएकालाई चार्टर्ड उडानमार्फत फर्किन दिने निर्णय गरेको छ । सरकारले नेपालमा रोकिएका ती यात्रुको स्वास्थ्य परीक्षण र अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय गरेको हो । 

प्रकाशित: २ जेष्ठ २०७७ २२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App