२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हावाहुरीसहितको असीना पानीले सिन्धुलीको जुनार सखाप

असिनापानीले क्षति पुर्‍याएको सिन्धुलीको रतनचुराको जुनार बगैचा ।

सिन्धुली- दुई दिनदेखि परेको अविरल वर्षासँगैको असीना पानीले सिन्धुलीको जुनार सखाप भएको छ । यहाँको महाभारत क्षेत्रमा दुई दिन निरन्तर हावाहुरीसहितको असीना पानी चिचिल्लामै जुनार झरेको छ । आइतबार र सोमबार असीनासहितको पानी परेको छ भने मंगलबार बिहानभरी हावाहुरीसहितको पानी परेपछि त्यसको प्रत्यक्ष असर जुनार बगैचामा परेको हो ।

सिन्धुलीको मुख्य नगदे बालिको रुपमा लिइने जुनारमा हावाहुरीसहितको असीनाले ठूलो क्षति पुर्‍याएको जुनार कृषक लोकबहादुर आलेमगरले जनाए । जिल्लाको गोलञ्जोर गाउँपालिका ४ स्थित तिनकन्यामा जिल्लाकै सबैभन्दा धेरै जुनार फल्ने क्षेत्रको रुपमा लिइन्छ उक्त क्षेत्रमै बाक्लो असीनासहितको हावाहुरी पानी परेपछि जुनार भुइभरी झरेको छ । मेरो बगैचामा ६० प्रतिशत भन्दा बढी जुनार चिचिल्लामै झरेको छ, कृषक आलेमगरले भने, गत वर्ष भन्दा यस वर्ष धेरै उत्पादन हुने संकेत देखिएको जुनारमा असीना र हावाहुरीसहितको पानीले ठूलो क्षति पुर्‍याएको छ ।

सिन्धुलीको तीनकन्या, रतनचुरा, बाशेश्वर, भुवनेश्वरी लगायतका जुनारको मुख्य क्षेत्र मानिएका स्थानमा व्यापक असीना पानी परेपछि जुनारमा करोडौको क्षति पुगेको किसानहरु बताउँछन् । वर्षेनी जुनारबाट सिन्धुली जिल्लामा करोडौ आम्दानी हुने गरेको उक्त अमिलो जातको फलको भर्खरै चिचिल्ला लाग्ने समय भएको छ । उक्त समयमै असीनाले क्षतविक्षत गरेको हो ।

असीना पानीले सिन्धुलीको गोलन्जोर गा.पा. वडा नं. ५ रतनचुरा वडा नं.४ तिनकन्या लगायतको ५ ठाउमा ८० प्रतिशत भन्दा बढी जुनार चिचिल्लामै झरेको छ, रतनचुराका जुनार कृषक निर्मल रम्तेलले भने, हामी सम्बन्धित निकायसँग क्षति पूर्तिको समेत माग गर्दछौ । हावाहुरीसहित एक्कासी आएको असीनाले धेरै जुनार झरेको जुनार उत्पादक सहकारी संघका अध्यक्ष समेत रहेका रम्तेलले बताए ।  

जुनारमा असिना पानीले वर्षेनी क्षति गर्दै आएको छ, जुनार सुपर जोनका कार्यालय प्रमुख देबराज अधिकारीले भने, कति झर्‍यो भन्ने तथ्याङक एकिन गर्न हामीले सकेका छैनौ  । उनले जुनार कृषकलाई बिमा गर्न अनुरोध गर्दै बिमा गरेमा त्यसबाट क्षति पूर्ति लिन सहज हुने बताए ।

किरा व्यवस्थापनमा समस्या
कोरोना भाइरसको प्रभावका कारण सिन्धुलीको मुख्य नगदेबालीको जुनारको किरा व्यवस्थापनमा समस्या भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन गरेसँगै जुनारको किरा व्यवस्थापनमा समस्या भएको हो ।

करिब ६ वर्षअगाडी देखिनै सिन्धुलीको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नामक किराले जुनारलाई सखाप पार्न थालेपछि वर्षेनी औषधि स्प्रे गर्दै आएको र यस वर्ष लकडाउनले प्रभाव पारेको किसान बताउँछन् । जुनारको चिचिल्लामै उक्त जातको फल कुहाउने औषा जुनारमा प्रबेश गर्ने र जुनार परिपक्व हुन नदिई कुहिएर झर्ने समस्याले किसान आजित भएपछि प्रोटिन बेट नामक औषधि जुनार बगैचामा स्प्रे गर्ने गरिएको थियो ।

लकडाउनका कारण कार्यालयका सम्पूर्ण कामहरु रोकिएको छ, सवारी आजावतजावत समेत भएको छैन, जुनार सुपर जोन कार्यालयका प्रमुख देबराज अधिकारीले भने, कोरोना भाइरसका कारण किरा व्यवस्थापनमा निकै समस्या भएको छ । ‘अरुको बिग्रिए एक दिन, किसानको बिग्रिए वर्ष दिन’ भन्ने उखान नै छ, कार्यालय प्रमुख अधिकारीले भने, किसानले कृषि कर्मको व्यवस्थापनमा जुट्नु पर्ने वाध्यता एकातिर छ भने अर्कोतिर मानव स्वास्थ्यको अवस्था र जोखिमलाई विचार पुर्‍याउनुपर्ने अवस्था कोरोनाले निम्त्याएको छ ।

जुनारमा लागेको किरा व्यवस्थापन गर्न सम्पुर्ण तयारी गरि बैशाखको दोस्रो हप्तासम्म प्रोटिन बेट स्प्रे गर्नुपर्ने बताए । सिन्धुली जिल्लाको जुनारमा वि.सं. २०७०/७१ देखि देखापरेको यो किराले फल उत्पादनमा निकै नोक्सानी पुर्‍याएको उनले जनाए ।

 

 

प्रकाशित: ९ वैशाख २०७७ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App