१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकले ब्याजदर घटाए

काठमाडौँ - मुलुकका वाणिज्य बैँकहरुले निक्षेपको ब्याजदर घटाएका छन्। डेढ वर्षअघिको भद्र सहमति पुनरावलोकन गरी मुद्दती, बचत लगायत कल डिपोजिटको ब्याजदर घटाएको नेपाल बैँकर्स संघले जनाएको छ। संघले बुधबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ गतेबाट लागू हुने गरी एकवर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर एक प्रतिशत बिन्दु र संस्थागत निक्षेपको ब्याजदर डेढ प्रतिशत बिन्दुले घटेको जनाएको छ। 

‘कोरोना भाइरसका कारण अहिले मुलुकको अर्थतन्त्र प्रभावित भएकोले बजारमा सस्तो ब्याजदरमा पैसाको खाँचो छ,’ नेपाल बैँकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘ऋणको ब्याजदर घटाउने उद्देश्यले निक्षेपको ब्याजदर कम गर्ने निर्णयमा पुगेको हाैँ।’ वाणिज्य बैंकबीच छलफलपछि मुद्दती ब्याजदर पुनरावलोकन गर्ने निर्णयमा पुगेको उनले बताए। सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार यसअघि भएको भद्र सहमति पुनरावलोकन गरी एकवर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर एक प्रतिशत बिन्दुले कम गरी ८.७५ प्रतिशत कायम गरिएको हो । यसअघि एकवर्षे मुद्दतीको ब्याजदर ९.७५ प्रतिशत कायम भएको थियो। 

 वाणिज्य बैंकले कायम गर्ने ब्याजदरको असर सबै वित्तीय संस्थामा पर्ने हुँदा जेठ १ गतेबाट बैंक, वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदर घट्नेछ। 

त्यसैगरी, संस्थागत निक्षेपको ब्याजदर डेढ प्रतिशत बिन्दुले घटेको संघले जनाएको छ। नयाँ व्यवस्था अनुसार अब संस्थागत निक्षेपकर्ताले वार्षिक आठ प्रतिशतका दरले ब्याज पाउनेछन्। वाणिज्य बैँकहरुले बचत निक्षेपको ब्याजदर ५.५ प्रतिशत कायम गरेका छन् । यसअघि बचतमा ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको थियो। छ। नवीकरण गर्ने निक्षेपको ब्याजदर ८.१ प्रतिशत कायम हुने संघले जनाएको अध्यक्ष दाहालका अनुसार निक्षेपको ब्याजदर डेढ प्रतिशत बिन्दुले घटेपछि बैँकको आधार दर (बेसरेट) पनि घट्ने छ। ‘बैँक तथा वित्तीय संस्थाको आधार दर तलमाथि हुनेबित्तिकै सोही अनुपातमा ब्याजदर निर्धारण हुने भएकाले आगामी जेठ १ गतेबाट लागू हुने गरी बैँकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशतले कम हुने उनले बताए। 

कोरोना भाइरसका कारण बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा कमी आएकाले ब्याजदर घटाउने निर्णयमा पुगेको संघले जनाएको छ। नयाँ व्यवस्था कार्यान्वयन भएपछि मुलुकको वित्तीय प्रणालीलाई आर्थिक संकटबाट बचाउन मद्दत पुग्ने अध्यक्ष दाहालले बताए। बैँक तथा वित्तीय संस्थाले आधार दर हरेक तिन महिनामा प्रकाशित गर्नुपर्ने प्रावधान रहेकाले अब जेठ १ गतेबाट ऋणको ब्याजदर पनि घट्नेछ। हाल मुलुकभर २७ वाणिज्य बैँक सञ्चालनमा छन्। वाणिज्य बैँकको आधार दरमा तलमाथि हुँदा विकास बैँक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाको ब्याजदर पनि तलमाथि हुने उनले बताए। हाल वाणिज्य बैंकको कुल निक्षेपको करिब ५० प्रतिशत रकम मुद्दतीमा रहेको संघले जनाएको छ। 

प्रकाशित: २७ चैत्र २०७६ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App