१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

भद्र सहमतिविपरीत बचतमा ब्याजदर घटाउँदै बैंक

काठमाडाैं - मुलुकको बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएपछि वाणिज्य बैंकले निक्षेपमा धमाधम ब्याजदर घटाउन थालेका छन्। अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु सेवामुखीभन्दा पनि नाफामुखी हुँदै गएकाले सर्वसाधारणलाई दिने ब्याजदर बढाउन आग्रह गरेका बेला केही बैंकले निक्षेपको ब्याजदर झन घटाएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको नाफा १५ देखि २० प्रतिशतसम्म हुने गरेकाले मुलुकको वर्तमान वित्तीय अवस्थाअनुसार १२ प्रतिशतसम्मको नाफा पर्याप्त हुने बताए पनि ठूला तथा पुराना बैंकले नै बचतको ब्याजदर घटाएका हुन्। हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकबीच बचतमा बढीमा ६ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरे पनि हाल केही बैंकले सर्वसाधारणलाई दिने ब्याजदर कम गरेका हुन्।

‘क’ वर्गका वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले निक्षेपको ब्याजदर घटाएका छन्। निक्षेप संकलन र कर्जा प्रवाहको सन्तुलन नभएकाले निक्षेपमा ब्याजदर घटाएको सम्बन्धित बैंकहरुले जनाएका छन्। यसअघि बचत गर्दा ६ प्रतिशत ब्याज दिँदै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक प्रतिशतले निक्षेपमा ब्याजदर कम गरेको छ। बैंकले हाल बचतमा पाँच प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ।

‘क’ वर्गका वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले निक्षेपको ब्याजदर घटाएका छन्।

त्यसैगरी, नबिल बैंकले पनि निक्षेपमा ब्याजदर कम गरेको छ। यसअघि ५.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको बैंकले हाल पाँच प्रतिशत कायम गरेको छ। निक्षेपमा ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक रहेको छ। बैंकले यसअघि प्रदान गर्दै आएको ब्याजदर घटाएर पाँच प्रतिशतमा झारेको छ। बचतमा ब्याजदर घटाउनेमा एभरेस्ट बैंक पनि रहेको छ। बैंकले हाल पाँच प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ।

त्यसैगरी, सनराइज बैंकले पनि निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गरेको छ। चालु आवको फागुनसम्म निक्षेपमा ब्याजदर कम गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक छन्। यी बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकले साढे पाँच प्रतिशत र हिमालयन बैंकले पाँच प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा चार र विशेष बचतमा ६ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। ‘अहिले निक्षेपको तुलनामा कर्जा प्रवाहमा कमी आएको छ,’ उनले भने, ‘कर्जाको माग कम भएकाले बैंकहरुले कस्ट अफ फन्ड कम गर्ने उद्देश्यले निक्षेपमा ब्याजदर कम गरेका हुन्।’

वाणिज्य बैंकहरुले सर्वसाधारणलाई मुद्दती खातामा वार्षिक ९.७५ प्रतिशतसम्म ब्याज दिने गरेको उनले बताए। हाल मुलुकका वाणिज्य बैंकको कुल निक्षेपमध्ये करिब ३२ प्रतिशत हिस्सा बचत खाताको रहेको उनले बताए। निक्षेपमा ब्याजदर घटाउने विषयमा हालसम्म औपचारिक रुपमा छलफल नभएको वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर एसोसियसनले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App