१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई महिनाभित्रै नयाँ विद्युत् महसुल

काठमाडौं - विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले सिफारिस गरेको बिजुली महसुल दर दुई महिनाभित्रै टुंगो लगाउने भएको छ। आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले प्राधिकरण सञ्चालक समितिले सिफारिस गरेको महसुलको विवरण गत शुक्रबार आयोगमा आइपुगेको बताउँदै छिट्टै टुंगो लाग्ने दाबी गरे। ‘विद्युत् प्राधिकरणले निर्देशिका बमोजिम महसुल निर्धारणको लागि प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘अब आयोगले आवश्यक अध्ययन गरेर महसुल निर्धारणको लागि आवश्यक कारवाही अघि बढाउनेछ।’

उनका अनुसार सार्वजनिक सुनुवाइ लगायत कार्यक्रम गरेर मात्रै महसुल तय गरिनेछ। ‘समितिले सिफारिस गरेको प्रस्तावित महसुल गत शुक्रबार आएको छ,’ अध्यक्ष सिंहले भने, ‘सातै प्रदेशमा सार्वजनिक सुनुवाइ तथा आवश्यक अध्ययन गरेर मात्रै टुंगो लगाउनेछौं।’ अध्यक्ष सिंहले समितिले पठाएको शुल्कको सम्पूर्ण विवरण हेरेपछि मात्रै टुंगो लगाउने बताए। ‘जनतालाई राहत हुने गरी निर्णय गर्नेछौं,’ उनले भने, ‘समितिले पठाएको विवरणको प्राविधिक परीक्षण गरेर मात्रै टुंगो लगाउनेछौं।’ प्राधिकरण सञ्चालक समिति बैठकले अघिल्लो आइतबार नयाँ विद्युत् महसुल सिफारिस गरेको थियो। आयोगले महसुल निर्धारणको लागि ६ वटा मापदण्ड तयार पारेर निर्देशिका जारी गरेको थियो।

प्राधिकरणले महसुल निर्धारणका लागि आयोगसमक्ष वार्षिक आय, नाफा तथा कुल कारोबार लगायत प्रतिवेदन पेस गर्नुपर्नेछ। आयोगले महसुल निर्धारण गर्दा उपभोक्ताको हक–हित संरक्षण, विद्युत् आपूर्ति तथा सेवाको गुणस्तर, नियमितता, पर्याप्तता एवं सुरक्षाको सुनिश्चितता ग्यारेन्टी गर्नुपर्छ। प्राधिकरण सञ्चालक समितिले ० देखि १० युनिटसम्मका प्रयोगकर्तालाई सबैभन्दा सस्तो मूल्यमा बिजुली उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समितिका एकजना सदस्य चेतराज जोशीले  बताए। ‘० देखि १० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्तालाई सस्तो दरमा उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने, ‘साबिकको महसुल दरमा अहिले दुई देखि ११ प्रतिशतसम्म घटाउने निर्णय भएको छ।’

प्राधिकरण सञ्चालक समितिले निर्धारण गरेको विद्युत् महसुल विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ। प्राधिकरणले प्रतिमहिना ० देखि १० युनिट, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि एक सय युनिट, एक सय एकदेखि एक सय ५० युनिट, एक सय ५० देखि दुई सय युनिट र दुई सयदेखि चार सय युनिटसम्म विद्युत् प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरेर महसुल निर्धारण गर्ने जनाएको छ।

प्राधिकरणले हाल मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकबाट प्रतियुनिट तीन रुपैयाँ र सेवा शुल्कबापत ३० रुपैयाँ लिँदै आएको छ। मासिक चार सय युनिटसम्म खपत गर्ने ग्राहकबाट प्रतियुनिट १२ रुपैयाँ र सेवा शुल्कबापत एक सय ५० रुपैयाँ लिन्छ। प्राधिकरणले एम्पियर बढेसँगै सेवा शुल्क पनि बढ्दै जाने जनाएको छ। प्राधिकरणले खपतको आकारअनुसार घटीमा प्रतियुनिट न्यूनतम तीन रुपैयाँदेखि अधिकतम १३ रुपैयाँसम्म महसुल तोकेको छ। प्राधिकरणका अनुसार प्रतियुनिट १३ रुपैयाँभन्दा धेरै महसुल शुल्क लिन पाइँदैन। प्राधिकरणका अनुसार सहरमा भन्दा ग्रामीण भेगमा बिजुली महसुल केही कम छ।

प्रकाशित: २० माघ २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App