८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भोटेकोसीले थाल्यो व्यवसायिक उत्पादन

पुनर्निर्माण गरिएको भोटेकोसी जलविद्युत् आयोजनाको बाँध। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – पुनर्निर्माणसँगै सञ्चालनमा आएको निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ। भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको यो आयोजनाले दुई साताको परीक्षण प्रशारण समायावधि पूरा गरेपछि व्यावसायिक उत्पादन थालेको हो।

कम्पनीका महाप्रवन्धक विक्रमरत्न स्थापितले आयोजनाबाट दैनिक २२–२५ मेगावाट विद्युत् उत्पादन भइरहेको बताए। ‘१५ दिनको परीक्षण प्रसारणपछि आयोजना औपचारिक रुपमा व्यवसायिक उत्पादनमा गयो,’ उनले नागरिकसँग  भने। भोटेकोसीको बहाव घट्ने हिउँदको समय भएकाले आयोजनाले पूर्ण क्षमताको आधा मात्रै विद्युत् उत्पादन गरिरहेको उनले बताए। सोही कारण दैनिक उत्पादन घटबड भइरहेको महाप्रबन्धक स्थापितको भनाइ छ।

२०७३ असार २१ गतेको भोटेकोसी बाढीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण गत महिना सम्पन्न भएको थियो। झन्डै २० महिना लगाएर सञ्चालनमा आएको आयोजनाले मंसिर २१ गतेदेखि परीक्षण प्रसारण थालेको थियो। आयोजना निर्माणपछि १५ दिन परीक्षण उत्पादन गर्नुपर्ने प्रवाधान छ। उत्पादित विद्युत् आयोजनाको आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुस्थित सरकारी स्वामित्वको सुनकोसी जलविद्युत् आयोजनाबाट राष्ट्रिय प्रसारणमा जोडिएको छ।
चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोले द्रुत मार्गबाट आयोजना पुनर्निर्माण सम्पन्न गरेको थियो। पुनिर्निर्माण सकिएपछि आयोजनाले दुई साता लगाएर संरचना र मेसिनरी उपकरणको आन्तरिक परीक्षण गरेकोे थियो भने विद्युत् प्राधिकरणले समेत उपकरण परीक्षण सकाएपछि आयोजनाले उत्पादन अनुमति पाएको थियो।

कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्ब रुपैयाँ पुगेको छ।

आयोजनाका साढे २२ मेगावाट क्षमता दरका दुईवटै युनिट र अरु मेसिनरी उपकरणले राम्रो काम गरिररहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार चैतदेखि नदी सतह बढ्न थालसँगै विद्युत् थपिँदै जाने र असारदेखि पूर्ण क्षमतामा उत्पादन हुने छ। तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो।   

ठेक्का र आयोजनाको समग्र पुनर्निर्माणमा सात अर्ब रुपैयाँ खर्च भएको कम्पनीका प्रबन्धक बबिन प्रधानले जानकारी दिए। पुनर्निर्माणमा खर्च भएको रकम नयाँ आयोजना बनाए सरहकै लागत भएको उनले बताए। पुनर्निर्माणका क्रममा कम्पनीले आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरेको छ। २०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पु-याएको थियो।

भूकम्पबाट आयोजनाले तीन अर्ब रुपैयाँको भौतिक नोक्सानी बेहोरेको थियो। २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तिएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्ब रुपैयाँ पुगेको छ।
यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। लगातार पाँच वर्षदेखि आयोजना बन्द हुँदा कम्पनीले वाषर््िाक २२–२४ मिलियन अमेरिकी डलर विद्युत् महशुल नोक्सानी बेहो¥यो। भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत् खरिद सम्झौता (पिपिए) पछि ४५ मेगावाट क्षमतामा गएको थियो।

प्रकाशित: ९ पुस २०७६ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App