८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

'बदमासी भएको पुष्टि भए दण्डित हुन तयार'

नेपालगन्ज – प्रदेश ५ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई अनुदान वितरणमा बदमासी भएको पुष्टि भए आफू दण्डित हुन तयार रहेको बताएकी छन्।

बाँकेका किसानसँग बिहीबार नेपालगन्जमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अनुदान वितरणमा बदमासी गर्ने जो कोही पनि कारबाहीको दायरामा आउने प्रतिबद्धता जनाइन्।

प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत किसानलाई वितरण गरिएको अनुदान रकम अनियमितता भएको समाचार केही समयअघि सार्वजनिक भएको थियो। उक्त प्रकरणमा कतिपय किसानले कर्मचारी तथा मन्त्री पौडेलको समेत नाम जोडेका थिए।

‘म तपाईंलाई साक्षी राखेर बाचा गर्छु, कसैले काम नगरेर अनुदान लिएको छ भने त्यसबाट सरकारले असुल उपर गर्नेछ,’ मन्त्री पौडेलले भनिन्, ‘अनुदान वितरणमा कर्मचारीबाट बदमासी भएको छ भने दण्डित हुन्छ, मन्त्रीबाटै बदमासी भएको छ भने पनि म दण्डित हुन तयार छु।’

किसानलाई अनुदान वितरण गर्ने प्रक्रिया फरक–फरक भएको भन्दै उनले किसानले गरेको लगानी र मिहेनतलाई हेरेर मात्र अनुदान दिने प्रदेश सरकारको नीति रहेको स्पष्ट पारिन्। कृषि क्षेत्रलाई माथि उठाउन प्रदेश ५ सरकारले कन्जुस्याई नगरेको मन्त्री पौडेलको दाबी छ। किसानलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले यस वर्ष कृषि कर्जालगायत विभिन्न योजना ल्याउन लागेको उनले जानकारी दिइन्।

किसानले आवश्यक परेका बेला रासायनिक मल पाउन नसकेको प्रसंगमा पौडेलले मलमा अनुदान दिने अधिकार संघीय सरकारको हातमा रहेको बताइन्। संघीय सरकारले दिँदै आएको वार्षिक ३७ हजार मेट्रिक टन मलको अनुदान एकदमै कम रहेको औल्याउँदै किसानलाई अपुग हुने मलको अनुदानमा प्रदेश ५ सरकारले बजेट हाल्न तयार रहेको बताइन्। कार्यक्रममा विभिन्न स्थानबाट आएका किसानले अनुदान दिने प्रक्रिया झन्झटिलो भएको जस्ता गुनासो पोखेका थिए।

प्रकाशित: ६ मंसिर २०७६ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App