१६ चैत्र २०८० शुक्रबार
अर्थ

चौमासिक बजेटको ७९.८ प्रतिशत खर्च

प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई। तस्बिर : दमन राई/नागरिक

खोटाङ – अधिकांश स्थानीय तहले चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको पाइन्न। आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक नगर्ने स्थानीय तह लेखापरीक्षणका लागि आएका महालेखा परीक्षकको कार्यालय अगाडि भने चौमासिक प्रगति प्रतिवेदन देखाउन बाध्य हुन्छन्। तर, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने सार्वजनिक सुनुवाइ नै गरेर प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको चार महिनामा निकासा भएको बजेटमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ७९.८ प्रतिशत रकम खर्च गरेको जनाएको छ। प्रथम चौमासिक प्रतिवेदनबारे सार्वजनिक सुनुवाइ गर्दै गाउँपालिकाले प्रथम चौमासिकमा निकासा भएको बजेटको झन्डै ८० प्रतिशत हिस्सा खर्च गरेको जानकारी दिएको छ। प्रथम चौमासिकमा कुल सात करोड ७१ लाख २२ हजार रकम निकासा भएकोमा ६ करोड १५ लाख तीन हजार एक सय ५७ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रशासन शाखाका खरिदार सञ्जीव आचार्यले जानकारी दिए। खोटाङका १० स्थानीय तहमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलोपल्ट प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक गरेको हो।

चालू आर्थिक वर्षको प्रथम चार महिनामा कोलेनिका निकासातर्फ ६ करोड ३० लाख ५० हजार, राजस्व बाँडफाँट केन्द्रतर्फ एक करोड ३० लाख र हेल्भेटासबाट प्राप्त १० लाख ७२ हजार निकासा भएकोमा चालूगततर्फ ६९ लाख ८६ हजार एक सय १४, ससर्त चालूतर्फ चार करोड ८७ लाख ३५ हजार चार सय ६३, विभिन्न सात वडामा २८ लाख ९६ हजार चार सय पाँच, गाउँपालिका योजना खर्चतर्फ १५ लाख ५९ हजार र अल्या बजेटबाट १३ लाख २६ हजार एक सय ७५ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। सार्वजनिक प्रतिवेदनअनुसार चौमासिकमा निकासा भएको बजेटमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खामा १८.५४ प्रतिशत, २ डाँडागाउँमा ११.५४ प्रतिशत, ३ छोरम्बुमा ८.८५ प्रतिशत, ४ बतासे ४.६४ प्रतिशत, ५ सछितापोखरीमा ९.६३ प्रतिशत, ६ छितापोखरीमा ८.५८ प्रतिशत र टेम्मामा ११.६६ प्रतिशत बजेट खर्च भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजिक प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले हालसम्म सञ्चालन भएका योजना, योजना सम्झौता, खर्च तथा निकासाका विषयमा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र सपना राईमाथि प्रश्न तेस्र्याएका थिए।

गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारलाई जवाफदेही बनाउन र सुशासन कायम गर्नका लागि हरेक खर्चको हिसाब–किताबका बारेमा यसरी नै औंला ठड्याइरहन स्थानीयलाई आग्रह गरे। ‘स्थानीय तहमा सुशासन कायम गर्नका लागि औंला ठड्याइरहनुस्, यसले स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोग पुग्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सरकारलाई जिम्मेवार बनाउन तपाईंहरूको महत्वपूर्ण भूमिका रहन्छ।’

हरेक स्थानीय तहको वेबसाइटमा चौमासिक प्रतिवेदन राख्नका लागि अर्काइभ राखिएको भए पनि हालसम्म कुनै प्रतिवेदन समावेश गरिएको छैन।

प्रकाशित: ४ मंसिर २०७६ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App