१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘भिभिआइपी’ भ्रमणले पाहुना बढ्ने आस

पोखरा – चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार मोटरबोट चढेर फेवाताल सयर गरिरहँदा लेकसाइडका पर्यटन व्यावसायी भन्दै थिए– भिभिआइपी पाहुनाको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्छ। पाहुनाको आफ्नो मुलुकका मात्र नभई अन्य राष्ट्रका पाहुनालाई पनि घुम्नका लागि भिभिआइपीको भ्रमणले प्रोत्साहन गर्छ।

व्यवसायीले विश्वास गरे अनुसार भएमा बंगलादेशी राष्ट्रपतिको भ्रमणले आगामी दिनमा नेपाल आउने बंगलादेशीको संख्या अझ बढ्नेछ। बंगलादेशी पर्यटकको नेपाल आगमनको तथ्यांक पनि व्यवसायीको अनुमानलाई पुष्टि गर्ने खालकै छ। सन् २०१८ को मार्चमा काठमाडौंमा भएको युएस बांगला जहाज दुर्घटनाले त्यो वर्ष केही कमी भए पनि त्यसअघिका वर्ष नेपाल आउने बंगलादेशी संख्या बढिरहेको थियो।

नेपाल पर्यटन बोर्डका अनुसार २०१६ मा २३ हजार चार सय ४६ बंगालादेशी नेपाल आएका थिए। त्यो संख्या बढेर २०१७ मा २९ हजार ६० पुग्यो। २०१८ मा केही घटेर २६ हजार तीन सय ५५ कायम भयो। सन् २०१९ को अक्टोबरसम्ममा १९ हजार दुई सय ७९ बंगलादेशी आएका छन्।

‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकमध्ये बंगलादेशी पाहुनाको संख्या तेसो हुन्छ,’ पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले भने, ‘भारत र श्रीलंका क्रमशः पहिलो र दोसोमा पर्छन्।

थपलियाका अनुसार बंगलादेशी पर्यटक घुमफिर बढी रुचाउँछन्। ‘होलिडे’ पर्यटकको रुपमा बंगलादेशी पाहुना चिनिएका छन्। घुम्न र खानपिनमा सौखिन उनीहरु प्दयात्रा उत्तिसारो रुचाउँदैनन्,’ थपलियाले भने, ‘अझै प्रवद्र्धन गर्ने हो भने आगामी दिनमा बंगलादेशी पाहुना भिœयाउन सहज हुन्छ।’ उनीहरु किनमेलमा पनि निकै रुचि राख्छन्।

बंगलादेशी पाहुना नेपाल आउँदा हवाई मार्ग बढी प्रयोग गर्छन्। स्थलमार्ग हुँदै भारतबाट आउन झन्झट मान्छन्। ‘अहिले पनि बंगलादेशसँग हवाई पहुँच कमजोर छ। पहुँच बिस्तार गर्ने हो भने आगामी दिनमा बंगलादेशी पाहुनाको आगमन बढ्छ,’ उनले भने, ‘स्थलमार्ग प्रयोग सहज बनाउने हो भने त झनै फाइदा पुग्छ।’

पोखराका पर्यटन व्यवसायी पनि राष्ट्रपतिको भ्रमणले बंगरादेशीलाई नेपाल आउन प्रोत्साहन मिल्ने बताउँछन। लेकसाइडस्थित ल्यान्डमार्क होटलका सञ्चालक ओमप्रकाश पाण्डे भन्छन्, ‘अहिले पनि पोखरामा बंगलादेशी पाहुनाको आगमन राम्रो छ। राष्ट्रपतिको भ्रमणले आगामी दिनमा त्यहाँका पाहुना थपिनेछन्।’ आफ्ना राष्ट्रपतिले घुमेको सहर भनेर पोखरा र काठमाडौंले प्राथमिकता पाउन सक्ने उनले बताए।

‘बंगलादेशका पाहुनालाई त घुम्न प्रोत्साहन मिल्छ नै, अरु मुलुकका नागरिक पनि उच्च व्यक्तित्वका भ्रमणबाट प्रोत्साहित हुनेछन्,’ पाण्डेले भने। पाण्डेका अनुभवमा बंगलादेशका पाहुनाले नेपालमा चार रातसम्म बिताउँछन्। तीमध्ये काठमाडौं र पोखरा २–२ रात हुन्छ। काठमाडौंमा खासै घुमघाम नगर्ने ती पाहुना पोखरामा आसपास क्षेत्रको दृश्यावलोकनमा जाने गरेका छन्।

‘पछिल्लो समय त बंगलादेशका पाहुना बैठककै लागि समेत समूह बनाएर नेपाल आउन थालेका छन्,’ पाण्डेले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो।’ उनका अनुसार इदको मौका पारेर बढी जसो बंगलादेशी नेपाल आउने गरेका छन्। अगस्ट–सेप्टेम्बरमा बढी बंगलादेशी नेपाल आउने गरेको पाण्डेको भनाइ छ। ‘नेपालको आन्तरिक हवाई भाडामा स्वदेशीसरह सार्क मुलुकका पर्यटकका लागि पनि एकरुपता ल्याइदिने हो भने आगमन बढ्छ,’ उनले भने। उनका अनुुसार बंगलादेशका सरकारी कर्मचारी र व्यापारी पारिवारिक भ्रमणमा समेत नेपाल आउने गरेका छन्।

यसअघि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भ्रमणले ती देशका पर्यटकको आगमन बढ्नेमा आशावादी देखिएका व्यवसायी बंगलादेशका राष्ट्रपतिको भ्रमणले पनि आगमन बढ्नेमा विश्वस्त छन्। ‘सबै भिभिआइपी पाहुना पोखरा घुम्नकै लागि आउनुपर्छ भन्ने पनि छैन। नेपाल आउँदाको सन्देश नै पर्याप्त हुन्छ,’ पाण्डेले भने, ‘भिभिआइपीको भ्रमणले ती मुलुकमा पाहुनालाई शान्ति सुरक्षाको विश्वास जाग्छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष चिरञ्जीवी पोखरेल बंगलादेशी पाहुना खर्चिलामध्येमा पर्ने बताउँछन्। ‘हामीले बंगलादेशी स्ट्यान्डर्ड पाहुना मान्ने गरेका छौं,’ पोखरेलले भने, ‘नेपालीसँग केही खानपिनको शैली मिल्ने भएकोले पनि उनीहरु आउँछन्।’ पोखरेली व्यवसायीले बेलाबेला बंगलादेश पुगेर प्रवद्र्धनात्मक कार्यक्रम गर्ने गरेका पनि छन्।

‘दुरीका हिसाबले बंगलादेशसँग हामी नजिक छौं। तैपनि स्थलमार्गको सिधा पहुँच छैन। हवाईमार्गको विकल्प नहुँदा बढी बंगलादेशी पाहुना पर्याप्त भिœयाउन सकेका छैनौं,’ उनले भने। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि धेरै नेपाली विद्यार्थी जाने भएकोले पनि त्यहाँका पाहुनालाई नेपाल बोलाउन सहज भएको उनले बताए।

प्रकाशित: १ मंसिर २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App