४ वैशाख २०८१ मंगलबार
अर्थ

एक करोडको केरा आयात

जनकपुरस्थित मण्डीमा बिक्रीका लागि राखिएको केरा। तस्बिर : नागरिक

धनुषा – जनकपुरमा छठ पर्वका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको छ। तराई मधेसबासीको सबैभन्दा ठूलो चाड छठका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको हो। छठ पर्वलाई लक्षित गरी धनुषामा एक करोड मूल्य बराबरको केरा आयात भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रविन्द्र साहले जानकारी दिए।

दिनानुदिन छठ पर्व गर्ने ब्रतालुको संख्या बढेपछि केराको माग बढेको उनले बताए। ‘छठ गर्ने मानिस बढिरहेका छन्। मागअनुसार केरा आएन भने महंगो हुन्छ,’ उनले भने, ‘बितेको वर्ष नै ९० लाख मूल्य बराबरको केरा भित्रिएको थियो।’

सरकारको नीतिका कारण केराको बजार महंगो भएको भन्दै यसले सेवाग्राही मारमा परेको उनले बताए। नेपाल सरकारले विषादी जाँचको नीति बनाए पनि ठाउँ–ठाउँमा प्राविधिक व्यवस्थान नरहेका कारण समस्या आएको उनले स्वीकार गरे। विषादी जाँचको व्यवस्था नेपाल–भारत सीमामै गरिए फलफूल नष्ट हुने सम्भावना कम हुने उनको भनाइ छ।

व्यवसायी कृष्ण कुमार साहले यस वर्ष आएको बाढीले केरा खेतीमा ठूलो क्षति पुर्‍याउँदा केरा महंगिएको उनको तर्क छ। ‘बाढीका कारण सप्तरीको राजविराज र भारतको विभिन्न स्थानमा केरा खेतीमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘बाढीका कारण केरा उत्पादनमा कमी आएको छ, त्यसकारण बजार अलि महंगो भएको छ।’

केरा मण्डीमा भीड
छठका लागि प्रयोग हुने केरा किन्नेको फलफूल मण्डीमा भीड लागेको छ। बिहीबारदेखि विधिवत रुपमा सुरु भएर शनिबार मनाइने छठ पर्वका लागि केरा किन्न बजारमा भीड लागेको हो। केराको आपूर्तिभन्दा माग बढी भएकाले केराको हाहाकार भएको व्यवसायीको भनाइ छ। केरा अभाव भएसँगै उपभोक्ता दोब्बर मूल्य तिरेर पनि किन्न बाध्य छन्।

केरा कमै मात्रामा आपूर्ति भएपछि मागअनुसार उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ। जनकपुरधाम उपमहानगरपालिका–४ का अश्विन सिंहलाई एक केराको घरी किन्न ६ सय ५० रुपैयाँ तिर्नुपर्‍यो। ‘पोहोर एक केराको घरीका लागि तीन सयमा खरिद गरेको थिए,’ उनले भने, ‘तर यसपालि बजारमा केरा अभाव रहेकाले दोब्बर मूल्य तिर्नु पर्‍यो।’

प्रकाशित: १७ कार्तिक २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App