८ वैशाख २०८१ शनिबार
अर्थ

जिरीमा शुक्रबारदेखि सडक महोत्सव

दोलखास्थित पर्यटकीय नगरी जिरी बजार। तस्बिर : रमेश खतिवडा/नागरिक

दोलखा – सुन्दर पर्यटकीय नगरी जिरीमा शुक्रबारदेखि सडक खाना महोत्सव आयोजना हुने भएको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको सडक खाना महोत्सव ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय परिकार र उत्पादनको बिक्री वितरण, कला र संस्कृति प्रदर्शनका साथै जिरी वरपरका पर्यटकीय क्षेत्रको भ्रमण गराइने लक्ष्य लिएको आयोजकले जनाएको छ। जिरी नगरपालिकाले यो नगरलाई ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी’ भन्ने नारा बोकेर अभियान चलाइरहेको छ।

युवा सञ्जाल जिरीको आयोजनामा हुन गइरहेको सडक महोत्सवमा जिरीका चिज, छुर्पी, चिया, आलु, ट्राउट माछा, ढिडो जस्ता स्थानीय अर्गानिक उत्पादनको परिकार चाख्न पाइने छ। आयोजक संस्थाका अध्यक्ष केन्द्रज्योती खड्काका अनुसार परिकार खुल्ला सडकमै खाने साथै सडकमै रमाउने र नाँचगान गराउने कार्यक्रम आयोजकले राखेको छ।

‘यति सुन्दर र हरियाली नगरको मिठो हावापानीमा पर्यटकलाई बोलाएर रमाइलो गराउने र यहाँका स्थानीय उत्पादन र पर्यटकीय स्थलको प्रचारप्रसार गराउने आयोजकको प्रमुख लक्ष्य हो,’ खड्काले भने। महोत्सवमा १० हजार पर्यटक आउने आशा आयोजकले राखेको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App