१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्राभेल गर्न ढिलासुस्ती, पर्यटकलाइ सास्ती

जुम्ला – जुम्ला र कालीकोटको सिमाना नाग्मदेखि मुगूको गमगढी जोड्ने सडक स्तरोन्नतिमा ढिलासुस्ती भएपछि आवतजावतमा समस्या देखिएको छ।

९३ किलोमिटर लामो सडकमा नौ किलोमिटर मात्र ग्राभेल भएको छ। पहिलो चरणमा नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने गरी स्तरोन्नति अघि बढेको थियो। तर नौ किलोमिटर मात्रै ग्राभेल भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

कार्यालय प्रमुख श्रवणकुमार महतारा निर्माण कम्पनीको ढिलासुस्तीका कारण यात्रा जोखिमपूर्ण भएको बताउँछन्। उनले भने, ‘काम छिटो गर्न पटकपटक पत्र पठाइसक्यौं, तर निर्माण कम्पनीले अटेर गरिरहेको छ। यही अवस्था रहिरहे कालोसूचीमा राख्ने तयारी छ।’

एकातिर सडक स्तरोन्नति हुन थालेकोमा स्थानीय खुसी छन्, अर्कोतर्फ ठेकेदार कम्पनीले समयमै काम नगर्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

यो समयमा नाग्म–गमगढी राजमार्गको सिञ्जा खण्डको अधिकांश ठाउँमा अत्यधिक हिलो र खाल्डाखुल्डीले यात्रुलाई सास्ती भइरहेको छ। सार्वजनिक सवारी त्यो सडकमा गुडाउन व्यवसायी मान्दैनन्। मानेको खण्डमा पनि बीचमै हिलो र धुलोमा फसेर निकै सास्ती बेहोर्नुपर्छ।

नाग्म–गमगढी राजमार्गको सिञ्जा र मुगू खण्डका धेरैजसो ठाउँमा हिलो र खाल्डाखुल्डीका कारण गाडी गुड्न नसक्दा दसैंमा घर आवतजावत गर्नेदेखि कर्णालीको राराताल घुम्न आउने पर्यटकलाई निकै समस्या छ।

सिञ्जा क्षेत्रमा गाडी दिनभरमा तीन किलोमिटरसमेत गुड्न नसकेको स्थानीय बताउँछन्। एस्काभेटरले गाडी तानेर सञ्चालन गर्ने सम्भावना पनि छैन। भनेको बेला डोजर समेत पाइँदैन। यात्रु अलपत्र हुन्छन्। माथिल्लो सिञ्जा र मुगूका यात्रु बीचै बाटोमै बस्न बाध्य छन्। सडक ग्राभेल मापदण्ड अनुसार छैन। मापदण्ड विपरीत निर्माणाधीन सडक समयमै पनि बन्न सकेको छैन। जसको मार आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाई परेको छ। हिँउदमा धुलो र बर्खामा हिलो त्यो सडकको मुख्य समस्या हो।

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा ठेकेदारले काममा ढिलासुस्ती गरेको कारण यात्रुले दुःख पाइरहेको बताउँछन्। उनले भने, ‘ठेकेदार समयमै काम गर्दैन, काम नगर्ने ठेकेदारलाई सरकारले कार्बाही गर्दैन। यात्रुको समस्या ज्युँका त्युँ छन्। ग्राभेल गर्ने जिम्मा पाएको ठेकेदारले निर्माण कार्यमा चरम लापर्बाही समेत गर्दै आइराखेको छ।’

सडक डिभिजन कार्यालय नाग्मले गमगढी सडक क्षेत्रमा गाडी तान्न र खाल्डा पुर्न एउटा एस्काभेटर पठाएको बताएको छ। त्यो एस्काभेटरले नाग्मदेखि मुगूसम्मको सडक सफा गरिरहेको छ। अहिले ग्राभेल भएको नौ किलोेमिटरमा भने गाडी राम्रैसँग चल्छ।

हिम्डुङ थोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक सात करोड ९० लाख ९५ हजार एक सय ७७ रुपैयाँ २५ पैसामा ग्राभेल गर्ने जिम्मा लिएको छ। दसैंपछि यो काम सकिने छ। थोदुङ कन्सट्रक्सन प्रालिले जिम्मा पाएको बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ।
अहिले बिदाको बेला आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। तर सडकको असहजताका कारण यात्रा गर्न समस्या भइरहेको उनीहरु बताउँछन्। नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले ४० वटा गन्तव्य छनोट गरेको छ। प्रदेश सरकारले छनोट गरेको केही महत्वपूर्ण गन्तव्य पुग्न नाग्म गमगढी सडक हुँदै जानुपर्छ। तर यो सडक भरपर्दो छैन।

प्रकाशित: २९ आश्विन २०७६ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App