१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्तरप्रदेश हवाई सेवासुरु हुने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। त्यस किसिमको सेवा सुरु गर्न पूर्वसचिव सूर्यमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी अध्ययन थालिसकेको मन्त्री भट्टराईले जानकारी दिए।

‘समितिले सेवा सञ्चालन गर्न हुने प्रतिवेदन दिए आवश्यक कानुन बनाएर सुरु गर्छौं,’ राजधानीमा बुधबार आयोजित गण्डकी पर्यटन प्रवद्र्धन अभियानको समापन कार्यक्रममा उनले भने, ‘यसमा निजीक्षेत्रका हवाई कम्पनी पनि सकारात्मक छन्।’

मन्त्री भट्टराईले सुरुको उडानमा वायुसेवा कम्पनीलाई केही घाटा भए सरकारले सहयोग गर्ने आश्वासन दिए। व्यावसायिक रुपमा उडान सुरु नहुन्जेल केही घाटा हुन सक्ने भन्दै भट्टराईले त्यसमा सरकारले केही सुविधा दिन सक्ने बताए।

अहिले पनि केही स्थानमा अन्तरप्रदेश हवाई सेवा उपलब्ध छन्। उनले त्यसको विकासमा वायुसेवा कम्पनीहरु पनि सकारात्मक रहेको बताए। बागलुङको बलेवा विमानस्थल र दाङ विमानस्थल निर्माणमा स्थानीयतहले सहयोग पु-याइरहेको जनाउँदै मन्त्री भट्टराईले अन्य विमानस्थलको स्तरोन्नतिमा स्थानीय सरकारले पनि जोड दिनुपर्ने आवश्यकता औंल्याए।

उनले देशका विभिन्न विमानस्थल स्तरोन्नति गरी रात्रिकालीन उडान सेवादिन योग्य बनाइरहेको जानकारी गराए। २०२२ देखि गण्डकी प्रदेशको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने गरी निमार्ण कार्य द्रुत गतिमा अगाडि बढेको पनि मन्त्री भट्टराईले जानकारी गराए। नयाँ पर्यटकीय स्थलको खोजीमा गण्डकी प्रदेश अगाडि रहेको र पोखराले आन्तरिक पर्यटकलाई मात्रै नभएर बाह्य पर्यटकलाई समेत आकर्षण गर्न मद्दत पु-याएको उनको भनाइ छ।

गण्डकी प्रदेश भाषा, कला, संस्कृति र प्राकृतिक हिसाबले अरु भन्दा अगाडि रहेको धारणा राख्दै मन्त्री भट्टराईले उक्त प्रदेशमा पूर्वाधार र जनशक्ति पनि प्रशस्त रहेको बताए। अन्य प्रदेश पनि पूर्वाधार र आवश्यक जनशक्ति विकासमा लाग्नु पर्ने उनको सुझाव छ। गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धनकालागि चलाएको यस्तो अभियानबाट अरुप्रदेशले पनि सिक्नेमा आफू विश्वस्त रहेको मन्त्री भट्टराईले बताए। व्यावसायिक पर्यटन प्रवद्र्धन गर्न प्रदेशले भूमिका खेल्नु पर्नेमा उनको जोड छ।

सातै प्रदेशमा गठन भएका पर्यटन प्रवद्र्धन समितिले आफ्नो योजना अनुसार कार्यक्रम सञ्चालन गरेर भ्रमण वर्ष सफल पार्नुपर्ने उनको भनाइ छ। अबको तीन महिनापछि नेपाल भ्रमण वर्ष सुरु हुन गइरहेको सन्दर्भमा सबै स्थानीय तह र निकायले आफ्नो क्षेत्रबाट पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने उनले बताए।

समाजिक सञ्जालमा पूर्वाधार विकास नभई सरकारले २० लाख पर्यटक भित्र्याउने सपना देखिरहेको भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै उनले गुनासो गरे। मुलुकमा चाहे जस्तो भौतिक विकास नभए पनि पहिलेको तुलनामा निकै सुधार भएको उनको दाबी छ। अहिले हवाई क्षमता वृद्विदर १३ प्रतिशतसम्म पुगेको जनाउँदै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय हवाई सेवाको प्रयोग गर्दै आउने पर्यटक १२ प्रतिशतले बढेको जानकारी दिए।

पर्यटन प्रवद्र्धन अभियान समापनको अवसरमा गण्डकी प्रदेशको सेरोफेरो झल्काउने फोटो प्रदर्शन गरिएको थियो। असोज ९ गते सुरु भएको अभियान पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, हेटौंडा, वीरगन्ज, विराटनगर, जनकपुरमा विविध कार्यक्रम गर्दै काठमाडौंस्थित पर्यटन बोर्डमा आएर समापन भएको हो।

प्रकाशित: १६ आश्विन २०७६ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App