१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली

फाइल तस्बिर।

बर्दिया – युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ। भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको हो।

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्। यसको सदस्य बन्न भारतीय रुपैयाँ ६० हजार (९६ हजार रुपैयाँ) शुल्क तिर्नुपर्छ। एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ। यो नियमले एउटा नेपाली सदस्य बनेपछि अरुलाई सदस्य बनाउन ऊ आफैं लाग्नुपर्ने हुन्छ। यही कारण सदस्यहरुको संख्या दिनहुँ बढ्दै जान्छ।

पश्चिमी क्षेत्रका विभिन्न जिल्लामा यसको कारोबार फैलिए पनि अहिलेसम्म कति सदस्य बनेका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन। यस्तै नेपालबाट औषधि बिक्री र सदस्य बनाएर कम्पनीले कति रकम लगेको छ भन्ने तथ्यांक पनि छैन।

कम्पनीले अहिलेसम्म बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चरपुरसम्म सदस्य बनाउने र औषधि बेच्ने कारोबार विस्तार गरेको छ। यो कम्पनीले खासै लेखपढ नगरेका, सोझा र गरिब परिवारका बिरामीलाई औषधि बेच्ने लक्ष्य बनाएर युवालाई सदस्य बनाई परिचालन गरेको देखिएको छ।

ओरियन्सको सदस्य बन्न दैनिक सयजना भन्दा बढी नेपाली लखिनपुर पुग्छन्। स्थानीयका अनुसार एउटै बस्तीबाट ५०–६० जना कम्पनीको सदस्य बनेर गाउँगाउँमा सदस्य बनाउन सक्रिय छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले भारतीय कम्पनी ओरियन्सले नेटवर्किङ व्यवसायमार्फत नक्कली औषधि बेचेर सर्वसाधारणलाई ठगी गरेको गुनासो आएको जानकारी दिए। उनका अनुसार ओरियन्सका सदस्यले भारत पुगेर शक्ति दिने खालको औषधि ल्याई बिक्री गरिरहेका छन्। बास्तोलाले भने, ‘भारतबाट औषधि आइरहेको खबर प्रहरीलाई आएको थियो। बरामद गरेर हेर्दा सामान्य खालका रहेछन्।’ बरामद औषधि भन्सार कार्यालयमा बुझाएको उनले जानकारी दिए।

उनका अनुसार प्रहरी रेकर्डमा पपया फेस वास, पपया पिल अफ म्याक्स, हरबल ओरल केयर, ज्वाई टर्वाइन तेल, ऐलोभरा स्याम्पु, नेचुरल भिटामिन, स्ट्रेस सोपलगायत शक्ति दिने र पेट तथा टाउको दुख्दा प्रयोग गर्ने औषधि कम्पनीले दिएको देखिन्छ। ‘ओरियन्सले सोझा, गरिब र अनपढ बिरामीलाई लक्ष्य गरेर औषधि बेच्न युवा परिचालन गरी नेटवर्किङ धन्धा चलाएको देखिएको छ,’ बास्तोलाले भने, ‘हामीले सदस्य बन्न नहुने कुरा सबैलाई भनेका छौं र मातहतका निकायमा जानकारी दिएका छौं।’ बास्तोलाका अनुसार झुक्याएर सदस्य बनाइएका केही व्यक्तिको लिखित बयान प्रहरीले लिइरहेको छ। भारतमा बसेर अवैध धन्धा चलाउने नेपाली नै भएको आशंका गरिएको छ।

ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरका १८ वर्षीय आभास चौधरीले ओरियन्सको चार हजार पर्ने औषधि किनेर बिरामी हजुरबुबालाई खुवाएपछि निको भएको बताउँदै त्यसपछि विश्वासमा परी आफू पनि यसको सदस्य भएको जानकारी दिए। भारतको लखिनपुर गएर ९६ हजार (६० हजार भारु) रुपैयाँ तिरेर आफू सदस्य बनेको उनले खुलाए। उनको दिन यही नेटवर्किङ व्यवसायको प्रचारप्रसारमा बित्ने गरेको छ।

आभास गरिब परिवारका हुन्। उनका बुवा भागीराम थारुको सम्पत्ति भनेको ६ कट्ठा खेत हो। आभास छिमेकी सहकारी संस्थाबाट कर्जा लिएर कम्पनीको सदस्य भएका हुन्। मधुवन नगरपालिका ४ की सर्मिला थारु, बारबर्दिया ४ पदनाहाका अक्षयकुमार थारु, बारबर्दिया नगरपालिका जोधपुरका विनोदकुमार थारु, ठाकुरबाबा नगरपालिका साईपुरका राजेन्द्र थारु पनि ९६ हजार तिरेर उक्त कम्पनीको सदस्य बनिसकेका छन्। सदस्य बन्ने अधिकांशको उमेर १८ देखि २५ वर्षभित्र छ। सदस्य बन्न धेरैले ऋण खोज्ने वा खेत बेच्ने गरेका छन्।

ओरियन्सले सदस्य बनाउँदा घरमै बसीबसी तलब खान पाइने र परिवारका सदस्य बिरामी परे कम्पनीले औषधि उपलब्ध गराउने भन्दै प्रलोभन देखाएको छ। सोझा युवा पनि यही प्रलोभनमा परेर अरुलाई सदस्य बनाउन सके आर्थिक लाभ हुन्छ भन्ने भानमा छन्। सदस्य बनाउन सकेकाले केही आर्थिक लाभ लिएका पनि छन्।

हालै सदस्य बनेकी सर्मिलाले ठगिएको महसुस भएको नागरिकलाई बताइन। आफ्नै काकी रीतिका चौधरीमार्फत सदस्य बनेको बताएकी उनले भनिन्, ‘जे भयोभयो, छोडदिनुस्। अहिले बल्ल भारतीय कम्नपनीले ठगी गरेको जस्तो लागेको छ।’ कम्पनीले एचआइभी एड्स पनि निको पार्ने दाबी गरेको उनले बताइन्। ‘ठग्न त होलो यसो भनेको,’ उनले भनिन्।

कसरी बन्छन् सदस्य ?
९६ हजार बुझाउने जोकोही भारतको लखिनपुरमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी बन्छन्। बन्द कोठामा चार दिनसम्म हुने प्रशिक्षणमा कम्पनीका बारेमा पढाउने गरिन्छ। कति सदस्य बनाए कम्पनीले कति रुपैयाँ मासिक दिन्छ र पद बढ्दै जान्छ भन्ने कुरामा सदस्यलाई प्रशिक्षकले विश्वस्त पार्छ। कम्पनीले उत्पादन गरेको भन्दै ५० भन्दा बढी थरीका औषधि प्रशिक्षकले चिनाउँछ। ती औषधि अहिलेसम्म देखिने सबै रोग निको पार्न सक्षम भएको भन्दै विश्वस्त पार्ने काम प्रशिक्षकले गर्छ। सहभागीले चार दिनसम्म बसेर प्रशिक्षकको कुरा सुन्छन्। त्यसपछि उक्त कम्पनीका बारेमा जानकारी भएको पदवी दिइन्छ। कम्पनीले चार दिन तालिम दिएपछि ऊ ‘डाक्टर’ बन्छ र औषधि लिएर फर्की बिरामीलाई बेच्न सुरु गर्छ। साथै अन्यलाई पनि कम्पनीको सदस्य बनाउन सक्रिय बन्छ। यस्तो प्रशिक्षण दैनिक चलिरहेको छ।

लखिनपुरको राजपुर चोकमा रहेको ओरियन्सले होस्टल पनि सञ्चालन गरेको छ। यस क्षेत्रका पाँच जिल्लामा प्रभाव रहेको ओरियन्सको सदस्य बन्न दैनिक सयजना भन्दा बढी नेपाली लखिनपुर पुग्छन्। स्थानीयका अनुसार एउटै बस्तीबाट ५०–६० जना कम्पनीको सदस्य बनेर गाउँगाउँमा सदस्य बनाउन सक्रिय छन्।

प्रकाशित: १४ आश्विन २०७६ ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App