७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै

पोखरा आएका यात्रु विमानस्थलबाट बाहिरिँदै। तस्बिर : सन्तोष/नागरिक

पोखरा – यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।

आम्दानी थपिँदै जाँदा हरेक वर्ष विमानस्थलको नाफा पनि बढ्दै गएको नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ। आन्तरिक गन्तव्यमा मात्र उडान गर्ने यो विमानस्थलले अघिल्लो वर्षभन्दा ०७५/७६ मा एक करोड रुपैयाँ बढी कमाएको थियो। आर्थिक वर्ष ०७४/७५ मा पोखरा विमानस्थलको आम्दानी आठ करोड ३७ लाख रुपैयाँ थियो।

भूकम्प गएको वर्ष केही घटेर कमाइ गरे पनि त्यो वर्ष पनि यो विमानस्थल घाटामा थिएन। ‘पोखरा विमानस्थल हरेक वर्ष नाफा गर्नेमा अग्रणी स्थानमा छ,’ विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइले भने, ‘हरेक वर्ष यहाँको नाफा बढिरहेको छ। आगामी आर्थिक वर्ष अहिलेको भन्दा ३० प्रतिशतसम्म आम्दानी बढ्ने अनुमान छ।’ दोहोरो अंकमा आम्दानी पु-याउने लक्ष्य रहेको गुरागाँइले बताए।

हवाई यात्रुको आगमन बढ्दै जानु, हवाई सेवा कम्पनीको सेवा थपिनु, पोखराका आकासमा हुने रोमाञ्चक गतिविधिमा पर्यटक रमाउँदा हुने उडानलगायतले विमानस्थलको नाफा थपिने उनको बुझाइ छ। गुरागाईँका अनुसार आर्थिक वर्ष ०७३/७४ मा विमानस्थलको आम्दानी ६ करोड ३९ लाख रुपैयाँ थियो।

विमानस्थलबाट अहिले पोखरा–काठमाडौं, पोखरा–जोमसोमसम्म दैनिक उडान हुने गरेका छन्। त्यस्तै पोखरा–भरतपुर, पोखरा–भैरहवा पनि नियमित उडान छ। पोखरा–मनाङ रुटमा पनि चार्टर उडान सञ्चालन हुन्छ। मनाङमा नियमित उडानको तयारी छ। पोखरा विमानस्थलबाट सबैभन्दा बढी अल्ट्रालाइट जहाजको उडान हुन्छ। त्यसले विमानस्थलको आम्दानी बढाउन सघाएको छ।

त्यस्तै आर्थिक वर्ष ०७२/७३ मा पाँच करोड नौ लाख रुपैयाँ कमाइ गरेको थियो। आर्थिक वर्ष ०७१/७२ मा पाँच करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको विमानस्थलको आर्थिक वर्ष ०७०/७१ को कमाइ पाँच करोड ७५ लाख रुपैयाँ थियो। ‘भूकम्प गएको वर्ष केही कमी आम्दानी भएको हो। त्यो वर्ष पर्यटकको आउजाउ घट्यो, त्यसले गर्दा आम्दानी पनि खस्किएको हो,’ उनले भने, ‘तर पनि हामी नोक्सानमा थिएनौं। नाफा थोरै घटेको मात्र थियो।’

उनका अनुसार जहाज ल्यान्डिङ, पार्किङ, यात्रुसेवा, विज्ञापन, भाडा, विमानस्थल ट्याक्स लगायतबाट आम्दानी हुन्छ। विमानस्थलबाट हुने अल्ट्रालाइट उडानको आम्दानीसमेत यसमै थपिन्छ। पोखराको आकासमा पर्यटक सयर गराउने तीनवटा अल्ट्रालाइट कम्पनी छन्। त्यस्तै हेलिकप्टर कम्पनीले पनि पोखरालाई स्टेसन बनाउने गरेका छन्। त्यसबाहेक ठूला आकारका आन्तरिक उडानका जहाजले पनि पोखरालाई नै आधार बनाएर उडान गर्न थालेका छन्। ‘पहिलेभन्दा उडानको सेक्टर पनि बढेका छन्। त्यसबाहेक यात्रु संख्या त हरेक वर्ष थपिएकै छ,’ गुरागाइँले भने। अहिले पोखरा विमानस्थलबाट काठमाडौं, जोमसोम, भरतपुर र भैरहवा नियमित उडान भइरहेको छ। भरतपुर र भैरहवालाई पछिल्लो समय निजी कम्पनीले नयाँ रुट बनाएर उडान गरिरहेका छन्।

विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार पछिल्लो आर्थिक वर्षमा पोखरा विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या ६ लाख बढी रहेको छ। सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको र त्यो वर्ष अझै बढी पाहुना पोखरा आउने हुँदा उडान बढेर विमानस्थलको नाफा थपिने उनले बताए। ‘सरकारी योजनाअनुसार हुने हो भने सन् २०२० मा पोखरामा अहिलेभन्दा अझै बढी पर्यटक आउनेछन्। त्यसबाहेक अरु केही निजी हवाई सेवा कम्पनीले पनि पोखरामा उडान थाल्ने तयारी गरिरहेका छन्,’ पौडेलले भने, ‘हवाई कम्पनी थपिनासाथ यात्रु बढ्न गई विमानस्थलकै नाफा बढ्ने हो।’

आन्तरिक यात्रुका कारण पनि पछिल्लो समय पोखरा विमानस्थलको व्यस्तता बढेको छ। स्थलमार्गको आउजाउ सहज नहुँदा पछिल्लो समय धेरै आन्तरिक पाहुनाले हवाई यात्रा रोज्न थालेका छन्। ‘आन्तरिक यात्रु यति धेरै थपिएका छन् कि चाहेको बेला हवाई टिकट पाउनै मुस्किल छ,’ उनले भने, ‘स्थल मार्गमा बारम्बार अवरोधका कारण हवाइ यात्रु बढ्दै गए। त्यसले विमानस्थलको आम्दानी बढायो।’

विमानस्थलबाट अहिले पोखरा–काठमाडौं, पोखरा–जोमसोमसम्म दैनिक उडान हुने गरेका छन्। त्यस्तै पोखरा–भरतपुर, पोखरा–भैरहवा पनि नियमित उडान छ। पोखरा–मनाङ रुटमा पनि चार्टर उडान सञ्चालन हुन्छ। मनाङमा नियमित उडानको तयारी छ। पोखरा विमानस्थलबाट सबैभन्दा बढी अल्ट्रालाइट जहाजको उडान हुन्छ। त्यसले विमानस्थलको आम्दानी बढाउन सघाएको छ। सिजनका बेला यहाँका तीनवटा अल्ट्रालाइट कम्पनीलाई उडान सञ्चालन गर्न भ्याइनभ्याई हुने गरेको उनले बताए।

पछिल्लो समय आन्तरिक पर्यटकको घुमघाम पनि बढ्न थालेको छ। पोखरामा अहिले आन्तरिक पर्यटककै कारण यहाँको पर्यटन क्षेत्र चलायमान हुन सकेको व्यावसायीको भनाइ छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘आन्तरिक पाहुना आएकै कारण पोखरा चलायमान बनेको हो।

पोखरा विमानस्थलबाट सिमरा, नेपालगञ्ज, विराटनगरसम्म उडान सुरु हुने हो भने अझै बढी आन्तरिक पाहुना पोखरा भित्रिन्छन्। त्यसले  पर्यटनमै लाभ मिल्नेछ।’ पोखराको पर्यटनमा अहिलेसम्म ५० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको रहेको उनले बताए। आन्तरिक पाहुना आउनासाथ त्यसको प्रभाव पर्यटनको सबै क्षेत्रमा पर्ने उनले बताए।

प्रकाशित: १० आश्विन २०७६ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App