२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘आन्तरिक उत्पादन पर्याप्त’

काठमाडौं – सरकारले दसैं र तिहारमा खपत हुने मासुका लागि आन्तरिक उत्पादन पर्याप्त भएको दाबी गरेको छ। विगतमा यस्ता चाडपर्वमा भारत र चीनबाट खसीबोका आयात गरिने भए पनि यस वर्ष ती मुलुकबाट आयात पूर्ण रुपमा बन्द छ।

पशु सेवा विभागको गत आर्थिक वर्षको तथ्यांकअनुसार मुलुकमा तीन लाख ५७ हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। जसमा ६८ हजार मेट्रिक टन मासुको स्रोत खसीबाख्रा हो। यो उत्पादनले अहिलेको बजार माग पर्याप्त धान्ने दाबी सरकारी अधिकारीको छ।

विभागका सूचना अधिकारी चन्द्र ढकालले मुलुकका विभिन्न संस्थाले मासिक ४० हजार खसीबोका उत्पादन गर्ने र यसमध्ये काठमाडौमा १५ देखि २० हजारसम्म आपूर्ति गर्दै आएको बताए। चाडपर्वमा माग धेरै हुने र मुलुकका विभिन्न भागबाट थप आपूर्ति हुने ढकालले जानकारी दिए। 

काठमाडौंमा दैनिक बध हुने राँगा, भैंसीको संख्या एक सय रहेको छ। दसैं र तिहारमा दैनिक बध हुने राँगा, भैंसीको संख्या एक सय ५० रहेकोे विभागको अनुमान छ। त्यस्तै काठमाडौंमा दैनिक बध हुने खसीबोकाको संख्या एक हजार रहेकामा दसै, तिहारमा त्यो संख्या दैनिक पाँच हजार पुग्छ।
‘यो मागअनुसारको सबै आपूर्ति हुन्छ,’ उनले भने ‘बाहिरबाट थप ल्याउनुपर्ने आवश्यकता छैन।’

यस्तै दसैं र तिहारलाई लक्षित गरी चौपया खरिद बिक्री संघले जुम्ला, डोल्पा जाजरकोट, सुर्खेत, रामेछाप, सिन्धुली, ओखलढुंगा, उदयपुर, सिरहा जिल्लाबाट १४ हजार पाँच सय आपूर्तिका लागि अनुमति मागेको छ।

उनका अनुसार बाख्रा व्यवसायी महासंघ प्रदेश १ ले दुई हजार, प्रदेश २ ले दुई हजार, प्रदेश ३ ले १४ हजार, प्रदेश ५ र कर्णाली प्रदेशले दुई हजार पाँच सयका दरले र सुदूर पश्चिम प्रदेशले मासिक चार हजार गरी मासिक २७ हजार आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन्।

खसीबोका भारतबाट आपूर्ति नभए पनि माछा भने भारतबाट आइरहेको छ। ढकालका अनुसार काठमाडौंमा दैनिक माछाको माग ९० क्विन्टल रहेको छ। दसैं र तिहारमा दैनिक खपत ७५ क्विन्टल खपत हुने अनुमान छ। दैनिक खपत हुने माछा ६० देखि ६२ क्विन्टल भारतीय बजारबाट र ३० देखि ३५ क्विन्टल नेपाली उत्पादनको बजार छ ।

विभागले खसीबोकाको सहज आपूर्तिका लागि खसीबोका संकलन, संकलनबापत अनुदान, ढुवानीमा सहजीकरण गर्न स्थानीय तहलाई तिर्नुपर्ने शुल्क एक ठाउँमा तिरेपछि अन्यत्र मिनाहा गर्न सहजीकरण गर्ने बताएको छ। त्यस्तै विभागले मुख्य खसीबोका बजारमा पशु स्वास्थ्यकर्मी उपलब्ध गराई क्लिनिकल परीक्षण सेवा उपलब्ध गराउने र बजार अनुगमन गर्न विभिन्न बजारका लागि १० टोली गठन गरी नियमित रुपमा पशुपन्छीबजार अनुगमन कार्य सञ्चालन गर्ने जनाएको छ।

खाद्यले तीन हजार ल्याउने
अर्कोतिर सरकारले दसैंमा बिक्री वितरणका लागि तीन हजार खसी बोका र च्यांग्रा खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजारमध्ये एक हजार खसी बोका र दुई हजार च्यांग्रा खरिद खरिदका लागि प्रकृया अगाडि बढाइएको खाद्यका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। खसी तथा बोका दाङ र हेटौडाबाट पाँच–पाँच सय र म्याग्दीबाट दुई हजार च्यांग्रा खरिद गर्ने योजना खाद्यको छ। ‘यसको ढुवानीका लागि दरभाउपत्र आह्वान गरिएको छ,’ न्यौपानेले भनिन्, ‘त्यसको खरिद जिल्ला खरिद समितिमार्फत  गर्न लागिएको छ।’

खाद्यका अनुसार दसैंको फुलपातीअगाडि खसी च्यांग्रा काठमाडौं आइपुग्ने छ। न्यौपाने मासुको माग बढी भए पनि बजार मूल्य नियन्त्रणका लागि मात्र खाद्यले खसीबोकाको बिक्री वितरण गर्दै आएको बताइन्। खाद्यले खरिदबारे निर्णग गरे पनि मूल्य निर्धारण गरिसकेको छैन। ‘खरिद मूल्य, ढुवानी र अन्य प्रशासनिक खर्च मूल्यांकन गरेर मूल्य निर्धारण हुन्छ,’ न्यौपानेले भनिन्।

प्रकाशित: २३ भाद्र २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App