coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण नसक्दै भत्क्यो सय करोडको सडक

मिल्स एरियामा सडक भासिएपछि ह्युमपाइप मिलाउन सडक खन्दै स्काभेटर। तस्बिर : सुरेश/नागरिक

जनकपुर – एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ। केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ।

सडक खनेर पक्की बेस बनाएपछि मात्र ह्युमपाइप राख्नुपर्नेमा सामान्य बालुवा छर्केर जडान गरिएको हुँदा वर्ष दिन नपुग्दै ठाउँ ठाउँमा भाँसिन थालेको प्रदेश ३ उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले बताए। ‘ह्युमपाइप ओछ्याउने बेलामै हामीले विरोध गरेका थियौं तर, त्यसबेला प्रहरी प्रशासनलाई प्रयोग गरेर ठेकेदारले मनपरी गरे,’ साहले भने, ‘कमिसनको लोभमा प्रहरी, प्रशासनले ठेकेदारलाई साथ दियो। ठेकेदारले पनि त्यही मौका छोपेर कमसल सामग्री हालेर बजेट सिध्यायो।’ उनले ठेकेदारसँगै गुणस्तरहीन काम गर्न सघाउने सबैलाई कारबाहीको माग गरे।

हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ। केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ।

जनकपुरको पिराडी चोक, थापा चोक, मिल्स एरिया, भानु चोक, शिव चोक, भ्रमरपूरा चोक, जिरोमाइल चोकलगायत करिब दुई दर्जनभन्दा बढी स्थानमा सडक जीर्ण भएको छ। मिल्स एरियामा रामा होटलअगाडि सडकमुनि जडान गरिएको ह्युमपाइप नै भासिएर सडक जीर्ण भएको छ भने अन्य स्थानमा कालोपत्रे उप्किएर ग्राभेल देखिन थालेको छ। वर्षौदेखि हिलाम्य र धुलाम्य भइरहने जनकपुरका सडक नयाँ बन्नेबित्तिकै जीर्ण अवस्थाका देखिन थालेका छन्।

त्यस्तै सडकका लागि राजपा नेता राजेन्द्र महतोले संसदीय क्षेत्र विकास कोषको रकमबाट उपमहानगरपालिकालाई ब्रुमर खरिद गरिदिएको छ। बु्रमर आए पनि ठाउँठाउँमा सडक नै जीर्ण भएर ग्राभेलमा परिणत हुन थालेपछि धुलो सोहोर्ने ब्रुमरसमेत प्रयोगविहीन बनेको उपमहानगरपालिकाका कर्मचारीले बताए।

एक अर्ब पाँच करोड ९८ लाख रुपैयाँमा ३२ किलोमिटर भूमिगत नाला र १२.३९ किमि सडक पिच गर्ने सम्झौता भएको थियो। चीनको जेडआइइसी र काठमाडौंस्थित शर्मा निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको काम जनकपुरकै रमण कन्स्ट्रक्सन कम्पनीले पेटी ठेक्कामा लिएको हो। ठेक्का पाउने निर्माण कम्पनी र जनकपुर एकीकृत सहरी विकास परियोजनाबीच भएको सम्झौताअनुसार फेब्रुअरी २०१६ देखि फेबु्रअरी २०१८ सम्म अर्थात् दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो।

समयमा काम सम्पन्न हुन नसकेर निर्माण कम्पनीले निवेदन गरेपछि गत मई महिनासम्मका लागि म्याद थप गरिएको थियो। उक्त समय अवधिमा पनि काम सकेन र फेरि अगामी डिसेम्बरसम्मको लागि म्याद थप गरिएको एकीकृत सहरी विकास परियोजनाका प्रमुखसमेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर विरेन्द्र यादवले जानकारी दिए।

‘सुरुमा ९८ करोड ९८ लाखको परियोजना थियो। उक्त बजेटले ९.८३ किमि सडक र करिब ३२ किमि भूमिगत नाला निर्माण गर्नुपर्ने थियो,’ यादवले नागरिकसँग भने, ‘पछि २.५ किमि सडक निर्माण कार्य थपियो। यसका लागि बजेटमा पनि सात करोड रुपैयाँ थपिएको छ। थप भएको निर्माण कार्य समेत अगामी डिसेम्बरसम्म सक्नुपर्ने छ।’

प्रकाशित: २० भाद्र २०७६ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App