७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिलिमे जलाधार क्षेत्रमा कृषि क्षेत्र घट्यो

रसुवा – रसुवाको उत्तरी क्षेत्रमा पर्ने चिलिमे जलाधार क्षेत्रमा ‘कृषि क्षेत्र’ घट्दै गएको पाइएको छ। यस क्षेत्रको प्रमुख पेसा कृषि र पशुपालन भए पनि पछिल्लो समय कृषि क्षेत्र भने घट्दै गएको देखिएको छ।    

कृषि क्षेत्र घट्नुको प्रमुख कारण वैदेशिक रोजगार, उत्पादनमा ह्रास, रोगकिराको प्रकोप र सिँचाइका लागि पानी अभाव हुनु हो। लगानीअनुसारको उत्पादन हुन छाडेपछि स्थानीयले अन्य पेसा अपनाउन थालेका हुन्। विगत २० वर्षमा यस क्षेत्रमा ३७.६३ प्रतिशत कृषि क्षेत्र घटेको देखिन्छ।

द माउन्टेन इन्स्टिच्युट (टिएमआई)को सहयोगमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागका विद्यार्थीले सन् १९९५, २००५ र २०१५ को परिवर्तनलाई आधार मानेर अध्ययन गरेका छन्।

अध्ययनअनुसार सन् १९९५ मा एक हजार ६ सय ९० हेक्टर क्षेत्रमा खेती हुँदै आएकामा सन् २००५ मा ६ सय २६ र २०१५ मा आइपुग्दा ६ सय ३६ हेक्टर क्षेत्रमा मात्रै खेती भइरहेको छ। कृषि क्षेत्र बढाउनका लागि कपोस्ट मलको प्रयोग बढाउनुपर्ने, किटनाषक औषधि वितरण गर्नुपर्ने र पहिरो जानसक्ने क्षेत्रमा ग्याबिन वाल लगाउनुपर्ने देखिएको छ।

अध्ययनअनुसार यस क्षेत्रमा कृषि र ग्लासियरको क्षेत्रमा कमी आएको र वन, झाडी तथा चरन क्षेत्रमा वृद्धि भएको टिएमआइकी सिनियर प्रोग्राम अफिसर इच्छा थापाले जानकारी दिइन्।

सन् १९९५ मा ६ सय १० हेक्टर झाडी क्षेत्र रहेकामा २००५ मा एक हजार एक सय ७८ पुगेको र २०१५ मा केही घटेर एक हजार ७८ हेक्टरमा सीमित भएको छ। यस क्षेत्रमा सन् १९९५ मा पाँच हजार सात सय ६७ हेक्टर वन क्षेत्र थियो। सन् २००५ मा पुग्दा सात हजार सात सय ५१ हेक्टर पुग्यो भने २०१५ मा सात हजार ६ सय ५१ हेक्टर वन क्षेत्र रहेको अध्ययनले देखाएको छ।

अध्ययनबाट २० वर्षमा ग्लासियर क्षेत्र घटेको देखिएको छ। सन् १९९५ मा एक हजार पाँच सय ९२, २००५ र २०१५ मा एक हजार चार सय ६४ हेक्टरमा क्षेत्रमा ग्लासियर रहेको छ। त्यस्तै चरन क्षेत्र निरन्तर बढ्दै गएको छ। चिलिमे जलाधार क्षेत्रमा प्रमुख नौवटा खर्क रहेका छन्।

युक्रे, खुर्पु भञ्ज्याङ, पाङसिरु, याग्रा, बार्लु डाँडा, जैसुर, सोमदाङ, गोथाङ, सान्जेनलगायत खर्क रहेका छन्। १९९५ मा दुई हजार आठ सय ३७, २००५ मा चार हजार सात सय ५७ रहेकामा २०१५ आइपुग्दा चार हजार सात सय ६७ हेक्टर क्षेत्रमा फैलिएको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App