१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

१७ हजार पशुको निःशुल्क बिमा

रसुवा – रसुवाको कालिका गाउँपालिकाका कृषकले करिब १७ हजार पशुको निःशुल्क बिमा गरेका छन्। गाउँपालिकामा साना–ठूलागरी १७ हजार एक सय ९२ पशुको बिमा गरिएको पशु स्वास्थ्य शाखाले जनाएको छ।

बिमा गरिएकामा सबैभन्दा बढी कुखुराको रहेको छ। बिमा गरिएकामध्ये करिब ९६ प्रतिशत कुखुरा रहेको नायव पशु स्वास्थ्य प्राविधिक राजेन्द्र अगस्तीले जानकारी दिए। उनका अनुसार १६ हजार पाँच सय कुखुरा, चार सय ६१ बाख्रा तथा बंगुर र दुई सय ३१ गाईभैंसीको निःशुल्क बिमा गरिएको छ। 

पशु बिमाका लागि नेपाल सरकारले ७५ प्रतिशत बेहोर्छ। कृषकले २५ प्रतिशत बेहोर्नुपर्छ। कृषकले तिर्नुपर्ने रकम गाउँपालिकाले तिरिदिएपछि कृषकले निःशुल्क बिमा गर्न पाएका हुन्। निःशुल्क बिमा गर्ने अवसर पाएपछि गाउँपालिकाभित्र रहेका कृषकले पशु बिमा गरेका हुन्। जिल्लामा शिखर इन्सुरेन्सले पशु बिमा गर्दै आएको छ।

‘गाउँपालिकाले सबै किसानले पशु बिमा गरुन् भनेर कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘कृषकले मौकाको फाइदा उठाउनु पर्छ।’ बोइलर कुखुराको बिमा गर्दा प्रतिचल्ला एक रुपयाँ पर्छ। यसको बिमाको अवधि एक लट बराबर हुन्छ।

समय अवधिभित्र चल्ला मरेमा कृषकले क्षतिपूर्ति पाउँछन्। ७२ घण्टाभित्र पाँच प्रतिशतभन्दा बढी चल्ला मरेमा बिमा गरेदेखि मर्नु अघिसम्म चल्लाले खाएको दाना र चल्लाको मूल्य बराबरको रकम पाउँछन्। बाख्रा तथा ठूला पशुको बिमाको अवधि एक वर्षको हुन्छ।

एक वर्षभित्र पशु मरेमा मूल्यांकन गरेमा ९० प्रतिशतसम्मको क्षतिपूर्ति उपलब्ध गराइन्छ। गाउँपालिकामा पशु बिमा गर्ने कृषकको संख्या बढ्दै गएको नायव पशु स्वास्थ्य प्राविधिक अगस्तीले बताए।

निःशुल्क पशु बिमा गर्नका लागि गाउँपालिकाले मापदण्ड तोकेको छ। निःशुल्क पशु बिमा गर्ने कृषकले साना पशु भए १० वटा, ठूला पशु भए पाँचवटा र कुुखुरा भए पाँच सयवटा एकैचोटी बिमा गर्न पर्ने नीति थियो।

गाउँपालिकाले पशु बिमाका लागि सहयोग उपलब्ध गराएपछि कृषकमा खुसी छाएको छ। जिल्लाका अन्य गाउँपालिकामा पशु बिमा गर्नेको संख्या न्यून रहेको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App