१६ चैत्र २०८० शुक्रबार
अर्थ

व्यक्तिगत प्यान लिनेको संख्या बढ्यो

दमौली – आन्तरिक राजस्व कार्यालयबाट दुई हप्ताको अवधिमा एक हजार दुई सयभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन्। आर्थिक वर्ष ०७६/७७ देखि कुनै पनि कार्यालयले तलब, भत्ता, ज्याला वा पारिश्रमिक प्यान भएको व्यक्तिलाई भुक्तानी नगरे खर्च देखाउन नपाउने नियम आएपछि राजस्व कार्यालयमा प्यान लिनेको भीड लागेको हो।

साउन १ गतेदेखि १४ गतेसम्म कार्यालयबाट एक हजार दुई सय १७ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईंले जानकारी दिए।

प्रमुख सेढाईंका अनुसार सोही अवधिमा ६ सय १४ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। व्यक्तिगत र व्यावसायिक गरी साउनको दोस्रो सातासम्म एक हजार आठ सय ३१ ले स्थायी लेखा नम्बर लिएका थिए। 

‘गत आर्थिक वर्षमा दैनिक सयको हाराहारीमा स्थायी लेखा नम्बर लिने सेवाग्राही रहेकामा साउनदेखि दैनिक दुई सयदेखि तीन सयले लिइरहेका छन्,’ उनले भने।

स्थायी लेखा नम्बर लिन कार्यालयमा सेवाग्राहीको भीड बढेको र दरबन्दीअनुसारको कर्मचारी नभए पनि सहजरूपमा कार्यालयले सेवा प्रवाह गरिरहेको प्रमुख सेढाईंले बताए। कार्यालयबाट तनहुँ, गोरखा, लमजुङ र मनाङका सेवाग्राहीले व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। कार्यालयको तनहुँसहित चार जिल्ला कार्यक्षेत्रमा पर्छ।

उक्त कार्यालयमा हालसम्म ३९ हजार दुई सय ३३ करदाता रहेकामा आयकरतर्फ २६ हजार दुई सय ६७, मूल्य अभिवृद्धितर्फ दुई हजार सात सय ७३, अन्तःशुल्कतर्फ दुई हजार एक सय ४६ र व्यक्तिगततर्फ आठ हजार २९ जना करको दायरामा आइसकेको कार्यालयले जनाएको छ।

करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन कर शिक्षा, कर जागरणलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ। २०६९ वैशाख ९ गते स्थापना भएको यो कार्यालय २०७५ असार २० गते आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएको थियो।

कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सेढाईंले जानकारी दिए। कर कार्यालयको खाकाअनुसारको भवन नहुँदा सेवा प्रवाहमा असहजता र सेवाग्राहीलाई झन्झट भएको उनको भनाइ छ।

‘एउटा झ्यालबाट कागजात दिएपछि सबै काम सकेर अर्को झ्यालबाट सेवाग्राहीले कागजात पाउँथे,’ उनले भने, ‘तर भवनको संरचनाअनुसार अहिले एउटा झ्यालबाट अर्को झ्यालसम्म कागजात पु¥याउनुपर्ने बाध्यता सेवाग्राहीलाई छ।’ कार्यालयको आफ्नै भवन बनेपछि भने उक्त समस्या हट्ने प्रमुख सेढाईंले बताए। सेवाग्राहीको सजिलोको लागि कार्यालय हाताभित्रै नेपाल बैंकको काउन्टरसमेत राखिएको छ।रासस

प्रकाशित: १७ श्रावण २०७६ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App