१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ–पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ। यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन्। जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन्।

जनसेवीले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। सो संस्थाले आज एक सूचना प्रकाशित गरी जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिसेयर  १०० दरका शेयर बिक्री गर्न लागिएको जनाएको छ। उक्त परिमाणको पाँच प्रतिशतले हुन आउने २३ हजार १६५ कित्ता सेयर सामूहिक लगानी कोष र सात हजार १४५ कित्ता सेयर संस्थाका कर्मचारीका लागि बिक्री गर्न लागिएको बताइएको छ।

जनसेवीको शेयर यही वैशाख २७ गतेदेखि बिक्री हुनेछ। छिटोमा वैशाख ३१ गते र ढिलोमा आगामी जेठ २६ गतेसम्ममा शेयर बिक्री गरिने आज प्रकाशित विवरणमा उल्लेख छ। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको सो संस्थाको शेयरलाई इक्रा नेपालले गरेको वित्तीय विश्लेषणमा आर्थिक अवस्था औसतभन्दा तल रहेको जनाइएको छ। पर्वत जिल्लालाई आधार बनाएर स्थापना भएको संस्थाले म्याग्दी, बाग्लुङ, गुल्मीमा सेवा दिइरहेको छ।

यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि यही वैशाख २७ गतेदेखि नै रु एक करोड ९८ लाख ६१ हजार बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार ९३ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। यस्तै कूल बिक्री गर्न लागिएको शेयरको पाँच प्रतिशत अर्थात् नौ हजार ९३० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो संस्थाको शेयर न्यूनतम १० कित्ता र अधिकतम पाँच हजार कित्तासम्मका लागि आवेदन दिन पाइने आज प्रकाशित सूचनामा उल्लेख छ। सो संस्थाको सेयर छिटोमा यही वैशाख ३१ गते र ढिलामा आगामी जेठ २६ गतेसम्म बिक्री गरिने विवरणमा समावेश छ।

प्रकाशित: १९ वैशाख २०७६ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App