७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्थानीय तहमा ‘प्रि–बजेट’बारे अभ्यास

पनौती–७ ले आयोजना गरेको जनताको आँगनमा नगरपालिका कार्यक्रममा सहभागी। तस्बिर: नागरिक

बनेपा - काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारले झैं बजेट निर्माणका लागि सुझाव संकलन गर्ने र चालु आर्थिक वर्षको प्रगति सुनाउने हिसाबले पूर्वबजेट (प्रि–बजेट) छलफल सम्पन्न गरेको छ।

पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउने स्थानीय सरकारको अभ्यासका रुपमा प्रत्येक वडामा पुगेर यो कार्यक्रम सम्पन्न गरेको नगरपालिकाले जनाएको छ। ‘जनताको आँगनमा नगरपालिका’ नामकरणसहित प्रत्येक वडामा पुगेर सम्पन्न गरिएको यो कार्यक्रम आगामी आर्थिक वर्षको बजेट तयारीका निम्ति पूर्वबजेट (प्रि–बजेट) छलफल नै हो,’ नगर प्रमुख भीम न्यौपानेले भने, ‘यसबाट चालु वर्ष विनियोजित बजेटबाट भइरहेका कामलाई नगरवासीको आँखाबाट अनुभूत गर्न सकियो भने आगामी बजेटका लागि जनस्तरबाटै मार्गदर्शनसमेत संकलन गर्न पाइयो,’ उनले थपे।

प्रत्येक दिन बिहानै प्रमुख, उपप्रमुख तथा सबै विषयगत शाखा प्रमुखको अनिवार्य सहभागिता रहँदै आएको कार्यक्रममा स्थानीय सरकारको सबैभन्दा तल्लो एकाइ (वडा)ले प्रवाह गर्दै आएको सेवा सुविधाको अवस्थासमेत मापन गरिएको थियो।

‘सर्वसाधारणले प्रत्येक पटक सेवा प्रदायकका रुपमा भेट्दै आउनु भएको वडाध्यक्षलगायत जनप्रतिनिधिका बानी, व्यवहार र सेवाको भावनालाई समेत मापन गरिएको छ। उहाँहरुबारे खासै गुनासो सुनिएन, यसलाई पनि सुशासनको सूचकका रुपमा ग्रहण गरेका छौं,’ न्यौपानेले भने।

नगरपालिका पनि एक तहको सरकार नै हो भन्नेमा अझै पनि आम नगरवासीमा प्रष्टता नरहेको तथ्य छलफलका क्रममा आएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। ‘उहाँहरुलाई स्थानीय सरकारको काम एवं नगरपालिकाको बजेट तर्जुमाका प्रमुख चारवटा चरण वडाबाटै सम्पन्न हुने तथ्यलाई बुझाउनु पनि प्रमुख उद्देश्य थियो। त्यही भएर अन्य विषयभन्दा प्रि–बजेटबारे बढी छलफल गरिएकोे हो,’ उनले भने

पनौतीको योजना तथा बजेट तर्जुमा दिग्दर्शनबमोजिम बस्ती/टोलस्तरबाट योजना छनौट र प्राथमिकीकरणको काम जेठ १५ गतेभित्रै सक्नुपर्ने उल्लेख रहेको अधिकारीको भनाइ छ। ‘यसैबीच हामीले चौंथो नगरसभाबाट केही महŒवपूर्ण निर्णय पनि गरेका थियौं। नगरवासीलाई यी सबै जानकारी गराउनु पनि हाम्रो उद्देश्य थियो,’ सूचना अधिकारीसमेत रहेका उनले थपे।

उप–प्रमुख एवं अनुगमन तथा सुपरिवेक्षण समितिकी संयोजक गीता बन्जाराले चालु आर्थिक वर्षमा स्वीकृत योजनामध्ये नौ महिनाको अवधिमा अधिकांश योजनाको प्रगति उल्लेख्य रहेको जानकारी गराइन्। ‘अधिकांश योजना सम्पन्न भइसकेका छन्, केही सम्पन्न हुने क्रममा छन्। १२ वटै वडामा पुगेर योजनाको अनुगमन गरेकी छु। यसकै आधारमा नगरवासीको अपेक्षाअनुसार आगामी बजेट ल्याउन सहज हुनेछ,’ उनले थपिन्।

पनौती नगरपालिकाले अन्य स्थानीय सरकारले गरेका असल अभ्यास (गुड प्राक्टिस) सिक्न र यहाँका कामहरुको अनुभव सुनाउनका लागि हालैमात्र सुदुर पश्चिमका केही नगरपालिकाको भ्रमण सम्पन्न गरेको छ। ‘दुईवटा टोली बनाएर म र उपमेयरसहित सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख र अन्य कर्मचारीले हालै सुदुर पश्चिमसम्मका उत्कृष्ट मानिने नगरपालिकासँग अनुभव आदान प्रदान गरेका छौं। त्यहाँका असल अभ्याससमेत आगामी नीति, योजना तथा कार्यक्रम र बजेट तर्जुमा लागि सहयोगी स्रोत हुने ठानेका छौं,’ मेयर न्यौपानेले भने। नगरपालिकाको दिग्दर्शनअनुसार आगामी असार ३० गतेको नगर सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत हुने गरी कार्यतालिका बनाएर आवश्यक कार्य भइरहेको पनि उनले जानकारी दिए।

‘मेरो अध्यक्षतामा रहेको स्थानीय विकास समस्या समाधान समितिले योजनाको प्रगति समीक्षा गरिरहेको छ। जनताको आँगनमा नगरपालिका कार्यक्रमबाट संकलित राय, सुझाव र सल्लाहलाई मुख्य आधार र चालु वर्षको योजना प्रगतिलाई थप आधार मानेर आगामी वर्षका लागि उत्कृष्ट नीति योजना तथा कार्यक्रम र नमूना बजेट बनाउने तयारीमा छौं,’ न्यौपानेले थपे।

प्रकाशित: १९ वैशाख २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App