चितवन – गाईको नश्ल सुधार गर्न भ्रूण प्रत्यारोपण प्रविधि प्रयोग गर्न थालिएको छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा यो प्रविधि प्रयोग गरेर अनुसन्धान थालिएको हो।
गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको सहकार्यमा अनुसन्धान सुरु गरिएको गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा.माधवप्रसाद आचार्यले जानकारी दिए। यसमा नेपाल कृषि अनुसन्धान परिषद् र पशु सेवा विभागले सहयोग गरेका छन्।
डा.आचार्यका अनुसार गाई अनुसन्धान कार्यक्रमको फार्ममा रहेको एउटा गाईमा मंगलबार उक्त प्रविधिमार्फत भ्रूण प्रत्यारोपण गरिएको छ। भ्रूण प्रत्यारोपण प्रविधिको प्रयोग गर्न विदेशबाट शुद्ध नश्लको जर्सी वा होलिस्टिन गाईको भ्रूण आयात गरिन्छ। आयात गरिएको भ्रूणलाई स्थानीय वा वर्णशंकर गाईको पाठेघरमा प्रत्यारोपण गरिने उनले बताए। गाई बहर खोज्ने नियमित ऋतुचक्रमा आएको समयमा गाईको पाठेघरमा भ्रूण प्रत्यारोपण गरिन्छ।
यो प्रविधिबाट सामान्य जसरी नै गर्भमा बच्चा हुर्किन्छ। ‘प्रत्यारोपण गरिएको भ्रूण सामान्य बच्चा जसरी विकास हुन्छ र निश्चित अवधि पूरा गरेपछि जन्मिन्छ,’ डा.आचार्यले भने, ‘त्यसरी जन्मिएको बाच्छाबाच्छी शुद्ध नश्लको हुन्छ।’ यो प्रविधिमा भ्रूण प्रत्यारोपण गरिने गाई धाई आमा जस्तोमात्र हुने उनले जानकारी दिए। साथै, यसबाट जन्मिएका गाईमा आमाको गुण केही नआउने भएकाले शुद्ध नश्लको हुने उनको भनाइ छ।
प्रत्यारोपण गरिएको भ्रूण सामान्य बच्चा जसरी विकास हुन्छ र निश्चित अवधि पूरा गरेपछि जन्मिन्छ। त्यसरी जन्मिएको बाच्छाबाच्छी शुद्ध नश्लको हुन्छ।
भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्मिदा बाच्छो जन्मिए त्यसलाई हुर्काएर कृत्रिम गर्भाधान गराउन ‘सिमेन’ (वीर्य) प्रयोग गर्ने योजना रहेको उनी बताउँछन्। शुद्ध नश्लको बहरबाट सिमेन संकलन गरेर देशभरी गाईको कृत्रिम गर्भाधान गराउन सकिने उनले बताए। अहिले विदेशबाट नै सिमेन ल्याएर गाईको कृत्रिम गर्भाधान गराइन्छ। सिमेन ल्याएर कृत्रिम गर्भाधान गराउँदा ५० प्रतिशत गुण गर्भाधान गरिएकै गाईको बच्चामा आउँछ।
स्वदेशमा नै शुद्ध नश्लको बहर उत्पादन गर्ने र बहरबाट सिमेन संकलन गर्ने लक्ष्य राखेर अनुसन्धान सुरु गरिएको डा.आचार्यले बताए। संकलन गरिएको सिमेनलाई लिंग छुट्याएर बाच्छा जन्माउने कि बाच्छी जन्माउने भन्ने किसानको चाहना अनुसार गाईको कृत्रिम गर्भाधान गराउन सकिने उनको भनाइ छ। अनुसन्धान अन्तर्गत गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईहरुमा क्रमशः भ्रूण प्रत्यारोपण गरिनेछ। अनुसन्धान गर्नका लागि शुद्ध नश्लको गाईको भ्रूण अमेरिकाबाट ल्याइएको उनले जानकारी दिए।
सिमेन बाहिरबाट ल्याउँदा महंगो पर्ने, ल्याउँदा कुन जातको कति समयमा आइपुग्ने, कृत्रिम गर्भाधान गराउँदा कत्तिको सफल हुने भन्ने समस्या हुने गरेका छन्। त्यसैले यही शुद्ध नश्लका गाई हुर्काएर सिमेन उत्पादन गर्न सके किसानलाई सहज हुनेछ। गाईको नश्ल सुधार गर्नका लागि थोरै संख्यामा मात्र भ्रूण आयात गर्दा हुने उनी बताउँछन्। ‘यो प्रविधिबाट सतप्रतिशत शुद्ध नश्लको गाई जन्माउन सकिन्छ,’ डा.आचार्य भन्छन्, ‘तीन–चारवटा गाईमा भ्रूण प्रत्यारोपण गरेर जन्मिएका बहर हुर्काउन सकियो भने, नेपालभरका गाईलाई कृत्रिम गर्भाधान गराउने वीर्य पुग्छ।’
बहर व्यवस्थापन, अनुत्पादक, रोगी, बूढी गाईको व्यवस्थापन गर्नु अहिले गाईपालनमा देखिएका मुख्य चुनौती रहेका छन्। बहरको व्यवस्थापन गर्न लिंग पहिचानसहितको वीर्य उत्पादन गरेर बाच्छीमात्र जन्माउनेगरी कृत्रिम गर्भाधान गराउनसमेत यो प्रविधिको अनुसन्धान सहयोगी हुने उनको भनाइ छ। ‘यो प्रविधि गाईको नश्ल सुधारमा लाभदायक हुने भएकाले दूधको उत्पादन बढाउनसमेत सहयोग पुग्छ,’ डा.आचार्य भन्छन्, ‘मुलुकमा दूध र गाई आयात गर्नुभन्दा नश्ल सुधार गरी दूध उत्पादन बढाउनु दिगो र प्रभावकारी हुन्छ।’
प्रकाशित: २९ फाल्गुन २०७५ ०३:२४ बुधबार





