८ वैशाख २०८१ शनिबार
अर्थ

खान नपाएर १४ सय पशु मरे

मुस्ताङको माथिल्लो भेगमा हिउँमा पुरिएर मरेका पशु।    तस्बिर : नागरिक

फागुन – झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ।  मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्। अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन। क्षतिको सबै विवरण आउन बाँकी छ। हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन। 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन्। लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन। ती वडामा पनि सयौंको संख्यामा पशु मरेको अनुमान गरिएको उनले बताए। ‘किसानले निकै क्षति भोग्नुपरेको छ। हिमपातले पशुपालनमा ठूलो नोक्सान पुर्याएको छ,’ रेग्मीले भने, ‘लामो समयको हिमपातले गर्दा आहाराविहीन भएका पशु भोकभोकै मरेका छन्।’

रेग्मीका अनुसार अहिलेसम्म नौ सय ८६ भेडा, एक सय २० च्यांग्रा, एउटा चौरीगाई, २९ गाई, २३ गोरु, दुई सय २५ याक मरेको फेला परेको छ। अरु थुप्रै पशु मरेको आशंका रहे पनि प्रहरी ती गाउँसम्म पुग्न सकेको छैन। ‘तीन दिन लगाएर प्रहरी लोमान्थाङको ती गाउँसम्म पुगेको छ। अब अरु गाउँसम्म पनि पुग्ने प्रयासमा छ,’ उनले भने, ‘अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन। हामीले क्षति संकलनको प्रयास गरिरहेका छौं।’

किसानका अनुसार मुस्ताङमा एउटै भेडाको मूल्य झण्डै १५ हजार रुपैयाँ पर्छ। त्यस्तै च्यांग्राको मूल्य प्रतिगोटा २० हजार रुपैयाँ पर्छ। चौरीगाई एउटैको मूल्य ८० हजार रुपैयाँ पर्छ। याकको मूल्य कम्तीमा एक लाख २० हजार रुपैयाँ पर्छ। ‘अहिलेसम्म संकलित तथ्यांक र क्षति आँकलन गर्दा झडडै पाँच करोड रुपैयाँ बराबरको नोक्सान किसानले भोगेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘किसानले ठूलो क्षति भोगेका छन्। व्यावसायिक पशुपालन गरेका किसान मारमा परेका छन्।’ 

सहायक प्रजिअ रेग्मीले किसानको क्षतिबारे गृह र कृषि मन्त्रालयमा जानकारी गराउने र क्षतिपूर्तिका लागि पहल गर्ने बताए। लोमान्थाङ गाउँपालिकाको छोन्हुुप र चुम्जुङ गाउँको लेकमा रहेका ती पशु हिमपातले गर्दा अप्ठेरोमा परेका थिए। डेढ महिनासम्म लगातार हिउँ परेपछि पशुले खाने आहारासमेत पाएनन्। बारम्बार बाक्लो हिउँ थपिँदै गएर पशुले खाने बुट्यानसमेत पुरिएको रेग्मीले बताए।

‘दैनिक एक सयभन्दा बढीको संख्यामा पशु मरेको अनुमान छ,’ उनले भने, ‘झन्डै डेढ महिनादेखि ती पशु भोकभोकै परेका थिए। पशुलाई आहारा नै भएन। अनि भोकभोकै मरे।’ बचेका पशुका लागि पनि तत्काल घाँस र दानापानी पुर्याउन सकिने अवस्था नरहेको उनले बताए। ‘मान्छे नै तीन दिन लगाएर पुगेका छन्। अझै दुई फिट बाक्लो हिउँ छ। सबैतिर सेताम्य छ। अहिलेकै तरिकाले पग्लिँदा पनि अझै केही दिन समय लाग्छ,’ उनले भने।  

लगातार परेको हिउँ अझैसम्म पग्लिएको छैन। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३, ४, र ५ मा हालसम्मकै धेरै पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले बताए। रेग्मीका अनुसार हालसम्म ५८ जना किसानले पालेका पशु भोकभोकै मरेका हुन्। भारी हिमपातले गर्दा मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी स्थित कैसाङ लेकमा मात्र चारजना व्यवसायीको चौपाया मरेका छन्। स्थानीय भुपेन्द्र शेरचनको पाँच, निमाटसि गुरुङको चार, वीरबहादुर पुनको २८ र मनगुना थकालीको १५ गरी जम्मा ५२ चौरी मरेको उनले बताए।

प्रहरी निरीक्षक रेग्मीमा अनुसार उपल्लो मुस्ताङको लोमान्थाङका पशु व्यावसायीमध्ये स्थानीय लामा समूहको चार सय ५०, सिनु गुरुङको एक सय पाँच, ताम्जेन गुरुङको ६०, वाङ्दो गुरुङको ५०, रम्वाङ गुरुङको ४० र सोनाम गुरुङको २६ चौपाया मरेका छन्। ‘अझै कति पशु हिउँमा पुरिएका छन् भन्ने यकिन छैन। हिउँ पग्लिने क्रममा रहेकोले पुरिएका पशुको अवस्थामा थाहा भएको छैन,’ उनले भने, ‘धेरै पशु हिउँमा पुरिएको आशंका छ।’ 

किसानहरु भने बेलैमा पशुलाई स्याहारसुसार गर्न नपाउँदा नोक्सान भोग्नुपरेको बताउँछन्। स्थानीय पेमा गुरुङले राज्यले मुस्ताङलाइ बेवास्ता गरेको बताइन्। ‘स्थानीय किसानको कमाइ खाने मूल पेसा नै पशुपालन हो। तर तीनै पशु भोकभोकै मरेका छन्,’ उनले भनिन्, ‘यसबारे राज्य नै बेखबर भयो।’ हिउँमा पुरिएर पशु मरेको बारे ढिला गरी मात्र प्रहरीलाई जानकारी आएको थियो। बाक्लो हिउँले गर्दा आउजाउ समेत गर्न नपाएपछि पशु मरेको बारे जानकारी नभएको निरीक्षक रेग्मीले बताए। 

लेकमा रहेको भेडाच्यांग्रा चिसो बढ्ने देखेर गाउँनजिकको खर्कमा झारिए पनि बाक्लो हिमपातले खर्कसमेत पुरिएको थियो। हिउँ थुप्रिएपछि पशु भोकभोकै परेका थिए। ‘उच्च भेगमा हिमपात सुरु भएपछि लेकमा रहेका पशुलाई खर्कमा झारिएको थियो। तर, खर्कमा पनि उस्तै हिमपात भयो,’ निरीक्षक रेग्मीले भने, ‘बुट्यान समेत पुरिने गरी हिमपात भयो। त्यसपछि आहारा नै बन्द भयो र पशु भोकभोकै परे।’ 

मुस्ताङबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले पनि धेरै किसान मर्कामा परेको बताए। क्षतिपूर्तिका लागि पहल गर्ने उनले आश्वासन दिए। विष्टका अनुसार माथिल्लो भेगका झण्डै एक दर्जन घरका बासिन्दाको स्थायी पेसा नै पशुपालन हो। ती गाउँले बाह्रैमास टेन्टमा बस्छन् र ठाउँठाउँमा पशु चराउन जान्छन्। जाडो छल्न घर छाडेका गाउँलेका पशु पनि उनै किसानले यो बेला रेखदेख गरिदिन्थे।

लेकमा रहेर बुट्यान खाएर हुर्किएका ती पशुलाई यो बेला गोठालाले खर्कमा झारेका थिए। खर्कमा पनि उस्तै बाक्लो हिमपात भएपछि पशु भोकभोकै परेको उनले बताए। ‘भोकभोकै सयौं पशु मरे। त्यसको मार किसानले खेपेका छन्,’ उनले भने। उनका अनुसार त्यहाँका पशुले मान्छेले दिएको घाँस समेत खाँदैनन्। बुट्यानमा चर्ने बानी परेका पशु भोकै परेको विष्टले बताए। 

प्रकाशित: २८ फाल्गुन २०७५ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App